काठमाडौँ– हामी मानव जाती प्रकृति भनेपछि हुरुक्कै हुन्छौँ । हामी सबैलाई प्रकृतिसँग रम्न र जम्न मन लाग्छ । त्यसैले हामी दैनिक कामकाजको थकानबाट मुक्त हुनको लागि विभिन्न रमणीय क्षेत्रमा घुम्न जान्छौँ । यदि तपाईँहरु पनि यस्तै ठाउँको खोजीमा हुनुहुन्छ भने भोजपुरको मुन्धुम र हाँसपोखरी राम्रो गन्तव्य हुन सक्छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाभित्र पर्ने यो क्षेत्र नेपालको १०० उत्कृष्ट गन्तव्यभित्र परेको छ । यो क्षेत्र पर्यटकीय गन्तव्य मात्रै नभई ऐतिहासिक स्थल पनि हो । जहाँ किराती समुदायको इतिहाससमेत रहेको छ । किराती समुदायको धर्म, संस्कृति, भाषा र संस्कारसमेत भेटिन्छ ।
यहाँ मध्य पहाडी लोकमार्ग हुँदै जान सकिन्छ । सामुद्री सतहबाट करिब तीन हजार मिटर उचाईमा रहेको यो ठाउँबाट सुन्दर हिमश्रृङ्खला, हरियाली पाटन, अग्ला पहाड र डाँडा, तराईको समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट ठूला फाँटमा चरिरहेका भेडा र घोडा हेरेर पनि बेग्लै आनन्द लिन सकिन्छ ।
यहाँबाट किरात समुदायको मात्रै नभई राई, शेर्पालगायत समुदायको संस्कृतिलाई नियाल्न सकिन्छ । उनीहरुको समुदायको पहिचान झल्कने परिकार, स्थानीय लोकल खानेकुरालगायतको स्वाद यहाँ चाख्न पाइन्छ । यसका साथै पाहुनाका लागि लोकल कुखुराको समेत व्यवस्था छ ।
मुन्धुम डाँडाबाट हिमाल नजिक र स्पष्ट देखिन्छ । यसका साथै अरुण उपत्यका, आठ हजारभन्दा माथिको हिमालको श्रृङ्खला स्पष्ट देखिन्छ । यहाँबाट कञ्चनजङ्घा हिमाल, किमाथाका हिमाल, मकालु, सगरमाथालगायतका हिमालहरु नजिकै देखिन्छ । बिहानको पारिलो घामले हिमालको हिउँहरु टल्किन्छ ।
हिउँदयाममा सेताम्मे हिउँले भरिने यो क्षेत्रमा वैशाख र जेठमा भने रङ्गीचङ्गी भुइफूलले रङ्गिएको हुन्छ । थुम्काथुम्की भएको ठाउँमा देवी देवताको बास हुने स्थानीयको मान्यता छ । यहाँको अर्को विशेषता भनेको हाँस पोखरी हो ।
जुन पोखरी बाह्रै महिना एउटै रङ्गको हुने गर्दछ । कुनै समय यो पोखरीमा हाँसको जोडीहरु आएर पौडी खेल्ने रमाइलो गर्ने भएकोले नै नाम नै हाँस पोखरी राखिएको हो । तर पछिल्लो समय हाँसहरु खासै देखिँदैनन् ।
पोखरीमा एक जोडी हाँसको आकृतीको डुङ्गा बनाइएको छ । जहाँ बसेर मानिसहरुले रमाइलो पनि गर्छन् । तर पछिल्लो समय सो डुङ्गा प्रयोगमा आएको छैन ।
पोखरी वरिपर रेडपाण्डा पनि देख्न सकिन्छ । यसका साथ पोखरीभन्दा केही माथि सुम्निमा र पारुहाङको मूर्ति निर्माण गरिएको छ । जसलाई किरात समुदायले आफ्नो पुर्खाको रुपमा मान्दै आएका छन् । त्यहाँ गएर आकर्षक फोटोहरु कैद गर्न सकिन्छ ।
यस क्षेत्रमा केही संख्यामा मात्रै होमस्टेहरु सञ्चालनमा रहेका छन् । त्यसबाहेक गोठस्टेबाट आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिँदै आएको छ । जहाँबाट स्थानीय परिकारहरुको स्वाद लिन सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया