काठमाडौँ– कुनै समय नेपाली फिल्म भन्ने बित्तिकै नाक खुम्च्याउने कतिपय दर्शक अहिले साथीभाइसँग हलसम्म जाने गरेका छन् । नेपाली दर्शकको विदेशी फिल्मप्रतिको मोहकै कारण हलवालाहरुले पनि स्वदेशीभन्दा विदेशी फिल्मलाई नै बढी शो दिन्थे ।
निर्माताहरूले घरेलु फिल्म सधै विदेशी फिल्मको चेपुवामा परेको गुनासो गरिरहन्थे भने हलवालाले आफ्नो व्यापारलाई नै बढ्ता महत्त्व दिन्थे । घरेलु फिल्मको खास बजार कत्रो छ भन्नेमा पनि निर्माताहरूमा एक मत थिएन ।
तर, पछिल्लो समय नेपाली फिल्मप्रति दर्शकले देखाएको क्रेज यस्तो छ कि, अबको केही समयपछि यदि स्तरीय फिल्म निर्माण गर्न सकेको खण्डमा घरेलु दर्शकबाटै निर्माताले एक सय करोड कमाए पनि कुनै आश्चर्य हुने छैन ।
पहिले हलवालाले कम शो दिने र दर्शक पनि नेपालीभन्दा विदेशी फिल्मतिरै आकर्षित हुने भएकाले नेपाली फिल्मलाई हलमा टिक्नै मुस्किल पर्थ्यो ।
दर्शकहरुले रुचाएका भनिएका दुई/चार वटा फिल्मले लगानी सुरक्षित गरे पनि केही फिल्मका निर्माताले फिल्मको पोस्टर टाँसेको लगानी समेत उठाउन नसक्ने अवस्था थियो । तर पछिल्लो समयमा त्यो अवस्था देखिँदैन ।
दशैं यताको माहोललाई मात्र नजरअन्दाज गर्ने हो भने फिल्म हलमा दर्शकको ताँती नै छ । दशैं तिहारको छेकोमा प्रदर्शन भएका फिल्महरुमा नेपाली सिनेमा हेर्ने दर्शकको क्रेज ह्वात्तै बढेको छ । हलमा मात्र होइन, सामाजिक सञ्जालदेखि चोक र गल्लीमा पनि फिल्मसम्बन्धी बहस हुन थालेका छन् ।
दशैंको छेको पारेर फूलपातीमा प्रदर्शन भएका दुई फिल्महरु ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ ले हल हलमा दर्शकको ओइरो नै लगाइदिए ।
विशेषत: दशैं र तिहारको अवधिमा प्रदर्शन भएका फिल्महरुमा दर्शकको उपस्थिति उल्लेख्य देखियो । यस अवधिमा प्रदर्शन भएका नेपाली फिल्महरुले हिन्दी फिल्मलाई समेत पछाडि पारे ।
नेपाली बक्सअफिसमा हङ्गामा मच्चाइरहेको पछिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा प्रदर्शन भइरहँदा बहुप्रतिक्षित मानिएका हिन्दी फिल्महरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ दुवैले कम दर्शक पाए । ‘पूर्णबहादुरको सारङ्गी’ ले हलमा ५१ औँ दिन मनाएको छ । यसको कमाइ नेपाली फिल्मकै इतिहासमा सर्वाधिक छ ।
त्यसो त केकी अधिकारीको निर्माण तथा उनैको शीर्ष भूमिकामा गत वैशाखमा प्रदर्शन भएको फिल्म ‘बोक्सीको घर’ले पनि दर्शकको अपार माया बटुल्यो । असोज महिनामा प्रदर्शन भएका फिल्महरु ‘खुस्मा’ र ‘बेहुली फ्रम मेघौली’मा पनि दर्शकको राम्रो उपस्थिति रह्यो ।
बसन्त निरौलाको ‘ज्वाइँ साब’ होस् या नीता ढुङ्गानाको ‘ह्रस्व दीर्घ’ नै किन नहोस् । औसत प्रतिक्रिया पाए पनि दुवै फिल्मले लगानी उठाएको निर्माण टिम दाबी गर्छन् । अझ ‘ज्वाइँ साब’ का निर्देशक बसन्त निरौला त अर्को फिल्मको तयारीमा जुटिसकेका छन् ।
यसै अवधिमा नेपालमा प्रदर्शन भएका हिन्दी फिल्महरु ‘देवरा’ र ‘जिग्रा’मा नेपाली दर्शकको उल्लेख्य साथ रहेन । दर्शकले रोजाइमा नेपाली फिल्म नै परे । त्यसपछि प्रदर्शनमा आएका फिल्महरु ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’मा पनि दर्शकको उपस्थिति देखियो ।
त्यसो त बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले भने नेपालका हलमा पनि कब्जा जमायो । यो फिल्म नेपालमा चल्नु किन पनि स्वभाविक हो भने यसले भारतमा समेत एकपछि अर्को रेकर्ड तोडेको छ । र, यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा थियो ।
नयाँ फिल्म निर्माणमा हौसिँदै निर्माता
नेपाली फिल्मप्रति दर्शकमा देखिएको क्रेजकै कारण नेपाली फिल्म निर्माताहरु हौसिएका छन् भने अन्य क्षेत्रले समेत सिने उद्योगलाई अगाडि लैजाने सोच बनाएका छन् ।
यसरी हेर्दा सिनेमामा नयाँ मात्र नभएर पुराना मेकर समेत जुर्मुराएका छन् । सबैतिर उही सिनेमाकै चर्चा छ । जानकारी अनुसार उद्योगपति शेखर गोल्छा र विज्ञापन व्यवसायी रञ्जित आचार्य दुवै जनाले फिल्म ‘परान’मा लगानी गर्ने भएका छन् ।
निखिल उप्रेती, करिश्मा मानन्धर, भुवन केसी, झरना थापा, रेखा थापा, आर्यन सिक्देलसम्मका पुराना मेकर पनि फिल्म बनाउन तम्सिएका छन् । त्यस्तै, पुराना मेकरहरु रोज राणा पनि ‘खलनायक २’ निर्माणकै लागि घोषणाको तयारी गर्दैछन् भने अभिनेता एवम् निर्माता मुनाल घिमिरे पनि फिल्म बनाउन कस्सिएका छन् ।
उनले निर्देशकका रुपमा ऋषि लामिछाने र कलाकारमा केदार घिमिरे(माग्ने बुढा)लाई साइन समेत गराएको खबर छ । त्यस्तै, पुराना मेकरहरु नरेश पौडलले ‘सिलसिला २’ बनाउने भएका छन् भने सुशिल पोखरेलले ‘परालको आगो’ बनाउने घोषणा गरिसकेका छन् । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् भने सुहाना थापा फिल्ममा अनुबन्धित भइसकेकी छिन् ।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पनि सहकार्यमा ‘कबड्डी–५’ र ‘जारी–२’ बनाउने भएका छन् । अहिले ‘जेरी अन टप’को सुटिङ भइरहेको छ भने ‘माइतीघर,’ ‘जन्तेबाख्रो,’ ‘महाराजधिराज,’ ‘महाभोज,’ ‘कल्ली,’ ‘हरिबहादुरको जुत्ता,’ ‘नरसिंहा’ ‘बलिदान’ जस्ता फिल्महरु २०८२ मा आउने निश्चित भएको छ ।
यी फिल्महरुमा नेपाली दर्शकको उपस्थिति कस्तो रहला, त्यो त भविश्यले नै बताउला । तर अहिले नेपाली सिनेमाप्रति देखिएको दर्शकको क्रेजले नेपाली सिनेमा निर्माणतिर सिनेकर्मी तथा अन्य मानिसहरुको समेत आकर्षण बढेको छ ।
यदि आगामी फिल्महरुमा पनि नेपाली दर्शकको साथ रहने हो भने नेपाली सिने उद्योग चलायमान मात्र होइन, अन्य उद्योग जसरी नै स्थापित हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया