मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रविधि

प्रविधिको दुनियाँमा डीपसीक एआईले ल्याएको तरङ्ग, अब के होला ?

काठमाडौँ– अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र चीनबीच फरक शैलीको युद्ध चलिरहेको छ । अमेरिका विश्वमा आफ्नो दबदबा कायम राख्न चाहन्छ भने अर्कोतर्फ चीन अमेरिकालाई पछि पार्दै संसारकै सबैभन्दा शक्तिशाली बन्न चाहन्छ ।

यसरी बुझौँ, अमेरिका र चीनबीचको युद्ध रण मैदानमा होइन, बरु विश्वविद्यालय, कारखाना र प्रयोगशालामा भइरहेको छ । आधुनिक र उन्नत प्रविधिको आविष्कार गर्न यी दुई मुलुक तीव्र प्रतिस्पर्धामा छन् ।

हार्डवेयर होस् वा सफ्टवेयर, अहिलेसम्म प्रविधिको क्षेत्रमा अमेरिकाकै दबदबा थियो । न्भिडिया, ओपनएआई, एप्पल, मेटा, एक्स (ट्विटर), गुगल, इन्स्टाग्राम, अमेजनजस्ता ठूला कम्पनी अमेरिकामै स्थापना भएका हुन् । पछिल्ला केही वर्षयता चिनियाँ कम्पनीले पनि प्रविधिको क्षेत्रमा आफूलाई स्थापित गरेका छन् । केही वर्षयता चिनियाँ प्रविधि कम्पनीहरु टेनसेन्ट, बाइटडान्स, अलिबाबाले विश्वभर आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।

चीन र अमेरिकाबीचको प्रविधि युद्ध अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को शोध र विकासमा केन्द्रित छ । प्रविधि युद्धअन्तर्गत एआईको लडाईँमा चीनले यस्तो हतियार प्रहार गरेको छ, त्यसले अमेरिका मात्रै होइन । सारा संसारलाई चकित बनाइदिएको छ ।

हुन त अब प्रयोगकर्ताका लागि एआई सामान्यजस्तै भइसकेको छ । एआईका माध्यमबाट तस्वीर बनाउनेदेखि भिडियो जेनेरेट गर्न पनि सकिन्छ भने एआईले प्रयोगकर्तालाई जुनसुकै क्षेत्रमा पनि सहज बनाइदिएको छ । एआईका कैयन् मोडलबारे सामाजिक सञ्जालमा पनि दैनिकजसो चर्चा हुन्छ ।

तर, एआई प्रविधिको यत्रो भीडमा आखिर किन डीपसीकको चर्चा भइरहेको छ ? यसको कारण भने बेग्लै छ ।

चीनको एउटा स्टार्ट–अप कम्पनी डीपसीकले हालसम्मकै सक्षम एआई (आर्टिफिसियल इन्टिलिजेन्स) मोडल सार्वजनिक गर्‍यो । त्यसको एक हप्ता नहुँदै यो एआई विश्वव्यापी भयो । त्यसको केही समयमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीपसीकको उदय अमेरिकी प्रविधि उद्योगका लागि चेतावनी भएको टिप्पणी गरे । सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको निकै छोटो समयमा नै डीपसीक एप्पल स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एप्लिकेसन बन्न पुग्यो ।

डीपसीक एआईले ओपनएआईको च्याटजीपीटी, मेटाको लामा, गुगलको जेमिनाइजस्ता अमेरिकी एआईलाई पछाडि पारेको भन्दै प्रविधि विश्लेषकहरूहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन् । कतिपय विज्ञले यसलाई ‘स्पुत्निक घटना’ सँग तुलना गरेका छन् ।

सन् १९५७ मा सोभियत संघले अमेरिकालाई पछि पार्दै पहिलो पटक अन्तरिक्षमा स्पुत्निक नामक भू–उपग्रह प्रक्षेपण गरेको थियो । यो घटनालाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा अमेरिका पछि परेको रूपमा हेरिएको थियो । यद्यपि, कालान्तरमा अमेरिकाले संसारलाई पछि पार्दै पहिलोपटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गर्न सफल भएको थियो ।

डीपसीकले आर वान नाम गरेको एआई मोडल सार्वजनिक गरेसँगै अमेरिकी पूँजी बजारमा नमीठो झड्का लाग्यो । गत मंगलबार एकै दिन अमेरिकी पुँजी बजारमा प्रविधि कम्पनीहरूले १ ट्रिलियन डलरभन्दा धेरै गुमाए । यसमा पनि एआईका लागि चिप निर्माण गर्दै आएको न्भिडिया कम्पनीको शेयर १७ प्रतिशतले ओरालो लाग्यो ।

शेयर बजारमा पहिरो गएसँगै न्भिडियाको बजार पुँजीकरणमा एकै दिन झण्डै ६०० बिलियन डलरको कमी आयो । यसलाई अमेरिकी पूँजी बजारको इतिहासमा कुनै कम्पनीले एकैदिनमा सबैभन्दा धेरै गुमाएको बजार पूँजीकरण मानिएको छ । न्भिडिया बाहेक मेटा, माइक्रोसफ्टजस्ता कम्पनीले पनि अर्बौँ रुपैयाँ गुमाए ।

अझ रोचक कुरा त के छ भने, पूँजी बजारमा ‘पहिरो’ गएको केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई क्षेत्रमा ५०० बिलियन डलरको ‘स्टारगेट’ नामक कार्यक्रम शुरुवात गर्ने दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

एआईलाई थप उन्नत बनाउनका लागि पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न ओपनएआई, ओराकल र जापानको सफ्टबैंकजस्ता कम्पनीले साझेदारी गरेका छन् । तर, अमेरिकाले एआईलाई उन्नत बनाउन ५०० बिलियन लगानी गर्दा डीपसीकले भने आफ्नो एआई मोडल केबल ६ मिलियन डलरमै निर्माण सम्पन्न गरेको जनाएको छ ।

यो जिपिटी–४ को तुलनामा उल्लेखनीय रुपमा सस्तो छ  । यसको विकास लागत १० करोड अमेरिकी डलरभन्दा बढी परेको थियो ।

अमेरिकाले प्रविधिमा आफ्नो वर्चश्व कायम राख्न चीनलाई उन्नत चिप बिक्री गर्न नदिने नीति लिएको थियो । यसअनुसार चीन एआईलाई आवश्यक पर्ने उन्नत चिप प्रयोग गर्नबाट वञ्चित थियो । तर, डीपसीकले भने तुलनात्मक रुपमा पुरानो र कमजोर चिपकै प्रयोग गरेर एआई मोडल निर्माण गरेको दाबी गरेको छ ।

डीपसीकले अमेरिकी र अरु मूलधारका एआई कम्पनीलाई पछि पार्नुको अर्को कारण भनेको यो एक ओपन सोर्स प्रोजेक्ट हो । अर्थात्, डीपसीकले आफ्नो कोड सबैका लागि सार्वजनिक गरेको छ ।

ओपनएआईले पनि आफ्नो पछिल्लो एआई मोडलको कोड आफैँसँग गोप्य राखेको छ । यसो भन्नुको अर्थ डीपसीकको नयाँ मोडलमा के कस्तो प्रविधि वा लजिक प्रयोग भएको छ भन्ने कुरा केही पनि गोप्य छैन ।

प्रयोगकर्ताले डीपसीकको सोर्स आफ्नै सर्भरमा कोड राखेर बिना इन्टरनेट सहजै प्रयोग गर्न अथवा उक्त सोर्स कोडलाई आफ्नो आवश्यकता अनुसार मोडिफाइ (परिवर्तन) गरी थप सुधार गर्न सकिन्छ । यसबाट आम प्रयोगकर्ताका लागि पनि एआईको पहुँच सस्तो हुने सम्भावना छ । धेरै एआई मोडेल अब ‘क्लाउड’मा सदस्यता शुल्क तिर्नुको सट्टा प्रयोगकर्ताकै ग्याजेटमा सञ्चालन गर्न सकिनेछ ।

के हो डीपसीक ?

डीपसीकको स्थापना चीनको दक्षिणपूर्वी सहर हाङझाउमा सन् २०२३ मा स्थापित भएको थियो । कम्पनीका संस्थापक लियाङ वेनफेङ हुन् । उनले स्थापना गरेको हेज फन्डबाट यसका लागि स्रोत जुटाएका थिए । ४० वर्षीय वेनफेङले इन्फरर्मेसन एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन गरेका छन् । केही समयअघि उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गरेको सार्वजनिक भएको थियो ।

डीपसीकले ल्याएको एआई मोडलमा १०० ट्रिलियन भन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, सामाजिक सञ्जाल, समाचारजस्ता टेक्स्ट डेटा प्रविष्टि गरिएको छ । यस्तो बडेमानको डेटा प्रविष्टि गरिएको यो मोडलले भाषाको गहन संरचना सहजै बुझ्छ । यसले शब्दहरू बीचको सम्बन्ध, सन्दर्भ र भावनालाई पनि विश्लेषण गर्ने क्षमता राख्छ । प्रयोगकर्ताले अरु मूलधारका एआई मोडल र डीपसीकको एआई मोडलबीच एउटा भिन्नता सहजै पत्ता लगाउन सक्छन् ।

कुनै प्रश्न सोध्दा जवाफ दिनुअघि डीपसीकले ‘सोच्दछ’ । र, रोचक कुरा के हो भने जवाफ दिनुअघि डीपसीकले के सोचिरहेको छ भन्ने पनि देखिन्छ । जवाफ दिनुअघि यसको सोचाइ हेर्दा ठ्याक्कै आम मान्छेको सोचाइजस्तै देखिन्छ ।

यसको ‘सेल्फ–एटेन्शन’ प्रणालीले वाक्यका विशिष्ट भागलाई विशेष प्राथमिकतामा राख्छ । उदाहरणका लागि, ‘हिमाल नेपालको गौरव हो’ भन्ने वाक्यमा यसले ‘हिमालय’ र ‘नेपाल’ बीचको सम्बन्धलाई अधिक महत्व दिन्छ । यसले डीपसीकले प्रदान गर्ने जवाफ थप उन्नत र प्रष्ट बनाउँछ । डीपसीक चिनियाँ र अंग्रेजीसँगै नेपाली, हिन्दी, स्पेनी फ्रान्सेली, अरबीजस्ता १३० भन्दा बढी भाषामा उपलब्ध छ ।

चिनियाँ कम्पनी भएकाले डीपसीकले कतिपय अवस्थामा चीनका लागि संवेदनशील ठानिने प्रश्नको जवाफ दिँदैन । उदाहरणका लागि डीपसीकलाई ताइवानका बारेमा प्रश्न सोधियो भने उसले ‘मलाई माफ गर्नुहोला, यस्तो किसिमको प्रश्नलाई कसरी हल गर्ने भन्नेबारे म अहिलेसम्म स्पष्ट छैन । बरु गणित, कोडिङ र लजिकबारे कुरा गरौँ ।’ भन्ने जवाफ दिन्छ । यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टी, तियानमेन चोक, तिब्बतजस्ता विषयमा डीपसीकलाई प्रश्न सोधियो भने पनि यस्तै किसिमको जवाफ आउँछ ।

धेरैले डीपसीकको सेन्सरसिपलाई लिएर आलोचना पनि गरिरहेका छन् । यसैगरी, डीपसीकले बौद्धिक सम्पत्ति चोरीको आरोप पनि लागेको छ । डीपसीकले आफ्नो प्रतिलिपि, बौद्धिक र प्राविधिक सम्पत्ति चोरी गरेको भन्दै ओपनएआईले आरोप समेत लगाएको छ । हुन त बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार दुरुपयोग गरेको भन्ने आरोप ओपनएआईमाथि पनि लागेको छ ।

त्यसैगरी, डीपसीकले राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पार्ने भन्दै आमेरिकी सेना र सुरक्षा फौजमा काम गर्ने मानिसहरुलाई यसको प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।

जे होस्, डीपसीकले एआईको क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । यसबाट एआई दौडमा अझ प्रतिस्पर्धा बढ्ने निश्चित छ । यसले अरु प्रविधि कम्पनीहरुलाई पनि अझ उन्नत र प्ररिष्कृत मोडल विकास गर्न प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ । आगामी दिनमा एआईको विकास र प्रयोग अझ बढेर जाने निश्चित छ । नयाँ र अझ उन्नत एआई मोडल बजारमा आए त्यसले अवश्य पनि आम प्रयोगकर्तालाई नै फाइदा हुने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?