मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन कम मञ्चन हुन्छन् सडक नाटक ?

काठमाडौँ– वि.सं.२०३९ साल भदौ २० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कोरोनेसन गार्डेनमा ‘हामी वसन्त खोजिरहेका छौं’ सडक नाटक प्रस्तुत गरेको क्षण रङ्गकर्मी अशेष मल्लको स्मरणमा अझै ताजा छ ।

तत्कालीन निरङ्कुश शासनसत्ता विरुद्ध गरिएको उक्त नाटक सांस्कृतिक प्रतिरोधको प्रतीक थियो । तीनताका मल्लको लेखन तथा निर्देशनमा प्रस्तुत गरिएको उक्त नाटक लोकप्रिय मात्र बनेन, यसले नेपालमा सडक नाटकको द्वार खोल्ने काम गर्‍यो ।

मल्लको समूहले पहिलो प्रयोगकै रुपमा त्यतिबेला क्याम्पसका विद्यार्थीहरुलाई नै जम्मा पारेर नाटक देखाएका थिए । तत्कालीन सुधारिएको पञ्चायत व्यवस्थामा फितलो प्रजातन्त्र  रहेको आभाष दिलाउन मल्लको समूहले नाटकको माध्यम रोजेका थिए ।

‘निरङ्कुश शासन परिवर्तन र प्रजातन्त्रकै लागि हामीले नाटक प्रस्तुत गरेका थियौं,’ मल्ल स्मरण गर्छन्, ‘त्यो त हाम्रो लागि प्रजातन्त्र प्राप्तिको युद्ध नै थियो । राज्य सत्ताको सेन्सर, पुलिसहरुको त्रास नै त्रासमा बिम्वात्मक रुपमा हामीले नाटक देखाएका थियौं ।’

मल्लका अनुसार उक्त नाटक त्यतिबेला यति लोकप्रिय भयो कि देशैभरी नाटक प्रदर्शनका लागि आह्वान भयो । यसले आम जनताको सशक्त आवाजको रुपमा काम गर्‍यो । मल्लले निरङ्कुश सत्ताकै कारण ‘प्रजातन्त्र’को सट्टा ‘वसन्त’ शब्द बिम्वात्मक रुपमा राखेका थिए । भन्छन्, ‘सेन्सर लगाउने डरले हामीले सिधै प्रजातन्त्र राख्ने अवस्था थिए । तर नाटकको अर्थ हामी प्रजातन्त्र खोजिरहेका छौं नै थियो ।’

मल्लकै नाटकलाई आधार मान्ने हो भने नेपालमा सडक नाटकको स्वरुप देखिएको चार दशकभन्दा लामो समय भएको छ । एकिन तथ्यांक नै नभएपनि रङ्गकर्मीहरुको अनुमानमा बितेका चार दशकमा नेपालमा हजारौं सङ्ख्यामा सडक नाटकहरु सिर्जना भएर सडकमै मञ्चन भएका छन् ।

प्रारम्भिक समयमा जसरी सडक नाटकले आम मानिसको जमातमा आफ्नो प्रभाव छोडेको थियो, त्यसरी हालसम्म त्यो अवस्था कायम नै छ त भन्ने पक्षलाई मनन गर्ने हो भने स्वयं रङ्गकर्मीहरु यसमा सन्तुष्ट छैनन् ।

सडक नाटकको स्वरुप र प्रस्तुति अहिले कलात्मक भन्दा नाट्य क्षेत्रका कलाकारहरुलाई आफ्नो प्रस्तुतिसँगै रोजीरोटीको आधार बनिरहेको टड्कारो रुपमा देखिन्छ । हुन त आर्थिक, भौतिक नाटकघर र आवश्यक पूर्वाधारहरुको अभावको बिचमा सडक नाटक नाट्य क्षेत्रका लागि निकै राम्रो अवसर पनि हो । यही माध्यममा नेपालका रङ्गकर्मीहरु देशका कुनाकाप्चासम्म पुगेका छन् ।

पूर्वदेखि सुदूरपश्चिमसम्मका दूरदराजका गाउँबस्तीमा चेतनाको विगुल फुक्दै सडक नाटकहरु पुगेका छन् । सार्वजनिक स्थलहरुमा देखाइने सडक नाटकहरुले जनतामा सामाजिक, राजनीतिक, आर्थिक, स्वास्थ्य, सांस्कृतिक, लैङ्गिक, प्राकृतिक विपत्ति न्यूनीकरणसम्मका विषयमा सचेतना दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

विश्वमा सडक नाटकको इतिहासलाई खोतल्ने हो भने ‘स्ट्रीट थिएटर’को वर्गीकरण र परिभाषाभित्र यसलाई समेट्न सकिन्छ । सार्वजनिक रुपमा खुल्ला स्थानमा प्रदर्शन गरिने यसमा निश्चित दर्शक र स्थान हुँदैन । यसमा नाटकघरभित्रको जस्तो निश्चित नियम, परिधि र प्राविधिक पक्षहरु समेत समावेश हुँदैनन् ।

यसको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा रुसमा नै पहिलो सडक नाटक शुरुवात भएको पाइन्छ । सन् १९१८मा भ्लादिमिर मायाकोव्स्कीद्वारा लेखिएको ‘मिस्ट्री बौफे’लाई पहिलो सडक नाटकका रुपमा लिइन्छ । जसमा समाजवादकै पक्षलाई समेटिएको थियो । अर्कोतिर ‘स्ट्रीट थिएटर’कै पिताको रुपमा लिइने भारतीय रङ्गकर्मी सफदर हाशमीले सडक नाटक मार्फत नै जनतालाई सामाजिक मात्र नभएर राजनीतिक रुपमा समेत सचेत बनाउने काम गरे ।

सन् १९७३ मा जन नाट्य मञ्च ‘जनम’ संस्था नै खडा गरेर उनले यसलाई अभियानकै रुपमा अगाडि बढाए । दुःखको कुरा सन् १९८९ मा दिल्ली नजिकै झण्डापुर गाउँमा ‘हल्ला बोल (रेज योर भोइस)’ सडक नाटक प्रदर्शनकै क्रममा उनको हत्या भएको थियो । भारतको तत्कालीन सत्ता विरुद्ध सांस्कृतिक प्रतिरोध स्वरुप नाटक प्रदर्शनकै क्रममा भारतीय राष्ट्रिय कांग्रेस कार्यकर्ताद्वारा गरिएको हमलामा गम्भीर घाइते भएर उनको मृत्यु भएको थियो ।

यसरी सडक नाटकको इतिहासलाई हेर्दा खास विषयलाई बोकेर त्यसमा कलात्मक सौन्दर्यका साथ प्रस्तुति गरेको देखिन्छ । नेपालको अभ्यासलाई नियाल्ने हो भने प्रजातन्त्र प्राप्तिका लागि शुरु भएको सडक नाटक अहिले रोजीरोटीको आधारसम्म पुगेको छ ।

राजधानी र राजधानीबाहिरका रङ्गकर्मीहरुले विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गरेर सडक नाटकहरु प्रस्तुत गरिरहेका छन् । जसमा राजनीतिकदेखि चेलिबेटी बेचबिखन, महिला हिंसा, लैङ्गिक विभेद, जातीय विभेद, सांस्कृतिक अतिक्रमण, पर्यावरण संरक्षणसम्मका विषयहरु सडक नाटकहरुमा आइरहेका छन् ।

सडक नाटकहरु प्रत्येक गाउँबस्तीमा पुगेपनि आर्थिक अभावमा सडक नाटकको विस्तार सोचेअनुरुप हुन नसकेको रङ्गकर्मी हीराबिजुली नेपाली सुनाउँछन् । नेपालीको समूह समूहले डेढ दशकभन्दा लामो समयदेखि सुदूरपश्चिमको  कर्णाली भेगमा नाटकघरबाट मात्र नभएर सडक नाटक मार्फत चेतनाको विगुल फुक्ने काम गरिरहेका छन् । कर्णाली आर्ट सेन्टर मार्फत मुगुमा नाटकघर स्थापना गरेका नेपाली अहिले सुर्खेतमा पनि थिएटर स्थापना गर्ने दौडधुपमै छन् । यस बिचमा उनको समूहले सडक नाटकलाई सँगसँगै लिएर हिँडिरहेका छन् ।

२०६४ साल यता उनको समूहले ३५/३६ सय हारहारीमा सडक नाटकहरु प्रस्तुत गरिसकेका छन् । सडक नाटक लिएर उनको समूह मुगु, सुर्खेत, डोल्पा, कालिकोट जस्ता सुदूरका गाउँबस्तीसम्म पुगेका छन् । आर्थिक तथा भौतिक पक्षको अभावको अवस्थामा नाट्य क्षेत्रलाई दुरदराजमा पुर्‍याउन सडक नाटक नै उपयुक्त माध्यम बनेको उनको अनुभवले बताउँछ ।

‘अझै पनि आर्थिक अभावमा सबै गाउँबस्तीमा जति पुग्नुपर्ने हो, त्यति सडक नाटकहरु पुगेका छैनन् । विभिन्न संघ, संस्थाहरुसँग समन्वय गरेर नै हामीले निरन्तर नाटक देखाइरहेका छौं ।’

हुन त संस्थागत रुपमा नै राजधानी बाहिर पनि नाट्य संस्थाहरु स्थापना भएका छन् । जहाँ निरन्तर रुपमा नाट्य गतिविधिहरु सञ्चालन भइरहेका छन् । राजधानीभित्र पनि नाटकघरहरुमा निरन्तर महिना दिनसम्म नाटकहरु मञ्चन भइ नै रहेका छन् । काठमाडौँ तथा पोखरा जस्ता शहरहरुमा नाटक पुग्नुलाई मल्ल नाटकको विस्तारको रुपमा लिँदैनन् । उनका अनुसार सबै स्थानहरुमा काठमाडौँ तथा पोखरामा जस्तै रङ्गकर्मीहरुलाई आर्थिक तथा भौतिक रुपमा सहज छ भन्ने अवस्था अझै बनेको छैन ।

आर्थिक तथा भौतिक पक्षको अभाव, यातायातको कठिनाइहरुका बिचमा पनि आम मानिसहरुमाझ सरल रुपमा प्रस्तुत गर्न सकिने सडक नाटक नै सबैभन्दा उत्तम माध्यम रहेको मल्ल उनी बताउँछन् ।

नाटक बन्द कोठाको चौघेराभित्र मात्र सीमित हुनु हुँदैन भनेर मुक्त रङ्गमञ्चको अवधारणा लिएर शिल्पी थिएटर समूह विभिन्न गाउँबस्तीमा नाटकहरु लिएर देशका विभिन्न क्षेत्रमा पुगिरहेका छन् । केही समय अघि शिल्पीले समुदायमा चेतना दिने उद्देश्यले नाटक ‘सट्टापट्टा’ उपत्यका बाहिरका विभिन्न स्थानहरुमा प्रस्तुत गरिसकेको छ ।

हालै मात्र तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा शिल्पी समूहले पुल्चोक ललितपुर कृषि विभागमा भूमि, बीउ र जन स्वास्थ्यका विषय समेटेर यही नाटक ‘सट्टापट्टा’ मन्चन गरेका थिए ।

शिल्पीमा नै आवद्ध रङ्गकर्मी पवित्रा खड्काको समूह नाटक ‘अनिदा रात’ लिएर रुकुम पश्चिम तथा जाजरकोटका विभिन्न स्थानहरुमा पुगेका थिए । बन्द रङ्गमञ्चभन्दा बाहिर खुल्ला ठाउँमा नाटक पुर्‍याउँदा केही चुनौती भएपनि आम अडियन्समा भने यसले निकै सकारात्मक प्रभाव पार्ने उनी सुनाउँछिन् ।

‘खुल्ला ठाउँमा दर्शकको भेराइटी हुन्छ । जहाँ निश्चित नियम, दायरा हुँदैन । नेपालजस्तो ठाउँमा खुल्ला रुपमा रङ्गमञ्चहरु पुग्न सकेमा समाज र नाट्य क्षेत्र दुवैको लागि सकारात्मक प्रभाव नै पर्छ ।’ प्रत्येक प्रदेश, जिल्ला, गाउँ र बस्तीमा नाटकहरु पुग्नुपर्ने उनको मत छ ।

देशभरी सडक नाटकको विस्तारलाई मल्ल निकै सकारात्मक रुपमा लिन्छन् ।

उनी भन्छन्, ‘हामीले त्यो बेला नाटक गर्दा पैसा आउला भन्ने कल्पना पनि गरेका थिएनौं । अहिले यही बाँच्ने आधार समेत बनेको अवस्था छ । यो त निकै खुसीको कुरा हो ।’ प्रत्येक प्रदेश तथा जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुले सडक नाटककै लागि छुट्याएको बजेट वास्तविक रङ्गकर्मीहरुको हातमा पुग्ने हो भने सडक नाटकको स्तर माथि उठ्ने मल्लको बुझाइ छ ।

व्यक्तिगत तवरले माथि उठेको नेपाली रङ्मञ्चको विस्तारका लागि सडक नाटकलाई अझै जोड दिन सम्पूर्ण युवा रङ्गर्मीहरुलाई उनको आग्रह छ । यसका निम्ति चाहिने कार्यशाला तथा सरसल्लाह दिन उनी तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?