काठमाडौँ– ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’
‘गाउँ नछोडी त सपना पूरा नहुँदो रहिछ साथी’
‘अब तँ कहिले फर्किन्छस् ?’
‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’
‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’
‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’
हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै)
आम गाउँले नेपाली युवाले भोग्दै आएको समस्या हो यो । सानासाना रहर र सपना पूरा गर्न वृद्ध भइसकेका एक्ला बाबुआमालाई अनकन्टार गाउँमा एक्लै छोडेर हिँड्नु परिरहेको वास्तविकता बोल्ने संवाद हुन्, चलचित्र ‘जनै हराएको बाहुन’को । गाउँका दुई साथीमध्ये एकले आफ्नो सपना पूरा गर्न सहर हिँड्ने बेलामा गाउँको साथीसँग गरेको बिदाइको संवाद हो ।
घर छोड्ने बेलामा आमाको अनुहारसमेत हेर्न नसकेको कारुणिक संवादले आम नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने छर्लंग पार्छ ।
समयलाई छेक्न कसैले सक्दैन भन्ने जान्दाजान्दै आमाको उमेर छँदै उनका रहर पूरा गर्ने अभिलाषा बोकेर सहर पसेको छोरो कसरी घर फर्किन्छ, सहरमा उसले खान्ने हन्डर र ठक्कर कस्ता हुन्छन् भन्ने ‘जनै हराएको बाहुन’को बाहुन चलचित्रबाट अपेक्षा गर्न सकिने यो संवादले प्रष्ट पारेको छ ।
चलचित्रका दुई मुख्य पात्रको कारुणिक स्वरमा रहेको यो संवादले देशको अहिलेको यथार्थ कथा बोल्ने हिन्स दिएको छ । चलचित्रले गम्भीर कथा इमोसनसहित भन्ने संकेत गरेको छ । थिम अनुसार चलचित्र बने आम दर्शकमा सिनेमा कनेक्ट हुनसक्छ ।
चलचित्र ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ ।
थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने निर्देशन न्यौपानेले जानकारी दिए । उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् ।
यो चलचित्रको मुख्य भूमिकामा विजय बराल अनुबन्धित भइसकेका छन् । ‘जनै हराएको बाहुन’ हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने लागेको चलचित्र हो ।
असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । उनको अभिनय पनि रहनेछ । उनका लागि निर्देशनको यात्राको सुरुआत भने पहिलो हुनेछ ।
‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।
चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
नवीन गुरुङको छायांकन रहने चलचित्रको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् ।
‘जनै हराएको बाहुन’ लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ । चलचित्रका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ ।
निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिए । ‘जनै हराएको बाहुन’ २०८२ सालमा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया