गण्डकी – विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् ।
एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन ।
“एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन”, उनले भने, “उनीहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।”
निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।
बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताए ।
“बिमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो”, उनले भने, “एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बिमाको सुविधा दिन स्वास्थ्य बिमा बोर्डले पहल लिनु आवश्यक छ ।” यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ ।
धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया