व्यस्त जीवनशैली र खानपानका कारण धेरै नेपालीलाई मधुमेह रोगको जोखिम बढ्दै गएको छ । केही वर्षयता मधुमेहका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
मधुमेह अथवा सुगरका कारण कतिपयले दैनिक ओखतीको सेवन गर्नुपर्ने हुन्छ । जंक फुड र खानपानका कारण, शारीरिक अभ्यास कम हुने कारणले पनि यो रोगको बिरामी बढ्दै गएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
आखिर मधुमेहको जोखिम किन बढ्दै गएको छ? यो रोगबाट कसरी जोखिन सकिन्छ र कस्तो ख्याल गर्नुपर्छ लगायतका विषय वरिपरि रहेर डा. डिना श्रेष्ठसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले कुराकानी गरेकी छिन् ।
मधुमेह कस्तो रोग हो ? किन धेरै नेपाली मधुमेहबाट पीडित छन्?
मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । शरीरको प्याङक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा वा शरीरको इन्सुलिनलाई प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा उत्पन्न हुने स्वास्थ्य समस्या नै मधुमेह हो । इन्सुलिन एक प्रकारको हर्मोन हो । जसले रगतमा ग्लुकोज नियन्त्रण गर्छ ।
इन्सुलिनमा आउने गडबडीले रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रामा पनि गडबडी आउँछ । गर्भवतीको ग्लुकोज लेभल ९५ हुन्छ । अन्य व्यक्तिको सामान्य अवस्थामा १०० हुनुपर्छ वा खाना खाएको दुई घण्टापछि १४० हुन्छ । त्योभन्दा बढी भएको अवस्थालाई मधुमेह भनिन्छ । समयमै नियन्त्रण नगर्ने हो भने यसले शरीरका धेरै प्रणाली विशेषगरी स्नायु र रक्तनलीहरुमा गम्भीर क्षति पुर्याउन सक्छ ।
मधुमेह कति प्रकारको हुन्छ ?
अरु रोगजस्तै मधमेहका पनि धेरै प्रकार हुन्छन् । मुख्यतया यसलाई टाइप वान, टाइप टु, जेस्टेसनल र सेकेन्डरी गरी चार प्रकारमा बाँड्न सकिन्छ ।
पहिलो हो, टाइप वान मधुमेह । यो अटो इम्युन डिजिज हो । प्रायः बालबालिकालाई हुने यो रोग शरीरको आफ्नै प्रतिरोधी प्रणालीका कारण उत्पन्न हुन्छ । इन्सुलिन बनाउने शरीरको कोषलाई बिटा सेल्स भनिन्छ, जुन प्याङ्क्रियाजमा हुन्छ ।
कहिलेकाहीँ शरीरको प्रतिरोधी प्रणालीले बिटा सेल्सलाई क्षति पुर्याउँछ र इन्सुलिन बनाउन दिँदैन । जसले शरीरमा पूर्ण रुपमा इन्सुलिन उत्पादन नहुँदा रगतमा ग्लुकोज असन्तुलित हुन्छ । टाइप वान मधुमेह भएको अवस्थामा बालबालिकामा पखाला लाग्ने, बान्ता हुने जस्ता समस्या हुन्छ ।
त्यस्तै झण्डै ९५ प्रतिशत मानिसलाई हुने मधुमेह टाइप टु प्रकारको हो । यो चाहिँ जीवनशैली नमिलेर, मोटोपन तथा वंशाणुगत कारणले हुन्छ । आजकाल तनावका कारण पनि टाइप टु मधुमेह भएको पाइएको छ ।
त्यसैगरी गर्भवती अवस्थामा हुने मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ । गर्भ रहेको २४ हप्ता पुगेपछि हर्मोनहरुमा हुने असन्तुलनका कारण मधुमेह हुन्छ । यसले गर्भावस्था र गर्भमा रहेको शिशुलाई असर गर्न सक्छ ।
कुनै बाह्य कारणले बिटा सेल्सले इन्सुलिन बनाउन नपाउँदा उत्पन्न हुने गडबडी नै सेकेन्डरी मधुमेह हो । बढी मदिरा सेवन गर्दा, हाइपोथाइराइड हर्मोन बढी हुँदा इन्सुलिनले काम गर्न पाउँदैन । यो अन्य स्वास्थ्य समस्याका कारणले उत्पन्न हुने मधुमेह हो । उक्त रोग निको हुँदा सेकेन्डरी मधुमेह पनि निको हुन्छ ।
यी चार प्रकारका मधुमेहमध्ये पछिल्लो समय कुन प्रकारको मधुमेह बढ्दो छ ?
तीन दशकयता टाइप टु मधुमेह विश्वभर नै वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांकअनुसार हाल विश्वभर ४२ करोड २० लाख मानिस मधुमेहबाट पीडित छन् । तीमध्ये अधिकांश न्यून तथा मध्यम आय भएका मुलुकका नागरिक हुन् ।
यस्तै, हरेक वर्ष मधुमेहकै कारण १५ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०२५ सम्म मधुमेह र मोटोपनको वृद्धि रोक्ने विश्वव्यापी लक्ष्य लिइएको छ ।
मधुमेह लागेको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–कस्ता हुन्छन् ?
मधुमेहका दुई खालका लक्षण हुन्छन् । मधुमेहका बिरामीलाई बढी भोक लाग्ने, तिर्खा लाग्ने र पिसाब लाग्ने हुन्छ । यस्तो अवस्थामा राति पिसाब बढी हुन्छ । राति एक–दुई या तीन पटकसम्म पनि उठ्नुपर्ने हुन्छ । तौल घट्ने हुन्छ । यसलाई क्लासिक लक्षण भनिन्छ । यसैगरी अर्को छ नन–क्लासिक लक्षण । यसमा घाउ निको नहुने, थकाइ लाग्ने, रिंगटा लाग्ने हुनसक्छ । तर एउटा कुरा के बुझ्नुपर्छ भने मधुमेह भएका ५० प्रतिशत मानिसमा लक्षण हुँदैन । थाहै नपाइकन पनि मधुमेह भएको हुनसक्छ ।
कस्ता मानिसहरु मधुमेहको जोखिममा पर्छन् ?
विगतमा ५० वर्षभन्दा माथिको उमेरका मानिस मधुमेहको जोखिममा रहेको मानिन्थ्यो । त्यसपछि ४५ वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई हुनसक्छ भनियो । तर आजकाल ३० वर्षभन्दा माथिको उमेरका मानिसलाई पनि मधुमेह हुने सम्भावना हुन्छ ।
परिवारमा मधुमेह छ, बढी कमजोरी छ भने वर्षमा कम्तीमा पनि एक पटक मधुमेहको परीक्षण गर्नैपर्छ । कोभिड महामारीपछि मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि मधुमेहको जोखिम बढाउँदै गएको छ । कोभिडपछि बालबालिकादेखि वयस्कसम्मका शारीरिक अभ्यास कम भएका छन् भने बालबालिकाहरु पनि बढी समय ल्यापटप तथा मोबाइलमा बिताउने भएका छन् । विगतमा जस्तो साइकल खेल्ने, घरबाहिरका खेलमा सहभागी हुने कुरा हराइसकेका छन् । यस्ता शारीरिक निष्क्रियताले पनि मधुमेहको जोखिम बढाउँछ ।
मधुमेह रोगको सन्दर्भमा हामीले के–कस्ता कुरा बुझ्न आवश्यक छ ?
मधुमेह सामान्य तरिकाले हुन्छ, म नियन्त्रण गर्न सक्छु, मलाई केही भएको छैन भनिन्छ । प्रायजसो बिरामी अलिकति ग्यास्ट्रिक हुनेबित्तिकै औषधि खाइहाल्छन् । तर सुगरको औषधि खान आनाकानी गरिन्छ । तर यसो गर्नुहुँदैन । नराम्रो लक्षण नदेखिए पनि यसले मानिसलाई कमजोर बनाइरहेको हुन्छ र छिटो–ढिलोको कुरा, कुनै पनि बेला जटिलता निम्तिन सक्छ ।
यसले अङ्गभङ्ग नै गराउँछ । अधिकांश मोटो मानिसलाई मधुमेह रोग्न लाग्ने सम्भावना बढी हुन्छ भन्ने सोच्छन् । तर मोटो–दुब्लो भन्दा पनि पेटमा बोसो बढी हुने मानिसलाई टाइप टु मधुमेहको जोखिम बढी हुन्छ । त्यसैले तौल घटाउनेभन्दा पनि पेट घटाउनतिर बढी ध्यान दिनुपर्छ ।
त्यसैले मधुमेह हुँदैमा आत्तिनु हुँदैन । औषधि नियमित खानुपर्छ । डाक्टरसँग समयमै परामर्श लिनुपर्छ । लक्षण छैन भन्दैमा लापरबाही पनि गर्नुहुँदैन । बच्चाहरुलाई पनि स्वास्थ तरिकारले हुर्काउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया