मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के कारणले हुन्छ मेरुदण्ड र ढाड दुख्ने समस्या ?

पछिल्लो समय मानिसको दैनिकीमा आएको परिवर्तनसँगै धेरैको मेरुदण्ड र ढाड दुख्ने समस्या हुन्छ । लामो समय एउटै स्थितिमा बस्दा र काम गर्दा धेरैमा यो समस्या देखा पर्ने गर्छ ।

मेरुदण्ड दुखाइको समस्याले धेरै मानिस पीडित बनिरहेका हुन्छ । परिवारमा कसैलाई न कसैलाई यो समस्या निम्तिने गरेको पाइन्छ । तर, मेरुदण्ड दुखाइलाई सामान्य नलिन चिकित्सकहरू सुझाव दिन्छन् ।

आखिर मेरुदण्ड दुखाइ कस्तो समस्या हो? किन युवापुस्तामा पनि यो खालको समस्या छ? यो समस्याबाट छुटकारा पाउन कस्तो जीवनशैली अपनाउने लगायतका विषयमा अर्थोपेडिक डा.युवराज खरेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

मेरुदण्ड शरीरको कस्तो भाग हो ? अहिले धेरैलाई मेरुदण्डको दुखाइ बढी हुन्छ किन होला?

मेरुदण्ड भनेको शरीरको मुख्य भाग ढाड हो । सरल भाषामा भन्नुपर्दा टाउको र खुट्टासम्म जोड्ने मूल भाग नै यही हो । मेरुदण्डले ३३ –३४ वटा हाडहरुको लेयर सुषुम्ना लिएर जान्छ र हाम्रो हात खुट्टा शरीरका विभिन्न भागमा छोड्छ । जसकारण हाम्रो हात खुट्टाका अंगले राम्रोसँग काम गर्छन् ।

मेरुदण्डमा दुखाइ हुने कैयन् कारण छन् । एउटा त उमेरको कारणले पनि हुन्छ । युवा उमेरमा मेकानिकल ओरिजिनको ब्याक पेन हुन्छ बस्दा, हिँड्दा काम गर्दा हुन्छ । अर्को भनेको स्पोर्टस इन्जुरीले हुन्छ ।

उमेर बढ्दै गएपछि हुने भनेको मेरुदण्डको हाड खिइने कारणले नसा फुल्ने, बाटो साघुरिने कारणले नसा च्यापिने कारणले हुन्छ । त्यस्तै संक्रमण, ट्युमर, क्यान्सरको कारणले पनि ढाड दुख्ने समस्या हुन्छ ।

कतिपय अवस्थामा मेरुदण्डको हाडसँग सम्बन्धित क्यान्सर भएका कारण पनि दुखाइ हुन्छ । यदि बालबालिका भए लडेर चोटपटक लागेमा यस्तो समस्या निम्तन्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई समस्या बढी हुन्छ भनिन्छ । किन होला?

एउटै तरिकाले लामो समय बसेर काम गर्दा मेरुदण्डको हाडको बीचमा बढी दबाब पर्ने हुन्छ । यसकारण कुर्सीमा बसेर काम गर्नेहरुलाइ ढाड दुख्ने समस्या बढी हुन्छ ।

यसबाट जोगिने उपाय के होलान् त?

यस्तो समस्याको निदानका लागि कुनै औषधि हुँदैन । आफैंले सावधानी अपनाउनुपर्छ । लामो समयसम्म एउटै पोजिसनमा बसेर काम नगर्ने, कुर्सीमा बसेर काम गर्नेहरुले ढाडको सहायताको लागि कुसन राख्ने, प्रत्येक १–२ घण्टामा दश/पन्ध्र मिनेट उठ्ने, हाड बलियो बनाउने थेरापी व्यायामहरु गर्ने गर्नुपर्छ ।

बालबालिकालाई जन्मजात रूपमा हुने मेरुदण्डको समस्याबाट त जोगाउन सकिँदैन । तर ढाड दुख्ने समस्या र चोटपटक लाग्ने समस्याबाट भने बच्न सकिन्छ । मेकानिकल ब्याक पेनबाट बच्न बस्ने पोस्चर मिलाउनुपर्ने हुन्छ । सीधा भएर बस्नुपर्छ, लामो समय एकै ठाउँमा नबस्ने, निहुरिएर काम नगर्ने र दैनिक व्यायाम गर्नुपर्छ ।

चोटपटक लाग्न नदिन सचेत भएर सवारी साधन चलाउने, रुख तथा अन्य अग्लो ठाउँमा चढ्दा सेफ्टी प्रयोग गर्नुपर्छ । कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुँदा समस्या हुने बित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी छ ।

यस्तै वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन ‘डी’को मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिन ‘डी’ र ‘सी’ सप्लिमेन्टहरूको सेवन गर्नुहोस् ।

मेरुदण्ड दुखाइलाई बेवास्ता गर्दा के–कस्ता जटिलताहरु निम्तन सक्छन् ?

यो सामान्य र साझा समस्या हो । जस्तै काम गरेर, बसेर ढाड दुखेको छ भने त्यस्ता गतिविधिहरु कम गर्नुपर्छ । तर ढाड दुखाइका अन्य विविध कारणहरु पनि छन् । मेकानिकल पेन र हड्डी खिइएर दुखेको हो भने यत्तिकै छाड्दा हुन्छ तर इन्फेक्सन, ट्युमर, ट्युबरक्लोसिस, क्यान्सरका कारणले पनि ढाड दुख्ने समस्या हुन्छ । यसकारण निरन्तर ढाडको समस्या भइरहेको छ भने चिकित्सलाई देखाउनुपर्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा विशेषत: यो समस्या देखापर्छ ?

५०–६० उमेर माथिका वृद्ध व्यक्तिहरुमा ढाडको समस्या धेरै मात्रामा देखिन्छ । यद्यपि युवा वयस्कमा नहुने भन्ने होइन । युवा जमात पनि उतिकै मात्रामा पीडित भएको पाइन्छ । बालबालिकाको हकमा भने यो समस्या अलि कम देखिन्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा अस्पताल जानुपर्छ । यस्तै ढाडको दुखाइ दिनप्रतिदिन बढ्दै गएमा पनि उपचार गर्नुपर्छ । कतिपय अवस्थामा औषधि खाँदा पनि निको नहुने र हिँड्न नै गाह्रो हुने हुनसक्छ । त्यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।

यस्तै खुट्टामा झमझम वा कमजोरी भएमा वा हिँड्दा गाह्रो भएमा, दिसा पिसाबको नियन्त्रण नभएमा र ढाड दुखेसँगै ज्वरो आएमा पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?