काठमाडौँ- पठन संस्कृतिको विकासका लागि कमलादी प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी शुरु गरिएकाे छ ।
प्रतिष्ठानकाे भानुभक्त कक्षमा पठन संस्कृतिको विकासका लागि बिहीवार प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको समुद्घाटन गरेका हुन् ।
उक्त पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू बिक्रीको लागि राखिएका छन्।
प्रदर्शनीको मुख्य उद्देश्य प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ । ‘सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने मन्त्रका साथ शुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।
समग्रमा हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० प्रतिशतको छुट दिइएको छ ।
शब्दकाेशहरूमा १ प्रतिकाे २० प्रतिशतका दरले छुट रहेको छ । प्रदर्शनी स्थलमा दुई हजार थानभन्दा बढी पुस्तकहरू राखिएको छ। पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ ।
प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नो उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्यशास्त्र ‘पेरी पाेइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया