मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

दमौली ‘तनहुँ’ – जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् ।

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा भएको छ ।

अझै ५५ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आवद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताए । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध हुन नसकेको उनको भनाइ छ ।

सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएकालाई प्रथम सेवा विन्दु छ वटा रहेका छन् ।

पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका उनले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिए । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ ।

सरकारले बिमामा आवद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२र७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?