काठमाडौँ– एउटी महिला सुनौलो बन्द बाकसमा थुनिएकी छिन् । बडो सकसका साथ उनले बाकसलाई तोड्छिन् । बाकस त तोडिन्छ तर, त्यसभित्र अनेकन उल्झनहरुबाट उम्कन झनै उनलाई कठिन हुन्छ ।
ती उल्झनका बीच शिरमा लगाएको रातो घुम्टो, कम्मरमा बेरिएका सारीहरु, कपालको चुल्ठो ती सबैलाई तोड्दै उनी बन्धनमुक्त हुन्छिन् । उनले लगाएका सारी फ्याँक्छिन्, चुल्ठो काट्छिन् र स्वतन्त्र भएर आफ्नो वेदनाहरुलाई उँचो स्वरमा सुनाउँछिन् ।
उनलाई अल्झाउने कसौडी, पनिउँ सबैलाई ठटाएर अझै ध्वनी बुलन्द पार्छिन् । यो दृश्य शनिबार बौद्ध चुच्चेपाटीस्थित तारागाउँ म्युजियक परिसरमा भएको कलाकार अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ शीर्षकको पर्फमेन्स आर्टको थियो ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा दक्षिण एसियाली महिला कलाकारको नारीवाद सम्बन्धी वृहत् कला प्रदर्शनीमा कलाकार रञ्जितले ब्राह्मण पितृसत्ताले महिलाहरूलाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन उक्त प्रस्तुति दिएकी थिइन् ।
रञ्जितका अनुसार उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी हुन् । आदर्श नारीको परिभाषाभित्र सीमित राखेको महिलाहरुले पितृसत्तामा कस्ता कठिनाइहरु भोग्नुपर्छ र ती कठिनाइहरुलाई कसरी पार गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश उनले प्रस्तुतिमार्फत दिएकी थिइन् ।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक एक गरी दक्षिण एसियाका १० जना महिला कलाकारका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तैयबा बेगम लिपीका सृजना प्रदर्शनीमा छन् ।
सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने जमर्को गरेका छन् । प्रदर्शनीले महिलाको सम्मानसँगै दमनकारी दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाको विश्लेषण समेत गरिएको छ । शील्प कला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनीमार्फत कलाकारले महिलाको जीवनको कथालाई उजागर गरेका छन् ।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई सम्बोधन गरिएका सिर्जनाहरु समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गरेको छ ।
त्यस्तै, बेगम लिपीले आफ्नो सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गरेकी छिन् । विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका सङ्घर्षलाई प्रस्तुत गरेकी छिन् । लैङ्गिकताको कुरा र जात व्यवस्थाबारे अहिले बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियारले सुनाइन् ।
यस्ता खाले प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवालाले सुनाइन् । प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने उनको विश्वास छ ।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित सङ्घर्षसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफले बताइन् ।
आयोजक पक्षका अनुसार प्रदर्शनी तीन महिनासम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया