काठमाडौँ– रङ्गमञ्चको दुनियाँमा रङ्गकर्मीका रुपमा परिचित थिए, सन्दीप श्रेष्ठ । झण्डै एक दशकमा रङ्गमञ्च उनका लागि घरभन्दा प्रिय र नजिक बनेको उनलाई पत्तो नै भएन । दर्जनौं नाटकहरुमा कहिले उनी ब्याकस्टेजमा बसेर त्यसैलाई सिंगार्न बसे त कहिले आफैं मञ्चमा पात्रका रुपमा कलाकार भएर उभिए ।
रङ्गमञ्चमा जस्तोसुकै भूमिकामा रहेपनि जे होस्, उनले १० वर्ष खुसी भएर बिताए । यो अवधिमा नाटकका अनेकन पात्रहरुमा बाँचेर उनले समाज मात्र होइन, आफैंलाई पनि नियाले । रङ्गमञ्चको संसारमा रमाइरहेका उनै सन्दीपले फिल्म ‘फिरफिरे फिरिरी’मार्फत सिने फाँटमा पाइला राखेका छन् ।
फिल्ममा कलाकारहरु मनोज अधिकारी, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्ससँगै लिडिङ रोलमा उनको समेत भूमिका रहेको छ । माघ ४ गते प्रदर्शन मिति तय गरिएको फिल्मको पटकथा लेखनमा फिल्मका निर्देशक नवीन भट्टसँगै सन्दीप पनि छन् ।
डेब्यु फिल्म, त्यसमाथि पटकथा लेखनमा आफ्नो पनि भूमिका रहेकोले सन्दीपको मनमा थोरै डर तर धेरै उत्साह र उत्सुकताहरु भरिएका छन् । भन्छन्, ‘एक्टिङ त मैले नाटकमा पनि गरेकै छु ।
थिएटरमा थोरै हुन्थे भने अहिले लार्जर अडियन्समा जाँदै छु । अलि अलि डर त लाग्छ नै त्यो भन्दा पनि फिल्ममा मेरो एक्टिङ र राइटिङको कामलाई अडियन्सले कसरी लिनुहुन्छ भन्ने कुरा नै मेरो दिमागमा छ ।’
रङ्गमञ्चको १० वर्षको अनुभव र अनुभूतिहरु उनले लेखन र अभिनयमा अभिव्यक्त गरेका छन् । उनकै भनाइमा उनले लेखनमा भन्न नसकेका कतिपय कुरा अभिनयमार्फत फिल्ममा भनेका छन् भने यता छुटिएको पक्ष उनको लेखनमा छ ।
यसर्थमा फिल्म ‘फिरफिरे फिरिरी’ उनका लागि मात्र सिनेमा होइन । यसमा उनको सपना, सङ्घर्ष र जीवनका थुप्रै अनुभूतिहरुमा बगाएका पसिनाहरु समेत मिसिएका छन् ।
आम दर्शक समक्ष यो फिल्म पुग्दा ‘सन्दीप श्रेष्ठ’को काम पुग्छ कि पुग्दैन भन्ने कौतुहलता उनको मनमा छ । यद्यपि सिकेको, देखेको र भोगेकै अनुभवहरुका आधारमा सकेजति काम उनले फिल्ममा गरेको उनी सुनाउँछन् ।
हरर कमेडी जनरामा बनेको फिल्मले हलमा पुगेको दर्शक जमातलाई निराश नपार्ने कुरामा भने उनी ढुक्क छन् ।
आफ्नो डेब्यु फिल्मले आम दर्शकमा तहल्का नै पिट्नुपर्छ या आफू रातारात हिटै हुनुपर्छ भन्ने मान्यता पनि सन्दीपको होइन । रङ्गमञ्चको यात्राबाटै नेपाली सिनेमा क्षेत्रमा दबदबा कायम गरेका दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, विजय बराल, नाजिर हुसेन, पशुपति राई जस्ता स्टार कलाकारहरुको मेहनत, सङ्घर्ष र लगावलाई उनले बुझेका छन् ।
अग्रजहरुले हिँडेको र खनेको बाटोमा उनले त भर्खरै पाइला चालेका छन् । उनी भन्छन्, ‘कलाकारितामा मेरो लामो जर्नी अझै बाँकी छ । यो फिल्म मार्फत भएको मेरो डेब्यु रोकिन, मातिन र उफ्रनका लागि होइन । लार्जर अडियन्समा म त भर्खरै पुग्दैछु ।’
हुन त यहाँसम्म आइपुग्न उनले गरेको सङ्घर्ष र कलाप्रतिको लगाव भने कम छैन । रङ्गमञ्च र फिल्मसम्मको यात्रा र त्यसभन्दा अघि उनमा देखिएको कलाप्रतिको झुकाव र जीवनका उतारचढावहरुलाई उनी सरसर्ती सम्झन्छन् ।
बाल्यकाल, घर र उनको कलाप्रतिको सोखलाई सम्झिनुभन्दा अगाडि नै उनले मण्डला थिएटरमा करिब ९ वर्ष अघि मञ्चन भएको नाटक ‘बैतरणी क्याफे’लाई स्मरण गरे । किनकि रञ्चमञ्चमा यो नै उनको डेब्यु नाटक थियो ।
दयाहाङको लेखन तथा निर्देशन रहेको नाटकमा विजयदेखि नाजिर र सिर्जना सुब्बासम्मका कलाकारहरुले अभिनय गरेका थिए ।
कलाकार बन्ने हुटहुटीले एक दशक अघि अभिनय सिक्छु भनेर मण्डला पुगेको स्मरण उनलाई अझै छ । शुरुमै उनले दयाहाङलाई भेटे ।
जतिबेला दयाहाङ अभिनित सुपरहिट फिल्म ‘लुट’ र ‘कबड्डी’ प्रदर्शन भएर फिल्मी क्षेत्रमा उनको नाम स्थापित भइसकेको थियो । तर भयो के भने उनले दयाहाङलाई चिनेकै थिएनन् । मण्डलामा कुराकानी तय भएर चौथो ब्याचको विद्यार्थीको रुपमा भर्ना हुने पक्का भएपछि उनले दयाहाङलाई चिने ।
‘मैले बच्चादेखि नै हिन्दी र अङ्ग्रेजीहरु फिल्म मात्र हेरेँ । त्यही देखेर त्यस्तै बन्छु भन्ने मात्र मेरो दिमागमा बस्यो । नेपाली फिल्म नहेरेको मान्छेले दया दाइलाई के चिन्थ्यो र ? पछि दया (दयाहाङ राई) दाइ स्टार भनेर थाहा पाउँदा पो आफैंलाई लाज लाग्यो,’ उनले हाँस्दै सुनाए ।
मण्डलामा प्रवेश गर्दा उमेरले सानै भएपनि जीवनका ठूल्ठूला भोगाइ र परिस्थितिहरुसँग जुधेर उनी त्यहाँ पुगेका थिए । काठमाडौँमा उभिन्छु भनेर गरेका सम्पूर्ण जमर्कोहरुमा आफैं नै हराउने देखिएपछि उनी आफ्नो अस्तित्व र आफूले गर्न सक्ने कामको खोजीमा मण्डलाको ढोकासम्म पुगेका थिए ।
सन्दीपको जन्म विराटनगरमा भए पनि उनको हुर्काइ काठमाडौँ, नेपालगञ्ज र मामाघर ताप्लेजुङसम्म भयो । परिवार जताजता पुग्छ, आमाले जताजता पुर्याइन्, उनको हुकाई त्यतै भयो ।
उनलाई बाल्यकालका चाहना अझै पनि याद छ । उनलाई अरु साथीहरुसँग खेल्न, रमाउन भन्दा फिल्म हेर्न खुब मन लाग्थ्यो । विराटनगरमा आमासँग छ/सात वर्षकै उमेरमा खुब फिल्महरु हेरे । ती फिल्महरु कुन कुन र कस्ता थिए भन्ने झलक उनको स्मरणमा ठ्याक्कै अहिले छैन ।
आमा मुना श्रेष्ठ पनि पाँचथरमा हुँदा नाटकमा सक्रिय रहेको कुरा उनलाई सुनाउँथिन् । फिल्मको चासो र आमाले भन्ने नाटकका कुराले उनको मनमा कलाप्रति बाल्यकाल देखि नै छाप बस्यो ।
उनको परिवारमा बुवा, काकाहरु पनि बद्री अधिकारी जस्ता कला सर्जकहरुसँग भेटघाट हुन्थ्यो । जतिबेला उनका काका साथी प्रकाशन नामक संस्था चलाउँथे । कलाकर्मीहरुसँग भेटभाट हुँदा बुवाले ‘मेरो छोराले एक्टिङ गर्छ । ‘ल गरेर देखाऊ त’ भन्ने कुराहरु समेत उनको स्मरणमा छ । पछि आफैंले बुझ्दै गएपछि उनले नेपालीभन्दा पनि हिन्दी र अङ्ग्रेजी फिल्महरु हेर्न थाले ।
‘टाइटनिक’ फिल्ममा जहाज डुबेको दृश्यमा फिल्ममा ‘तेत्रो जहाज कसरी डुबेको देखायो, सबै सामानहरु फुटेको, मान्छेहरु दौडेको कसरी भयो’ भन्ने पक्षहरु उनको दिमागमा खेल्थे । फिल्ममा हरेक दृश्यले र त्यसमा आउने क्लाइमेक्सहरुमा उनी आफैंलाई पाउँथे ।
यसरी उनको फिल्म नै सबैभन्दा नजिकको साथी बन्यो र उनी फिल्मको रङ्गीन दुनियामा छिरेका थिए । उनी आफू पनि त्यसरी नै एकदिन फिल्ममा देखिने रङ्गीन सपनामा डुब्थे । स्कूल पढ्दै गर्दा देखेको उनको सपनामा त्यतिबेला नै जीवन जिउनुपर्ने जिम्मेवारी आइपर्यो ।
त्यस बीचमा भएको पारिवारिक विरहमा सन्दीपले दाइसँगै मिलेर परिवारको बोझ उठाए । वि.सं.२०६० सालमा एसएलसी दिए लगत्तै उनले काम गर्न शुरु गरे । न्युरोडको कम्प्युटर पसलमा १५ सय रुपैयाँ तलबमा जागीर शुरु गरेका उनी आउजाउमै बागबजारतिर पुगिरहन्थे ।
त्यतातिर उनले कला क्षेत्रकै केही व्यक्तिहरुसँग उनको सम्पर्क भयो । जिम्मेवारीको बोझले कलाकारिताको हुटहुटी सेलाए पनि कलाप्रतिको उनको झुकाव भने केही बाँकी थियो । ती व्यक्तिहरुको सम्पर्कमा आकलझुकल केही सिरियल टाइपमा सिरिजमा काम गरे पनि ती व्यक्ति र आफूले गरेको काम के थियो भन्ने उनलाई याद छैन ।
परिवारमा आर्थिक बोझकै कारण अध्ययन समेत रोकिएको त्यो समयमा उनलाई लाग्छ त्यतिबेला उनी भौतारिएर नै हिँडेका थिए ।
उनी स्मरण गर्छन्, ‘हामी त गरिब रहेछौं । हामीसँग पैसा छैन भन्ने त्यतिबेला मलाई महसूस भएको थियो । खानालाई त कसरी कमाउने भन्ने त्यो बेलामा म कलाकार बन्छु भन्ने परिस्थिति नै थिएन ।’
त्यसरी भौतारिएर हिँड्दाहिँड्दै पनि दाजुभाइको कमाइले घर धान्न केही सहज भयो । र पनि त्यो उनको कमाइ, मेहनत र दौडाइमा उनका लागि भन्ने कुरा के थियो भन्ने कुरामा उनी छटपट्टिएका थिए । त्यही क्रममा गुरुकुलको नाटकहरु उनले हेरेका थिए । ती नाटकहरुले अझै उनलाई कला भोक जगायो । तर गर्ने के त ? खास बाटो उनले देखेका थिएनन् ।
त्यो छटपट्टीहरुमा जीन्दगी भन्नै चीज समाप्त भएमा बाँकी के नै हुन्थ्यो र ? त्यो निर्णयको नजिकसम्म उनी पुगेपछि पुनः आफ्नो सपना र रहरलाई ब्युँताउने काम गरे । त्यसपछि अध्ययनमा स्नातकसँगै उनले मण्डलासम्मको यात्रा तय गरे ।
जीवनमा आफूले गर्न सक्ने कामका लागि आधार स्तम्भ मण्डला हुन सक्छ भन्ने उनको आशा थियो । त्यहाँ पुगेपछि फिल्ममा देखिने स्टार होइन, जीवन र जगतलाई बुझाउने आम मान्छेकै कथा भन्ने कलाकार बन्ने अठोट उनले लिए ।
एक दशकको दौरानमा ‘महाभोज,’ ‘क्लेशा’लगायतका नाटकहरुमा उनी देखिए पनि नेपालीभन्दा अङ्ग्रेजीहरु नाटकहरुमा नै उनी बढी छाए । ‘लार्मी प्रोजेक्ट,’ ‘थ्रि सिस्टर्स,’ ‘हिपप कपेलिया,’ ‘ब्रिफ क्यान्डल’लगायतका नाटकहरुमा उनले अभिनय गरेका छन् ।
‘चिसो भन्ज्याङ,’ ‘वासुदेव,’ ‘चन्द्रेलाई कसले मार्यो’ जस्ता नाटकहरु उनले लेखेका छन् । नाटकहरु ‘चिसो भन्ज्याङ’ र ‘वासुदेव’ मा उनको लेखन तथा निर्देशन थियो । ‘वासुदेव’ मा उनले अभिनय समेत गरेका छन् ।
यस अवधिमा उनी अमेरिकामा ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम(आइभीएलपी)’का लागि समेत पुगे । यसै वर्ष उनी अमेरिकी राजदूतावासकको फण्डिङमा ‘एलमनाईस् इङ्गेजमेन्ट इनोभेसज फण्ड’ प्रोजेक्ट अन्तर्गत ‘कथा इन्द्रधनुष’ कार्यक्रम लिएर नेपालगञ्ज र जनकपुरसम्म पुगे ।
जुन कार्यक्रमबाट उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा जागरण ल्याउन सचेतना दिने काम गरे ।
आजसम्मको कला यात्राको समीक्षा गर्दा फेरि उनले आमालाई सम्झे । आफूलाई मध्यम वर्गमा राख्ने सन्दीपकी आमा उनलाई भन्ने गर्थिन् ‘नाटक र फिल्म भनेको कि धनी र कि गरिबका लागि हुन् ।’
उनकी आमाको बुझाइमा उच्च वर्गले नाटक र फिल्मलाई मनोरञ्जनका रुपमा लिन्छन । कला नै मानेर यसमा आउने वर्गहरुलाई यसमा पैसा नै नकमाएपनि फरक पर्दैन । त्यस्तै निम्न वर्गका लागि केही काम गर्न लाज हुन्न । कला चेत भए पनि छोरा भोकै होला भन्ने आमाको चिन्ता थियो ।
थिएटरकै कमाइमा जेनतेन उनले जीवन चलाइ नै रहेका छन् । यही क्रममा नै साथी नवीनले फिल्मका लागि पटकथा लेख्न हुटहुटी जगाइदिएपछि उनी लेख्न बसेका थिए । तथापि लेखनका लागि भने उनी कोरोनाकालमा नै तयार थिए ।
त्यतिबेला नाटकको काम ठप्प जस्तै भएपछि लेखनतिर उनको ध्यान गएको थियो । फिल्म ‘फिरफिरे फिरिरी’का पात्रहरुका लागि लेखिएका कतिपय संवादहरु उनले उनकै लागि भनेर लेखेका थिएनन् ।
पछि तिनै संवादहरुमा उनी आफैं पात्रका रुपमा फिल्ममा देखा परे । थिएटर र अनेकौं भोगाइहरुबाट सिकेको अनुभूतिहरुलाई उनले आफ्नो नयाँ यात्रामा पोखेका छन् । किनकी यो फिल्म उनका लागि कला यात्राको अर्को खुड्किलो हो ।
जुन खुड्किलोबाट आम दर्शकले उनलाई जहाँ राखे पनि उनको चित्त दुखाइ हुने छैन । उनको काममा ताली भएमा उनका लागि अझै हौसला मिल्नेछ भने गाली नै भए पनि उनी अर्को खारिएको सिर्जना लिएर आउनेछन् । किनकि यही कला यात्रामा मात्र उनले आफ्नो खुसी देखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया