काठमाडौँ – भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आएका छन्। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।
उनी एयरइन्डियाको विमानमार्फत आज दिउँसो २ः३३ बजे काठमाडौँ आइपुगेका हुन् । उनको १९ सदस्यीय साङ्गीतिक समूह ‘ब्याण्ड मेम्बर’ भने आज बिहानै आएका थिए ।
नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए ।
उनले भने, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु । नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु ।”
आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए ।
कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शूल्क राखिएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया