काठमाडौँ- गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ ।
यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गङ्गा, यमुना र पौराणिक सरस्वती नदीको सङ्गममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दू धर्मावलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् ।
उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले एक सय ४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भूत आनन्द लिन सबैमा आह्वान गरे । उनले सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।
महाकुम्भमेलामा हालसम्म १० करोडभन्दा बढी व्यक्तिले पवित्र स्नान गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । दैनिक एक करोड हाराहारी भक्तजन महाकुम्भ पुगिरहेका छन् । मेलाको १०औँ दिनमा पनि तीर्थालुको उत्तीकै घुइँचो रहेको छ । पवित्र नदीहरूको सङ्गममा स्नान गर्दा पापमोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ ।
मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देख्न सकिने बताइएको छ । दैनिक एकदेखि डेढ करोड भक्तजनले गङ्गा स्नान गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ज्योतिषीहरूले निश्चित ग्रह र नक्षत्रहरूका आधारमा नुहाउने मिति र शुभ समय तय गरेका छन् । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको बताइएको छ ।
कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् । ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरुमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया