काठमाडाैँ- काठमाडौंस्थित टुँडिखेलमा तीन दिनसम्म मनाइने ल्होछारको रौनक शुरु भएकाे छ ।
तामाङ समुदायको सांस्कृतिक पर्वका रुपमा लिइने सोनाम ल्होछारको औपचारिक उद्घाटन मङ्गलबार राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रपति कार्यालय शितल निवासमा गरेका थिए ।
ल्होछार उद्घाटनका लागि शितलनिवासमा पुगेकाे ल्होछार मूल आयाेजक समितिले राष्ट्रपति पाैडेलकाे सहभागितामा लामा, ताम्बा र बाेम्बाेले साङसेरगेम गरी पुजापाठसहित कार्यक्रम शुभारम्भ गरेकाे थियाे ।
मञ्जुश्री सम्वत–२८६१ सोनाम ल्होछार डुक (गरुड) वर्षको बिदाइ र डुल (सर्प) वर्षको स्वागत गर्दै मनाइँदै छ । मूल आयाेजक समितिले ‘भव्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं’ भन्ने मुल नाराका साथ यस वर्षकाे ल्होछारको मनाउन सबैलाई आग्रह गरेकाे छ ।
ल्होछारको स्वागत स्वरुप बुधरबार ल्होछार कार्यक्रमहरु गरिनेछ भने बिहीबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीसहित टुँडिखेल परिक्रमा गर्नेछ ।
दिउँसो १ बजेदेखि ल्होछारको उद्घाटन सँगै शुभकामना आदानप्रदान, ख्यातीप्राप्त कलाकारकाे सांस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुने जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया