मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

बुद्धि बङ्गारा कस्तो दाँत हो ? राख्ने कि फाल्ने ?

वयस्क अवस्थामा आउने दाँत बुद्धि बङ्गारा हो । मुखको सबैभन्दा भित्रपट्टि आउने यी दाँत उमेर ढल्केपछि आउने भएकाले पनि यी दाँतलाई बुद्धि बङ्गारा भन्ने चलन छ ।

नेपाली समाजमा बुद्धि बङ्गारा आएको व्यक्तिलाई परिपक्व उमेरमा प्रवेश गरेको भनेर पनि अर्थ्याइने गरिन्छ । कतिपयलाई यी दाँत आउँदा खासै दुखाइ नहुने भए पनि कसैकसैलाई ज्वरो नै आउने गरी दुखाइ हुन्छ ।

यसको दुखाइले गाला पूरै सुन्निएर राम्ररी खाना चपाउन र थुक निल्न समेत समस्या हुने गर्छ । बुद्धि बङ्गारा एकपटक मात्रै होइन । पटक–पटक चुस्स–चुस्स पलाउने गर्छ । कतिपयले यसको पीडा सहन नसकेर दाँत नै निकालेर फाल्ने गरेको पनि पाइन्छ ।

खासमा ‘बुद्धि बङ्गारा कस्तो दाँत हो ? यसलाई झिक्नु कत्तिको उचित हो ? लगायतका विषयमा दन्त चिकित्सक मेक्जिलो फेसियल सर्जन डा. किरण आचार्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

बुद्धि बङ्गारा कस्तो दाँत हो ?

बुद्धि बङ्गारा १८ देखि २५ वर्षभित्रमा आउने दाँत हो । यो हाम्रो उपयोगी दाँत होइन । अर्थात् हाम्रो शरीरमा हुने अनावश्यक अङ्ग सरह हो । १८ देखि २५ वयस्क उमेरमा सम्पूर्ण दाँतको तलमाथिको हड्डीहरु बनिसकेको हुन्छ ।

दाँत आउने क्रममा कुनै मानिसहरुमा स्पेस कम भयो भने दुख्छ । जस्तै दाँँत एकदमै कुनामा आएको छ र गिजा छेडेर पलाउने अवस्था छ भनेपनि दुख्छ । स्पेस धेरै भएको अवस्थामा भने बुद्धि बङ्गारा पलाउँदा थाह नै नहुने अवस्था पनि हुन्छ । हाम्रो बुद्धि बङ्गारा दाँत चार वटा मात्रै हुन्छ ।

बुद्धि बङ्गारा एकै पटकमा पलाउँछ या समय लाग्छ ?

यो कुरा तपाईंको बुद्धि बङ्गारा दाँत पलाउँदै गर्दा स्पेस कत्तिको छ भन्ने कुराले भर पर्छ । माथिल्लो पट्टि र तलपट्टि दुई–दुईवटा गरेर जम्मा ४ वटा बुद्धि बङ्गारा दाँत पलाउने हुन्छ । माथिल्लो दाँतमा बुद्धि बङ्गारा पलाउँदा खासै दुखेको आभास हुँदैन । बुद्धि बङ्गारा दाँत पलाएको छ कि छैन पनि थाहा हुँदैन । तर तल्लोपट्टिको दाँत पलाउँदा भने प्राय सबैलाई नै दुखाइ हुन्छ ।

किनभने तलपट्टि अन्य दाँतहरुले नै गिँजाको भाग भरिसकेको हुन्छ र बुद्धि बङ्गारा पूर्ण रुपमा ननिस्कन पनि सक्छ । गिजा र मासु छेडेर पलाउने हुन्छ । अर्को दुखाइ हुने कारण भनेको बुद्धि बङ्गारा भनेको सबैभन्दा ढिला पलाउने र सबैभन्दा पछाडिको दाँत हो ।

यसकारण हामीले खाएको खानेकुराले त्यहाँ गएर छुने, घोच्ने र अड्किने हुँदा पनि दुख्ने गर्छ । बुद्धि बङ्गारा कसैको एकैपटक नै पलाउँछ र कतिपयको भने विशेष गरी १८ देखि २८ वर्षभित्रमा जहिले पनि पलाउन सक्छ । यो उमेरपछि बुद्धि बङ्गारा पलाउँदैन र यो समयपछि पनि दाँत दुख्यो भने दाँतको अन्य समस्या भएको हुनसक्छ । 

कतिपयले यसको दुखाइ सहन नसकेर निकाल्ने पनि गर्नुहुन्छ के यो सही हो ? यी दाँतको मुख्य काम के हो ?

सामान्यतया बुद्धि बङ्गाराले केही समस्या पैदा गरेन भने राख्दा केही फरक पर्दैन । तर समस्या दियो भने दाँत निकाल्नु नै यसको विकल्प हो । वास्तवमै बुद्धि बङ्गारा हाम्रो केही काम आउँदैन । यसले न खाना चपाउन काम आउँछ न अन्य अरु केहीमा । कतिपय अवस्थामा भने बुद्धि बङ्गारा बचाएर राख्न पनि भनिन्छ । यो किन र कस्तो अवस्थामा भने यदि अगाडिका अन्य दाँतहरु किराले खाएको छ भने कृत्रिम दाँतहरु राख्न सहयोगी हुन्छ । अन्यथा झिक्दा फरक पर्दैन ।

हाम्रो समाजमा बुद्धि बङ्गारा आउनु भनेको बुद्धि पलाउनु हो भनिन्छ । यसकारण यस्तो दाँत फाल्नु हुँदैन भन्ने बुझाइ पनि छ । यो कतिको सत्य हो ?

यो बुझाइ एकदमै गलत यो । यसमा कुनै सत्यता छैन । अर्को कुरा भनेको बुद्धि बङ्गारा झिकेर फालियो भने आँखा कमजोर हुन्छ भन्ने भ्रम पनि हाम्रो नेपाली समाजमा व्याप्त छ । यसमा पनि आँखा र बुद्धि बङ्गाराको कुनै पनि सम्बन्ध हुँदैन ।

बुद्धि बङ्गारा पलाउँदा दुखाइ कम गर्ने घरेलु विधि पनि भन्दिनूस् न !

हाम्रो बानी के छ भने जबसम्म असह्य पीडा हुँदैन । तबसम्म उपचारका लागि अस्पताल जाँदैनौँ । यस्तो बानी हामीले आजैबाट हटाउनुपर्छ । बुद्धि बङ्गाराको विषयमा पनि प्रारम्भिक चरणमा अस्पताल पुग्दा बाङ्गोटिङ्गो आउने दाँत सीधा र दुखाइरहित पलाउने भन्ने त होइन तर प्रारम्भिक उपचारले तपाईंको पीडा कम हुनसक्छ । यस्तै, दाँत दुखाइ सबैभन्दा उपयुक्त र प्रभावकारी प्राथमिक उपचार भनेको मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?