मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुद्धिबंगारा कस्तो दाँत हो ? राख्ने कि फाल्ने ?

काठमाडौँ- वयस्क अवस्थामा पलाउने दाँतलाई बुद्धिबंगारा भन्ने गरिन्छ । कतिपयलाई बुद्धिबंगारा आउने बेला एकदमै दुख्ने हुन्छ । दन्त चिकित्सक डा। किरण आचार्यका अनुसार बुद्धिबंगारा भनेको १८ देखि २५ वर्षभित्रमा आउने दाँत हो । यो दाँत खासै उपयोगी भने मानिँदैन । अर्थात् बुद्धिबंगारा हाम्रो शरीरको एउटा अनावश्यक अङ्ग हो ।

१८ देखि २५ को उमेरसम्म सम्पूर्ण दाँतको तलमाथिको हाडहरु बनिसकेको हुन्छ । र दाँत आउने क्रममा कुनै मानिसहरुमा स्पेस कम भयो भने दुख्छ । जस्तै दाँँत एकदमै कुनामा आएको छ र गिजा छेडेर पलाउने अवस्था छ भनेपनि दुख्छ । कतिपय अवस्थामा भने स्पेस धेरै भएको ठाउँमा बुद्धिबंगारा पलाउँदा थाह नै नहुने पनि हुन्छ । वयस्क मानिसको शरीरमा बुद्धिबंगारा दाँत चार वटा मात्रै हुन्छ ।

माथिल्लो र तलपट्टी दुई–दुईवटा गरेर जम्मा ४ वटा बुद्धिबंगारा दाँत पलाउने हुन्छ । माथिल्लो दाँतमा बुद्धिबंगारा पलाउँदा खास्सै दुखेको आभास हुँदैन । बुद्धिबंगारा दाँत पलाएको छ कि छैन पनि थाह हुँदैन तर तल्लोपट्टीको दाँत पलाउँदा भने प्राय सबैलाई नै दुखाई हुन्छ । किनभने तलपट्टी अन्य दाँतहरुले नै स्पेस भरिसकेको हुन्छ र बुद्धिबंगारा पुरा रुपमा ननिस्कन पनि सक्छ र गिजा, मासु छेडेर पलाउने हुन्छ ।

दुखाई हुने अर्को कारण भनेको बुद्धिबंगारा पलाएका बेला हामीले खाएको खानेकुराले त्यहाँ छुने, घोच्ने र अड्किने हुँदा पनि दुख्ने गर्छ । बुद्धिबंगारा कसैको एकै पटक नै पलाउँछ र कतिपयको भने विशेषगरी १८ देखि २८ वर्षभित्रमा जहिले पनि पलाउन सक्छ । र यो उमेरपछि बुद्धिबंगारा पलाउँदैन र यो समयपछि पनि दाँत दुख्यो भने दाँतको अन्य समस्याहरु भएको हुनसक्छ ।

यसलाई राख्ने कि फाल्ने त ?

सामान्यतया बुद्धिबंगाराले समस्या पैदा गरेन भने राख्दा केही फरक पर्दैन तर समस्या दियो भने दाँत निकाल्नु नै यसको समाधान हो । वास्तवमै बुद्धिबंगारा हाम्रो केही काम आउँदैन । यो न त खाना चपाउन काम आउँछ न अन्य अरु केहीमा । कतिपय अवस्थामा भने बुद्धिबंगारा बचाएर राख्न पनि सकिन्छ ।

यो किन र कस्तो अवस्थामा भने यदि अगाडिका अन्य दाँतहरु किराले खाएको छ भने कृत्रिम दाँतहरु राख्न सहयोगी हुन्छ अन्यथा बुद्धिबंगारा झिक्दा फरक पर्दैन । हाम्रो समाजमा बुद्धिबंगारा आउनु भनेको बुद्धि पलाउनु हो यसकारण यस्तो दाँत फाल्नु हुँदैन भन्ने बुझाई पनि छ ।

तर यो बुझाईमा कुनै सत्यता नरहेको बताइन्छ । अर्को कुरा भनेको बुद्धिबंगारा झिकेर फालियो भने आँखा कमजोर हुन्छ भन्ने भ्रम पनि हाम्रो नेपाली समाजमा व्याप्त छ । यसमा पनि आँखा र बुद्धिबंगाराको कुनै पनि सम्बन्ध नरहेको चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?