काठमाडौँ– दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘महाभोज’ मा कलाकारको लाइनअप बलियो देखिएको छ । यसअघि ‘पूजार सार्की’ बाट व्यावसायिक सफलता हात पारेका राउतले निर्देशन गर्ने फिल्ममा लोकप्रिय कलाकारलाई अनुबन्ध गरिएको हो ।
राउतले यसअघि ‘पूजार सार्की’ मा पनि मल्टिस्टारलाई लिएर फिल्म निर्माण गरेका थिए ।
पहिले ‘गाउँ नै रमाइलो’ नाम राखिएको यो फिल्मको पछि नाम परिवर्तन गरिएको थियो । माघबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगरले अभिनय गर्ने फाइनल भएको थियो ।
निर्माण टिमले जनाए अनुसार हालै फिल्ममा नयाँ कलाकार पनि जोडिएका छन् । निर्माण टिमका अनुसार फिल्ममा खगेन्द्र लामिछाने, अञ्जना बराइली, अनुपविक्रम शाही, मलिका महत लगायतका कलाकारको समेत अभिनय रहनेछ ।
विकास सुवेदीको लेखन रहने यो फिल्मलाई ‘नाङ्गो गाउँ’ का निर्माता हिमाल कडरियाले लगानी गर्दैछन् । सामाजिक कथामा बन्ने ‘महाभोज’ लाई जेठमा रिलिज गर्ने गरी तयारी थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया