काठमाडौँ– सद्भाव थिएटरको नाटक थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘मोराडोक माई अन्तर्राष्ट्रिय रङ्ग महोत्सव–२०२५’ मा नाटक ‘अनुत्तर’ मञ्चन हुने भएको छ ।
नाटकले समकालीन समय, पुस्ता र तिनको समग्र आवाजलाई उठान गरेको छ । देशमै केही गर्छु भनी लागिपरेको युवाको सपना, देशमा सपना देख्न मनाही रहेको समकालीन अवस्था, देशभित्रै बसेपनि अनागरिकको जीवन व्यतित गरिरहेका आम युवाको कथा नाटकभित्र छन् ।
थाइल्यान्डमा यही माघ १० गते (जनवरी २३, २०२५) देखि हुन लागेका नाट्य महोत्सवमा सहभागी हुने नाटक थाइल्यान्डको समयानुसार साँझ ७ बजे ग्रान्डपा थिएटर हलमा मञ्चन हुनेछ ।
केही समय अघि यस नाटक जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा नियमित मञ्चन गरिएको थियो । नाटक अनुत्तरको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहेको छ । यस नाटकमा रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको छ ।
चापागाई नेपालबाट प्रतिनिधित्व गर्दै महोत्सवमा सहभागी हुँदैछन् । महोत्सव २०२५ को जनवरी २३ देखि २७ सम्म मोराडोक–माई थिएटरमा र फेब्रुअरी ७ देखि ९ सम्म बैंकक आट्र्स एण्ड कल्चरल सेन्टरमा हुनेछ ।
यस नाटकमा प्रकाश र संगीत सयोजन टीका भक्त जिरेलको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया