मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

नवजात शिशुमा के–कस्ता जन्मजात समस्या देखिन सक्छन् ?

सन्तान जन्मिने क्रममा सबै शिशुहरू स्वस्थ जन्मन्छन् भन्ने हुँदैनन् । कतिपय शिशु गर्भ रहनासाथ जन्मजात समस्या लिएर आएका हुन्छन् । अभिभावको गर्भमा भएको शिशुको विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भवतीको सामान्य लापरवाहीले पनि गर्भमा रहेको बच्चामा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

पछिल्लो पुस्ताका बालबालिकामा जन्मजात आउने स्वास्थ्यसम्बन्धी समस्या थपिँदै गइरहेको छ भने जन्मपछि पनि उत्तिकै समस्या बढ्दो अवस्थामा छ । नवजात शिशुमा के–कस्ता जन्मजात समस्या हुनसक्छन् र के कारणले यस्तो समस्या सिर्जित हुन्छन् भन्ने सन्दर्भमा इसान बाल तथा महिला अस्पतालका निर्देशक तथा वरिष्ठ बाल शल्य चिकित्सक प्रा.डा. रामनन्दप्रसाद चौधरीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी गरेकी छिन्:

शिशुमा जन्मजात समस्या के कारणले हुन्छ ?

नेपालमा सन्तान जन्माउनका लागि पूर्वतयारी अथवा योजना बनाएर सन्तान जन्माउने प्रक्रिया निकै कमै मात्र छ । जुन कुराको धेरै आवश्यक छ । पूर्वतयारी गर्ने, स्त्रीरोग विशेषज्ञको परामर्श लिने हो भने जन्मने नवजात शिशुमा समस्या नआउन सक्छ । तर नेपालमा धेरैजसोको आकस्मिक गर्भ रहँदै आइरहेको छ ।

नियमित महिनावारी नभएपछि गर्भ रहेको हो कि भनेर अनुमान गरिन्छ । जब गर्भ रहेको थाहा हुन्छ, त्यो समयमा ७ देखि ८ हप्ताको गर्भ भइसकेको हुन्छ । नवजात शिशुमा यस्तो समस्या आउनुको एउटा मात्रै कारण हुँदैन, विभिन्न कारणहरु हुनसक्छन् । यही कारणले यस्तो समस्या आउँछ भन्न सकिन्न । गर्भ रहेको पहिलो १२ हप्तासम्म एकदमै सेन्सेटिभ हुन्छ । त्यो समयमा भ्रुणबाट विभिन्न भागहरु बन्न थाल्छ ।

यो समयमा रेडियसन, लागू पदार्थ, मद्यपान धुम्रपानले धेरै असर गर्ने हुँदा यस्ता कुराबाट टाढै बस्दा राम्रो हुन्छ । नियमित रूपमा भु्रणको विकास भइरहेको बेलामा बीचमा कुनै अवरोध भयो, जस्तै आन्द्राको नसा बन्ना साथ माथिबाट सर्दैसर्दै दिसाको प्वालसम्म जानुपर्‍यो तर कुनै ठाउँमा रोकियो भने आन्द्राको नसाको कमी हुन्छ । त्यस्तै दिसाको प्वाल अन्तिममा गएर खुल्छ तर त्यो कुनै कारणवस खुलेन भने दिसाको प्वाल बन्दैन । यसैगरी अन्य समस्याहरु पनि हुनसक्छ ।

गर्भ रहेको कति हप्तामा स्वास्थ्य परीक्षण गर्दा शिशुमा समस्या भए नभएको बारे थाहा पाउन सकिन्छ ?

गर्भको शिशुमा समस्या भए नभएको बारेमा जानकारी पाउने मुख्य समय भनेको १८ देखि २० हप्ता हो । त्यो समयमा अल्ट्रासाउन्ड गरेर अथवा अन्य प्राविधिक विधिमार्फत पनि गर्भको शिशुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । गर्भको शिशुमा केही समस्या छ भने आमाको गर्भलाई खोलेर शिशुको सर्जरी पनि गर्न सकिन्छ जसलाई फिटल सर्जरी भनिन्छ । तर त्यो सेवाको नेपालमा भने सम्भव छैन ।

बालबालिकामा देखिने जन्मजात समस्या समाधानका लागि केके कुरामा ध्यान दिनुपर्छ ?

शिशु जन्माउनुभन्दा पहिला स्त्रीरोग विशेषज्ञसँग परामर्श लिँदा राम्रो हुन्छ । शिशु जन्माउने तयारीमा हो भने श्रीमान श्रीमती दुवै जनाले खान नहुने कुराहरु जस्तै धूमपान मद्यपान, अनावश्यक औषधिहरु खानु हुँदैन । गर्भ अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

समयमा अलट्रासाउन्ड गराउने, सुत्केरी घरमा भन्दा पनि स्वास्थ्य संस्थामै गराउँदा आमा र शिशु दुवै जनाका लागि राम्रो हुन्छ । आमा र शिशुमा थप समस्या देखेको खण्डमा थप उपचारका लागि अन्य अस्पतालमा पठाउन सकिन्छ । समयमै यी कुरालाई ध्यान दिने हो भने स्वस्थ्य जीवन जिउन सकिन्छ ।

गर्भमा केही समस्या भएका बालकालिकाहरुको जन्मपश्चात् शल्यक्रिया सम्भव छ या छैन र समयमा उपचार नगर्दा कस्तो समस्या हुनसक्छ ?

सर्जरीको कुरा गर्ने हो भने नवजात शिशुमा जन्मजात धेरै समस्याहरु देखा पर्छन्, जसको तत्काल उपचार तथा सर्जरी गर्नुपर्ने हुन्छ । आन्द्रा बाहिर निस्केको, नाइटो फुट्ने, हर्निया, खाने नली फोक्सोतिर जाने, खाने नली र श्वास नली जोडिएको, बच्चामा बच्चा जोडिएको, मूत्रनलीमा समस्या आउने जन्मजात शिशुमा देखापर्ने समस्या हुन् ।

साथै शिशु जन्मेपछि छोरा हो कि छोरी छुट्याउनै समस्या हुने, मिर्गौलामा पानी जम्ने, पिसाब फेर्ने प्वाल सही ठाउँमा नभएको समस्याहरु पनि बालबालिकामा देखापर्ने गरेको छ । यी समस्याको तत्काल उपचार भएन भने शिशुमा झन् समस्या देखिन पनि सक्छ ।

नवजात शिशुमा अन्य के–के समस्या हुनसक्छन् ?

नवजात शिशुमा जण्डिस पनि देखिँदै आइरहेको छ । शिशुमा ४ देखि ६ हप्तासम्म जण्डिस भएको छ भने पित्तको नली सुक्ने बित्तिकै आन्द्रामा पित्त जान पाउँदैन, जसले गर्दा कलेजोमा समस्या आउँछ । ओठ राम्रोसँग नजोडिएको, जन्मने बित्तिकै पिसाब गर्दा धेरै परसम्म पिसाब फाल्ने, पिसाब फेर्दा कन्ने अथवा नजिकै तुरुक तुरुक पिसाब फाल्ने गरेको छ भने पिसाबको बाटोमा पर्दाहरु हुन सक्ने र त्यस्तो बालकको मिर्गौलामा पानी जमेको समस्या पनि हुन सक्छ ।

नवजात शिशुले हरियो वान्ता गरेको छ भने कहीँ न कहीँ आन्द्रा अड्किएको अथवा किटाणुको सङ्क्रमणले पनि त्यस्तो हुन सक्छ ।

यस्ता समस्याहरु एक पटकको सर्जरीबाट निको हुन्छ ? या अन्य उपचार गराउनुपर्छ?

बालबालिकामा देखिने स्वास्थ्यसम्बन्धी समस्याहरु धेरैजसो कम आर्थिक अवस्था भएका र अशिक्षित भएकोमा पाइन्छ । रोग सबैलाई लाग्न सक्छ तर बढी सम्भावना भने यस्ता परिवारबाट जन्मेका शिशु जसको आमाले गर्भावस्थामा खानपान, स्वास्थ्य परीक्षणजस्ता कुरामा विशेष ध्यान दिएको हुँदैन । दिसा गर्ने प्वाल, आन्द्रामा नसाको कमी भएको, पिसाबको बाटोमा पर्दा भएको, मिर्गौलामा पानी जमेको समस्याको कसैलाई एक पटकको सर्जरीले निको हुन्छ भने कसैलाई पटक–पटक सर्जरी गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?