काठमाडाैँ- त्रिमूर्ति निकेतनले नेपाली भाषा साहित्यका सर्जकहरु रामबाबु सुवेदी, प्रा.डा.सावित्री कक्षपती र प्रा.डा.बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार दिने घाेषणा गरेकाे छ ।
छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिएका सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिनेछ ।
त्यस्तै, नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्रा. डा. कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै आएकी प्रा.डा.शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय गरिएकाे छ ।
तीनै जनालाई ताम्रपत्रका साथै जनही एक लाख रूपैयाँ नगद राशी पुरस्कार प्रदान गरिनेछ । त्रिमूर्तिका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया