काठमाडौँ– व्यस्त दिनचर्याले पछिल्लो समय बच्चासँग समय बिताउन अभिभावकहरुलाई निकै कठिन छ । आमाबुवासँग भौतिक दूरी बढ्दा यसको प्रभाव बच्चालाई पर्न सक्छ । त्यसकारण यसमा अहिलेका अभिभावकहरु सजक हुन अति नै जरुरी देखिन्छ । तर तपाईंले केही कुरामा ध्यान दिने हो भने बच्चासँग निकै फलदायी समय बिताउन सक्नुहुन्छ । बच्चासँग यादगार समय कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा हामी केही उपायहरुबारे चर्चा गर्छौं ।
बच्चालाई कुनै कथा र कहानी सुनाउनुहोस्
तपाईंसँग यदि बच्चासँग बिताउने धेरै समय छैन भने तपाईंले पाउने समयमा छोटा र रोचक कथाका किस्साहरु सुनाएर बच्चासँग नजिक हुन सक्नुहुन्छ । कहानी सुनाउँदै तपाईं बच्चासँग खेल्न र रमाउन समेत सक्नहुन्छ । यसले बच्चा र तपाईंको दूरी आत्मिय रुपमा नजिक बनाउँछ ।
कुनै चित्र वा ड्रइङ क्राफ्ट बनाउनुहोस्
चित्र वा ड्रइङ क्राफ्ट कार्य बच्चासँग समय बिताउन मात्र नभएर बच्चालाई कुनै नयाँ कुरा सिकाउन समेत उपयोगी हुन्छ । तपाईं सँगै बसेर चित्र वा ड्रइङ क्राफ्ट बनाइरहँदा बच्चा तपाईंसँग नजिक हुन्छ । यसबाट उसले आफ्नो मनोभावना समेत व्यक्त गर्न सक्छ । यसले गर्दा बच्चाको मनोभावना समेत बुझ्न सकिन्छ ।
भान्सामा आफूसँगै राख्नुहोस्
तपाईं भान्साको काममा व्यस्त हुँदा बच्चालाई पनि आफूसँगै राख्दा निकै राम्रो हुन्छ । बच्चालाई सँगै राखेर तरकारी केलाउने, कुनै भाँडामा मर मसला राख्ने वा सामान मिलाउने काममा बच्चालाई लगाएमा शारीरिक तथा भावनात्मक रुपमा समेत बच्चा नजिक हुन्छ । यसबाट उसले काम गर्न सिक्ने अवसर समेत पाउँछ ।
राति सुत्नुभन्दा अगाडि कुनै कहानी सुनाउनुहोस्
तपाईं दिनभरी व्यस्त भएपनि रातको समयमा बच्चासँगै बस्नुुहुन्छ । सुत्ने समयमा केही कहानीहरु सुनाउनुभएमा बच्चाहरु चनाखो हुनुका साथै तपाईं दिनभरी नभएको महसूस बच्चाले गर्न पाउँदैन । यसले उसलाई मायाको अनुभव हुन्छ भने उसको कल्पनाशक्ति समेत बढाउँछ ।
बच्चाको स–साना उपलब्धिहरुको प्रशंसा गर्नुहोस्
बच्चाले घर र विद्यालयमा केही न केही कामहरु गरिरहेकै हुन्छन् । ती सबैलाई नजरअन्दाज लगाउँदै तपाईंको फुर्सद हुने बित्तिकै प्रशंसा गर्दा बच्चामा उत्प्रेरणा बढ्छ । यसले बच्चामा आत्मविश्वास बढ्छ र यसले आमाबुवा उसको खुसीमा सँगै छन् भन्ने आत्मबल दिन्छ ।
मोबाइल फोनको दूरी घटाउने
आफ्नो काम सकेपछि बच्चा सँगै रहँदा मोबाइल फोनलाई टाढै राख्नुपर्छ । आमाबुवाका लागि बच्चा नै सबैभन्दा महत्वपूर्ण हो भन्ने कुरा उसलाई भरोसा दिलाउनुपर्छ । यसले बच्चासँग तपाईंको दूरी बढ्न दिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया