काठमाडौँ– ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब साँगीतिक समूह मङ्सिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् ।
कीर्तिपुर नगरपालिकाको प्रवर्धन र आदि ग्रुप प्रालिको कार्यक्रम व्यवस्थापन तथा प्रवर्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्युका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिए ।
कर्मा व्याण्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको साँगीतिक इतिहासलाई जीवन्त बनाएको व्याण्ड हो ।
कर्माले नेपाली गीतसङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली साँगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ ।
कन्टर्समा कर्मा व्याण्डका साँगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’ लगायतका दर्जन भाकाहरू गुञ्जिने छन् ।
कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज ब्रजाचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्सर्ट अनुकरणीय बन्ने आयोजकको विश्वास छ ।
कुटुम्ब साँगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको साँगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ ।
समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मष्तिस्क कब्जा गर्ने छन् ।
कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गदै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
कन्टर्समा कर्मा व्याण्डसँगै कुटुम्बको अभूतपूर्व साँगीतिक प्रस्तुतिले नयाँ अध्याय थप्दै ऐतिहासिक क्षण बनाउने छ ।
कीर्तिपुरको साँस्कृतिक, साँगीतिक माहोललाई पुनः जीवन्त बनाउँदै कला, संस्कृति र गीतसङ्गीतको प्रवर्धन गर्दै स्रोता दर्शकलाई अतीतको याद र वर्तमानको स्वाद दिई, भविष्यको लागि चहकिलो एवम् आशावादी धुनले झङ्कृत गर्ने छ ।
कीर्तिपुर नगरको साँगीतिक र साँस्कृतिक धरोहरलाई थप प्रोत्साहन गर्ने, युवापुस्ताको ऊर्जा र साँगीतिक परम्परालाई एकीकृत गर्ने, दृष्टिविहीन एवम् असाहय बालबालिकाको पढाइमा सघाउने उद्धेश्यसहित गैरनाफामूलक कार्यक्रम गरिएको हो ।
ल्याबोरेटरी माविको प्राङ्गणमा तय गरिएको बृहत् कन्सर्टले १५ हजार बढी दर्शकलाई स्वागत गर्ने लक्ष्य राखेको छ । डिजिटल माध्यमबाट मुलुकबाहिरका लाखौँ नेपाली मनले मज्जा लिने अनुमान एएस्क्युले गरेको छ ।
आदि ग्रुप अन्तर्गतको एएसक्यु इकाईले कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ ।
गत वर्ष पोखरामा पौष २७ गते कन्दरा व्याण्डको ऐतिहासिक ‘पहिला घरदेश अनि परदेश’ कन्सर्टको सफल व्यवस्थापन गरेको एएसक्युले ‘एकै स्वरमा, कीर्तिपुरमा’ लाई सफल बनाउन कटिबद्ध रहेको जनाएको छ ।
कीर्तिपुरको साँगीतिक माटोबाट सुरु भएको कर्मा व्याण्डको यात्रा र कुटुम्बको लोक धुनको मोहक प्रस्तुति जीवनभर सम्झनलायक क्षण बन्ने आयोजकको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया