चितवन – भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निःशुल्क सटल ‘छोटो दुरीमा चल्ने’ बस सञ्चालन गर्ने भएको छ । फागुन १ गतेअर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । उनले भने, “नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिन लागिएको हो ।”
अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको बसलाई सटल बसका रुपमा सञ्चालन गर्न ल्याइएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक ‘बाइपास रोड’, जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ । पौडेलका अनुसार अस्पतालमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।
चितवनसहित १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको यस अस्पतालमा आउने बिरामी र तिनका आफन्तले समयमा अस्पताल आउने सवारी साधन नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटल बस सञ्चालनमा ल्याएको पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया