मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

‘कोठा त मेरा लागि हृदयको कुनो हो’

काठमाडौँ– ‘भौतिक रुपमा हेर्ने हो भने कोठा सामानहरु र केही यादहरु थन्काउने स्थान हो । तर कोठा त मेरा लागि भावनात्मक र आत्मिक रुपमा हृदयको कुनो हो । जहाँ हजारौं मनमा स्वतन्त्र भावनाहरु अटाइन्छन् ।’

अहिले म्युजिकल फिल्म ‘कोठा’को चर्चा चलिरहँदा यसका कथा लेखक, परिकल्पनाकार तथा निर्देशक भीष्म जोशीसँग शहरमा उनको भौतिक कोठा र कोठा सङ्घर्षकै अन्तरमनका कुरा खोतलिरहँदा उनले कोठाको परिभाषा यसरी दिए ।

उनको मान्यतामा प्रत्येक मान्छेको जीवनमा कोठाले बेग्लै स्थान ओगट्छ । अझ शहरमा रहर र सपना बोकेर आउनेहरुका लागि कोठाको महिमा विशेष छ । कोठाका भित्ताहरुसँगै बसेका कैयौं रहर र सपनाहरु उडेर आकाश छुन्छन् भने कतिपय त्यसै बिलाएर जान्छन् ।

तिनै रहर र सपना बोकेर शहर पस्ने तमाम युवाहरु मध्ये भीष्म पनि एक हुन् । झण्डै १६/१७ वर्षअघि परिवार र आफ्नै सपनाहरु बोकी उनी कैलालीबाट काठमाडौँको कीर्तिपुर शहर पसेका थिए ।

रहर बोकेर भर्खरै शहर पसेपछि उनले गरेका अनेक आरोह–अवरोह र मानसिक विचलनलाई उनले म्युजिकल फिल्म ‘कोठा’मा पोखेका छन् । जुन भोगाइ शहर पसेका ती तमाम युवाहरुका हुन्, जसले कोठामा बसेर सपनाहरुको विजारोपण गरेका छन् ।

त्यसकारण उनको फिल्म ‘कोठा’को कथा यतिबेला सबैको भएको छ । ‘कोठा’ले स्मरण गरिदिएको हाफ्नै कथाको फ्ल्यासब्याकमा सबै पुगिरहेका छन् र भीष्मको ‘कोठा’ सिर्जनालाई हृदयले स्वीकार गरेका छन् ।

अहिले उनलाई लाग्छ, शहरमा रुमलिरहेको एउटा कथाले पूर्णता पाएको छ ।

निकै सन्तुष्ट भावमा भीष्म भन्छन्, ‘कोठा रिलिजपछि म एकदमै हल्का भएँ । नयाँ कोठा सरेजस्तै मेरो हृदय रित्तो भयो । सबै सामान सारेजस्तै मेरो हृदयको कुनो खाली भयो र बल्ल म तृप्त भएँ ।’

‘खाली हुनु त फेरि भरिनुका लागि पनि हो’ भन्ने कुरामा अझ उनी सजक छन् । उनी सँगै सन्तोष विष्ट र सरोज खड्काले संयुक्त रुपमा स्थापना गरेको ‘आर्टघर’ मार्फत नै ‘कोठा’को भिडियो सार्वजनिक गरिएको हो ।

आर्टघर समूहले कला साहित्यका सर्जकहरुकै उपस्थितिमा एभरेष्ट फिल्म एकेडेमीमा हालै मात्र ‘कोठा’को प्रिमियर शो गरेका थिए । प्रिमियरमा सहभागी सबैले उनको कामको तारिफ गरे । यतिबेला भीष्मलाई आफू लगायत आफ्नो टिम नै सफल भएको महसूस भएको छ ।

‘कोठा’का लागि जोडिएका सम्पूर्णप्रति उनी कृतज्ञ छन् । उनको आर्टघर टिमबाहेक यसमा उनलाई गीत लेखनमा कवि देव व्रत, स्वरमा प्रशान्त सिवाकोटी र रुबी श्रेष्ठ, छायांकनमा सरोज श्रेष्ठ, सम्पादनमा धीरज अधिकारी र रिदन श्रेष्ठ, अभिनयमा प्रवीण पाण्डे, सबि थापा, कल्पना शाही र शीतल पाण्डेले साथ दिएका छन् ।

अभिनयमा आर्टघरका तीनै जना भीष्म, सरोज र सन्तोषलाई समेत देख्न सकिन्छ । यस अघि आर्टघर समूहले ‘समय र उमेर’ सार्वजनिक गरिसकेका छन् । जसमा भीष्मले आफ्ना बाल्यकालीन समयलाई प्रस्तुत गरेका छन् ।

कोठा सङ्घर्ष

आफूले साढे तीन दशकको बसन्तसम्म यात्रा गरिरहँदा भीष्मलाई आफ्नै कोठा छ भन्ने महसूस कहिल्यै भएन । ‘मेरो पनि कोठा छ’ भन्ने महसूस भने उनलाई हालै मात्र भएको छ ।

गत वैशाखमा काठमाडौँ जडिबुटीस्थित सात हजार पाँच सय रुपैयाँ भाडा तिरेर बसेको कोठा मात्र उनलाई आफ्नै कोठा लागेको छ । जहाँ उनी आफ्नोपनको अपनत्व भेटाउन सक्छन् । त्यही आफ्नै कोठामै उनले म्युजिकल फिल्म ‘कोठा’को कथा लेख्न थालेका थिए ।

अछाममा बुवा नवेन्द्रराज र आमा लक्ष्मीदेवी जोशीका कान्छो छोराको रुपमा वि.सं.२०४७ साल, पुस २ गते जन्मिएका भीष्मको बाल्यकाल कैलालीमा बित्यो । कैलालीमै छ/सात कक्षा अध्ययन पश्चात् उनी फेरि अछाम फेर्केका थिए । त्यतै नै एसएलसी सकाएर उनी कैलाली हुँदै काठमाडौँ आएका थिए ।

कैलाली र अछाममा पनि उनको आफ्नो भन्ने कोठा थिएन । उनी कहिले आमाबुवा, कहिले हजुरआमा, कहिले दाई र कहिले काकाको कोठामा सुतेर हुर्के ।  त्यसपछि २०६३/०६४ ताका एसएलसी सकाएर भीष्म कैलालीबाट सिधै कीर्तिपुरस्थित पाँगाको कोठामा आइपुगे । त्यही कोठामा भीष्मसँगै उनका परिवारको सपना सँगै रहे ।

किनकि त्यतिबेला उनको भन्दा पनि आमाबुवाको सपना बोकेर उनी शहर छिरेका थिए । कीर्तिपुरस्थित ल्याब्रोटरी कलेजमा प्लस टु भर्ना भएपछि कोठामा त उनी बसे तर उनलाई त्यो आफ्नो कोठा जस्तो लागेन । सानो र अँध्यारो कोठामा सुत्ने त्यति धेरै ठूलो ठाउँ थिएन । र पनि उनको कोठामा साथी, साथीको पनि साथी आउने जाने क्रम जारी रह्यो ।

साथीहरु आफ्नै हिसाबले मनलाग्दी गर्थे । कहिलेकाहीँ गाउँबाट पाहुना पनि आइपुग्थे । पाहुनालाई बेडमा सुताएर उनी आफू भुँइमा सुत्थे ।

त्यसो त यो शहरको रङ्गीन सपना देखेर गाउँबाट लोकल बस चढेर आउने हरेकको साझा कथा हो ।

उनी स्मरण गर्छन्, ‘यो त मेरो कोठा हो भन्ने मलाई फिल नै भएन । म त त्यसै मौन थिएँ । शहरमा घर, सपना र कोठा जे भने मेरो लागि त्यही नै थियो । म त कोठामा कैद हुँदैछु भन्ने पो फिल भयो ।’

सीधै कीर्तिपुर आउँदा उनलाई केही फरक लागेन र त्यहाँ कुनै विविधता देखेनन् । त्यहाँ उनका मात्र नभएर सपना बोकेर आउनेहरुको उस्तै दिनचर्या थियो । बिहान उठ्ने, कलेज जाने, आउने, खाना बनाउने, खाने, सुत्ने । यो उनको मात्र नभएर कीर्तिपुरमा पढ्ने र पढाउनेहरु सबैको समान दिनचर्या थियो ।

एकैचोटि पाँच महिनापछि शहर घुम्न निस्किँदा उनी विशाल बजारको लिफ्टमा चढेको उनलाई अझै स्मरणमा ताजै छ । अहिले पनि कीर्तिपुरको दिनचर्या त्यसरी नै चलिरहेको उनी देख्छन् । आउनेजाने साथीले सबै सामानहरु उठाएर हिँडेपछि भीष्म विरक्तिएर २०६६ सालमा धापाखेलतिर सरे र सातदोबाटोस्थित सिटिजन कलेजमा स्नातक तहमा भर्ना भए ।

त्यसपछि कतै घरबेटी नहुने, कतै आफैंलाई चित्त नबुझ्ने लगायतका कारणहरुमा उनको कोठा सर्ने क्रम जारी रह्यो । एकै वर्षमा कतै १५, कतै २० र कतै महिना दिन बसेर एक वर्षमा उनले पाँच/छ ठाउँमा कोठा सार्ने काम गरे । अन्तिममा उनी २०७२ को भूकम्पपछि अनामनगर आइपुगे ।

त्यही क्रममा उनका रहर र सपनाहरु समेत सँगसँगै दौडिरहेका थिए तर उनको भन्ने खास कोठा अझै भएन । त्यतिबला नै कला सिर्जनाको भोकले उनी सर्वनाम थिएटरको आठौँ ब्याचका विद्यार्थीका रूपमा भर्ना भइसकेका थिए ।

अनामनगरमा हुँदा कैयन् फिल्मकर्मी र नाट्यकर्मीहरुसँग उनको भेट भयो । अनामनगर बसाइँकै क्रममा दाइको विवाह भएर कोठामा भाउजू भित्रिइन् । त्यसपछि उनको शहर यात्रामा फेरि कोठा भएन । प्रत्येक रात साथीभाइका कोठाहरु चहार्ने उनको दैनिकी बन्यो ।

कहिले म्हेपी, कहिले सानोथिमी हुँदै उनी शहरमा रहरसँगै डौडधुपमा लागिरहे । एभरेष्ट फिल्म एकेडेमीमा उनी सात महिना एक्लै बसे । कोरोना कालमा छट्टपट्टीकै क्रममा ५० प्रतिशत छात्रवृत्ति पाएपछि उनी दिल्लीस्थित ‘दिल्ली इन्स्टिच्युट आर्टस् एण्ड एकेडेमी’मा ‘इम्प्रोभाइजेसन कोर्स’ लिन पुगे ।

उनले अन्य एकेडेमीहरुमा पनि आवेदन दिएका थिए । तर महङ्गो शुल्ककै कारण छनोट भए पनि उनी जान सकेनन् । दिल्लीमा चाहिँ आँटैले उनी पुगेका थिए । दिल्लीमा जम्माजम्मी उनको ३०/३५ दिनको क्लास भयो ।

बलिउड निर्देशक राजकुमार हिरानीको मास्टर क्लास नहुने भएपछि उनी कोर्ष पूरा नगरी फेर्के । दिल्लीबाट फर्केलगत्तै उनी जडिबुटीमा चार तलाको घरको अन्डरग्राउण्डमा रहेको साथीकै कोठामा पुगे । जहाँ उनी १० महिना बसे । रित्तो कोठा, अँध्यारो भित्ता र चिसो भुइँमा उनको सपनाको दिनचर्या फेरि शुरु भयो । त्यही भोगाइमा उनले लेखे,

‘कोठा रित्तो, अध्यारो भित्तो, चिसो छ भुइँ ।’

यही लाइन उनले आफ्नो म्युजिकल फिल्म ’कोठा’मा समावेश गरे । कोठा विहीन भएर तीन वर्षभन्दा बढी समय शहरमा रहेको समयलाई स्मरण गर्दा उनको मनमा अहिले चिसो पस्छ ।

‘मेरो कोठा छ भन्दा पनि अर्कै फिल हुने रहेछ । दिनभरी कहाँ कहाँ, को को सँग म हराउँथेँ । जब बेलुका हुन्थ्यो कहाँ जाने भनेर टेन्सन हुन्थ्यो,’ भन्छन्, ‘दिनभरी उडिरहन्थेँ, हाँसिरहन्थेँ, बेलुका भएपछि तनाब हुन्थ्यो । ब्याग बोकेर कता जाने, कता सुत्ने, कति साथीकोमा जाने भन्ने हुन्थ्यो ।’

त्यतिबेला कोठा भइदिएको भए हुन्थ्यो भन्ने उनको मनले भनिरहन्थ्यो । आफ्नै कोठा बनाउने उनको हैसियत बनिसकेको थिएन र दाइलाई भन्ने पनि उनको आँट आएन । जतिबेला उनलाई खानाको चिन्ता थिएन । दाइकोमा खाएर उनी सुत्न कोठाकै लागि भौतारिन्थे ।

त्यसकारण सामान्यतया उनी ब्याग बोकेर हिँड्दैनथे । दुई दिन सम्म पुग्ने कपडा लगाएर हिँडेपछि फेरि दाइकोमा आएर फर्ने गर्थे । उनमा अरुको कोठामा सुत्दाको छटपट्टी असाध्यै थियो । साथीले के सोचिरहेको होला भन्ने उनलाई लाग्थ्यो ।

साथीहरुसँग बस्दा उनको सिर्जना कर्मलाई अधिकांश साथीहरुले सहयोग गरे । सुत्नका लागि बेड समेत व्यवस्था गरिदिए ।

भीष्म भन्छन्, ‘आफ्नो कोठामा भुइँमा एउटा सुकुल र तन्ना भएपनि मीठो निद्रा लाग्छ तर अरुको बेड नै भए पनि त्यहाँ आनन्द नहुने रहेछ । सुत्न त म बेडमै सुतेँ तर त्यो सुताइ, आनन्दको सुताइ नै भएन ।’

दिनभरी सपना बोकेर हिँडे्पनि रातमा भने उनले कुनै सपना देख्न सकेनन् । कोठा अभाव र आफ्नै सपनाले उनलाई सताइरहेको थियो । कोठाकै कथाले उनमा परिवर्तन देखा परे । निकै बोल्न रुचाउने उनी एकाएक एक्लै रमाउने भए । रङ्गमञ्चको सर्कलबाट टाढा रहे । कुनै नाटकहरु नै हेरेनन् ।

त्यो समयमा साथीसँग मस्ती भएन । किनकि त्यतिबेला उनी चरम निराशामा थिए । केही सिर्जना गर्न सपना हुँदा हुँदै पनि त्यो सपनालाई पूरा गर्ने आर्थिक ल्याकत उनीसँग थिएन । आफ्नै आँखाले रोजेको सपना भएकै कारण उनले परिवार कसैसँग पनि आफ्नो कुरा समेत राखेनन् ।

यही क्रममै उनले गत वैशाखमा जडिबुटीमा आफैंले कोठा लिए र ‘कोठा’ म्युजिकल फिल्मकै लागि लेखन कर्म अगाडि बढाएका थिए । त्यसकारण ‘कोठा’ म्युजिकल फिल्म उनका लागि शहर र सपनाहरुमा दौडेको जीवनका भोगाइहरु हुन् ।

जहाँ उनले आफ्ना भोगाइहरु दिल खोलेर पोखेका छन् । कोठा विहीन भएर शहरका गल्ली र सडकहरुमा उनले भोगेका भोगाइहरु उनले शब्द र दृश्यमा अभिव्यक्त गरेका छन् । उनको कोठामा उनीसहित ‘आर्टघर’का सदस्यहरु छन् । त्यही कोठा नै उनीहरुका लागि काम गर्ने कार्यालय पनि हो ।

त्यही कोठामा बसेर उनीहरुले ठ्याक्कै आठ महिना लगाएर ‘कोठा’ सिर्जनालाई पूर्ण बनाए । अहिले कोठामा उनी राति पुग्छन् । भुइँमै सुत्छन् । उनलाई मीठो निद्रा लाग्छ ।

उनको अनुभवले भन्छ, ‘सपना देख्नलाई बेड नै नचाहिने रहेछ । यदि मसँग पैसा नै भएपनि बेड किन्न सक्थेँ होला, तर त्यहाँ मीठो निद्रा नहुन नि सक्थ्यो ।’ 

सरकारी जागीरे बनाउने बुवाको सपना

भीष्मका बुवा नवेन्द्र दुवै छोराहरु (भीष्म र तर्कराज) सरकारी जागीरे भएको देख्न चाहन्थे । हुन पनि उनका अनुसार अछाममा उनको छिमेकमा रहेका १० घरमा प्रत्येक घरबाट एक जना सरकारी जागीरमा छन् ।

त्यसैले बुवाको सपना पनि छोराहरुले सरकारी जागीर नै खाओस् भन्ने थियो । तर जेठो छोरा बैंकको जागीरे र कान्छो कलाकारितातिर लागेपछि बुवाको सपना पूरा भएन । सानैदेखि कला पारखी उनी कैलालीमै सिनेमा हेर्न सिके र यसलाई नजिकबाट नियाले ।

उनलाई सिनेमा हेर्न भने दाइले सिकाएका थिए । उनलाई लाग्छ, सिनेमा हेर्दाहेर्दै उनले सिनेमा निर्माणको सपना त्यतिबेलै अन्जानमै बुनेछन् । उनी भन्छन्, ‘खासमा सिनेमाले मलाई सपना देखायो र त्यही सपना पछ्याउँदै काठमाडौँ आएँ ।’ त्यह्री सपनाकै लागि त उनी दौडिरहेका छन् ।

उनको कलाकारिताप्रति बुवा खुसी छैनन् भन्ने उनलाई थाहा छ । यद्यपि उनको सिर्जनाहरु बुवाले सेयर गरिरहन्छन् ।

बुवाकै सपनाका लागि उनले बैंकको जागीरको लागि आवेदन दिए । लोकसेवाको परीक्षा पनि दिए । तर कलाप्रतिको लगावले उनको मन त्यतातिर तानिएन । कला छोडेर उनले गर्न खोजेका ती सबै प्रयासहरु भने परिवार र बुवाकै खुसीका लागि थियो ।

उनी सोच्छन्, खुसी भनेकै अरुका लागि भनेर आउने रहेछन् । मान्छेले जहिले पनि आफैंलाई भन्दा पनि अरुकै लागि खुसी खोज्नुपर्ने रहेछ । आफैंका लागि खुसी खोज्न गाह्रो हुने रहेछ । यी सबै खुसी खोज्ने क्रममा नै कैयौं युवाहरु बन्द कोठाभित्रै हराएका पनि छन् ।

उनले जडिबुटीमा कोठा लिएपछि भने बुवा आइपुगेका थिए । खाली कोठा, भुँइमा ओछ्यान, पकाउने चुलो, पानीको बाल्टिन र कपडाहरु उनका सपना जस्तै असरल्ल थिए । बुवाले उनको कोठा नियालीरहँदा उनले भने बुवाको मुहारतिर हेर ।

केही भावुक हुँदै उनी शब्दमा व्यक्त गर्छन्, ‘मैले पहिलोचोटी बुवालाई बुढो देखेँ । यति नजिकबाट मैले हेरेकै थिइनँ । तर केही बोलिँन ।’ बुवाहरु सन्तानका लागि त्यति कठोर पनि हुन्नन् भन्ने उनले बुझेका छन् । तर पनि खोइ किन हो बुवालाई शिर ठाडो गरेर उनले बोल्न सकेका छैनन् ।

उनी कहिलेकाहीँ सोच्छन्, आफूले पूरा नगरेको सपनाहरु आफ्ना सन्तानहरुले पूरा गरिदिओस् भन्ने बुवाहरु चाहन्छन् । शहरमा सपना बोकाएर पठाउने आम अभिभावकहरुमा उनको अनरोध छ, ‘आफ्नो छोरा र छोरीहरुमा सपनाको भारी मात्र लाद्ने होइन । उनीहरुको इच्छा, रहर र लगाव केमा छ, त्यो बुझ्ने चेष्टा गर्नुपर्छ ।’

उनकै अनुभवले भन्छ, ‘काठमाडौँ गएर यो पढ, यो गर भनेर दिमागमा भरिदिँदा कतिपय सपनाहरु शहरमै बिलाउन सक्छन् ।’

शहर र सपना

कोठा नहुँदा र अहिले हुँदा पनि अनामनगरका गल्ली र सडकहरुमा उनी हिँडि नै रहेका छन् । उनलाई लाग्छ, अनामनगरका ओसिला गल्लीहरुले उनका पदचापहरु चिन्छन् होला । कसैले कोठा चाहियो भने पनि उनलाई सम्पर्क गर्थे ।

भन्छन्, ‘त्यहाँका इँटा, बालुका, ढुङ्गा, माटो सबैले ममाथि भीष्म हिँडिरहेको छ भन्ने खुट्याउन सक्ला । म त्यति अनामनगरमा हिँडेको छु । मेरो कोठा जडिबुटीमा भएपनि अहिले पनि मैले अनामनगर छोड्न सकेको छैन ।’

उनको बुझाइमा आम युवाका लागि शहर एउटा सपना हो । उनको ‘कोठा’गीतका लाइन ‘अब त मै पनि शहर भएँ, शहरको नौलो खबर भएँ’ले भनेझैँ सपना बोकेर शहर पस्ने सबैका अनुभूतिहरु एकै खालका छन् । जता गएपनि ठोक्किने मात्र भएपछि उनको नजरले कहिलेकाहीँ शहर कठोर देख्छ ।

फेरि उनलाई शहरको माया लाग्छ । शहरले नै उनलाई विकराल सपना देख्न सिकायो । शहरमा नहराइकन हिँड्न र दौडन उनलाई शहरले नै सिकायो । शहरबाट रहर पूरा गर्ने थुप्रै मान्छेहरु छन् । कतिपय भिडमा हराए भने कतिपय उठेर आएका छन् ।

शहरमा हराउनेहरु धेरै छन् । त्यो भिडमा उनी आफू हराएको मान्दैनन् । हराएको समयमा पनि उनी कला सिर्जनाकै बाटोमा थिए । शहरमा रहरै रहर र सपनासँगै दौडिरहँदा ‘अवान्तर,’ ‘चाँदीको घेरा,’ ‘भिक्षाम देही,’ ‘श्रीमान् वीरबहादुर (अभिनय: निर्देशन),’ ‘बादलका आकारहरु,’ ‘नौगेडी’ लगायत नाटकहरु र ‘जालो,’ ‘साङ्लो,’ ‘दिमाग खराब,’ ‘बेहुली फ्रम मेघौली,’ ‘कठपुतली,’ ‘१२ गाउँ’ लगायत फिल्महरुमा उनले आफ्नो कला क्षमतालाई प्रस्तुत गरिसकेका छन् ।

शहर र सपनामा अर्थले धेरै ठूलो अर्थ राख्छ भन्ने उनले गहिराइसम्म बुझेका छन् । कोठा नहुँदा हिँड्न, फिल्म, नाटक हेर्न, खाजा खान र एक जोर कपडाको लागि उनको आर्थिक सङ्घर्ष थियो र छ । उनकै शब्दमा ‘भोकै सुतेका रातहरु धेरै छन् ।’

अहिले कोठा हुँदा भाडाकै लागि अर्को सङ्घर्ष थपिएको छ ।

मौलिक कला सिर्जनामा युवाहरुलाई आर्थिक रुपमा हात थमाइदिने मान्छे भएमा अझै तीव्र गतिमा जान सकिन्थ्यो भन्ने उनी सोच्छन् ।

आर्थिक पाटोको समेत जिम्मेवारी बोकेर हिँड्दा सिर्जनाको गुणस्तर समेत प्रभाव पार्छ । ‘कोठा’ भिडियोकै लागि पनि अछाममा पुगेर लिनुपर्ने दृश्य ललितपुर लेलेमाथि गाउँतिर गएर लिइएको छ ।

अछाम जान नसकेपछि बुढीगङ्गा, वैधनाथ धाम यी सबै उनको कथामा छुटे । यो सबै अर्थले नै रोक्यो । तर सबै कुरा पैसाले मात्र बन्छ भन्ने मान्यतामा पनि उनको होइन ।

समयले साथ दिए अझै सुदूर र आफ्नै कथा ल्याउने उनका सपनाहरु छन् । सिनेमाको ठूलो क्यानभासमै सपनाका कथाहरु सजाउने उनको अर्को सपना पनि छ । ती सपनाहरु कतिपय बन्छन् र कतिपय भत्कन्छन् पनि । यसलाई घर र सम्बन्धकै रुपमा उनी परिभाषित गर्छन् ।

घरहरु बनिरहन्छन् र कुनै विन्दुमा भत्कन्छन् । सपना भन्ने कुरा नै उनका लागि भयानक हो । देखेका सपनाहरुले प्रोत्साहन दिएर सकारात्मक बाटोतिर डोर्‍यायो भने त्यो राम्रो हो । तर त्यही सपनाले सतायो भने दुःख पाइन्छ भन्ने उनले महसूस गरेका छन् ।

कसैले सिर्जनालाई नपत्याएपछि स्थापना गरेको आर्टघरलाई माथि उठाउने समूहको अर्को सपना छ । सन्तोषसँग भएको १७ हजार रुपैयाँको आँटले कोठा निर्माण शुरु गरेका यो टिमको तीन लाख १७ हजार खर्च भयो ।

समय र उमेरमा तीन लाख भन्दा बढी खर्च भएको थियो । सबै हिसाब किताब गर्दा उनको टिमलाई छ लाख रुपैयाँ हारहारी ऋण छ । रोचक त के भने उनको भिडियो हेरेर ऋण दिएका दुई जना साथीहरुले अब तिर्नुपदैन भनिसके ।

कला सिर्जनाकै क्रममा उनले २० हजार र ४० हजार गरी दुईजनासँग ६० हजार रुपैयाँ ऋण लिएका थिए । त्यतिबेला उनले मान्छेको जीवनमा आँट, धैर्यता, लगनशीलतासँगै मित्रताको अर्थ बुझे । उनी सुनाउँछन्, ‘मान्छेले सत्कर्म गर्नुपर्छ ।

यात्राका साथ दिनका लागि कोही न कोही भेटिन्छन् । छोड्ने र गाली गर्नेहरु पनि भेटिने रहेछन् ।’ ‘कोठा’मा आएको प्रतिक्रियाले अहिले साथी र साथ रहेछन् भन्ने महससू उनलाई भएको छ । त्यसकारण कोठामा आएको जति भ्युज छन्, ती सबै उनका लागि हृदय हुन् ।

थप्छन्, ‘मेरो लागि भ्युज नै सफलताको सूत्र होइन । मन पराउनु र भाइरल हुनु फरक कुरा हो ।’

अहिलेको सफलताले कायालपट नै भयो भन्ने उनले सोचेका छैनन् । आफू कहाँ, कुन सर्कल र स्तरबाट आएको हो भन्ने कुरा उनले बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?