काठमाडौँ– प्राकृतिक वातावरणसँग रमाउने रहर कस्को पो नहोला र ?
अझ दैनिक कामकाजमा व्यस्त हुने व्यक्तिको लागि केही दिन प्रकृतिसँग खेलेर माइन्ड फ्रेस गर्न मात्रै होइन काम गर्नको लागि इनर्जी ल्याउन पनि सहयोग गर्छ ।
तपाईं पनि यस्तै वातावरणमा खेल्ने सोचमा हुनुहुन्छ भने म्याग्दीको जलजला राम्रो गन्तव्य हुन सक्छ ।
मध्यपश्चिम क्षेत्रमा रहेको जलजला बाग्लुङ, म्याग्दी र रुकुमको सीमाना पर्छ । जहाँ समथर विशाल पाटन मात्रै नभई हरियाली वनजङ्गल, रङ्गीचङ्गी फूल, खुलेको निलो आकाश, लुकामारी खेल्ने बादलसँगै हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।
यो क्षेत्र प्राकृतिक रुपमा मात्रै नभई साँस्कृतिक रुपमा पनि उत्तिकै धनी रहेको छ । यहाँ गुरुङ, मगर, तामाङलगायतका समुदायहरु एक अर्कामा सहयोगी भई जीविकोपार्जन गर्दै आएका छन् ।
ढोरपाटन शिकार आरक्षणमा पर्ने जलजला पोखराबाट बाग्लुङ हुँदै र कुस्मा हुँदै दुई वटा पदमार्गबाट जान सकिन्छ । यात्राको क्रममा खोलाको बाटो हुँदै पानीको कलकल सङ्गीत सुन्दै चराको चिरिबिरी सुन्दै जलजला पुग्न दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ ।
बाटोमा भेटिने पुरानो घरले थप आनन्द दिन्छ । यात्राको क्रममा कहिले खाल्डाखुल्डी बाटो, कहिले खोलाको बाटो, कहिले झोलुङ्गे पुल त कहिले पक्की बाटोले यात्रालाई थप रोमाञ्चित बनाउँछ । बाटोेमा भेटिने स्थानीयसँगै सो क्षेत्रको आवश्यक जानकारी पनि लिन सकिन्छ ।
तपाईं जति जलजला क्षेत्रको नजिक पुग्नुहुन्छ त्यति काठमाडौँ कोलाहललाई मात्रै होइन दैनिक जीवनचर्यालाई बिर्सेर आनन्दको जीवन बिताउन थाल्नुहुन्छ । शान्त वातावरणमा पशु गोठहरुसँग रमाउन पाउँदा तपाईँले समय बिताएकै थाहा पाउनुहुन्न । अझ समय समयमा फेरिने मौसमले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई जिस्काइरहेको हुन्छ ।
समथर भूभागमा रहेको जलजलामा फुलेका फूलले दृश्यलाई रोमाञ्चित मात्रै बनाएको हुँदैन । तपाईमा बेग्लै ऊर्जा पनि दिइरहेको हुन्छ । जलजला सामुन्द्रिक सतहबाट तीन हजार ४२० मिटर उचाईमा रहेको छ ।
तर पनि केही व्यक्तिलाई लेक लाग्ने समस्या पनि हुन सक्छ । यहाँबाट सिस्ने, धवलागिरी, अन्नपुर्ण, निलगिरी, मनास्लु, मानापाथी, पुथालगायत हिमाललाई आँखै अगाडिबाट नियाल्न सकिन्छ । अझ बिहान मौसम खुलेको बेलामा हिमालको कुनाबाट निस्कने घामले बेग्लै शक्ति दिइरहेको हुन्छ ।
यहाँ हिउँद याममा हिमाल र हिउँसँग रमाउन सकिन्छ । वर्षायाममा पशुगोठ, वनजङ्गल, पाटन, विभिन्न प्रजातीका फूलहरुसँग रमाउन सकिन्छ । यहाँ दशै तिहारको लामो विदामा आन्तरिकको पर्यटकको घुइचो नै लाग्ने गर्दछ । यसका साथै अन्य समयमा पनि पर्यटकको उपस्थिति राम्रो रहेको पाइन्छ ।
यस क्षेत्रमा हालसम्म राम्रो होमस्टे तथा होटल सञ्चालनमा आउन सकेको छैन । तर पर्यटकलाई लक्षित गरी स्थानीयले गोठबाटै सेवा दिएको छ । जहाँ स्थानीय परिकारहरु जस्तैः च्याउ, दूध, दही, आलु सागलगायतको परिकारहरु पाइन्छ ।
जलजलामा रमाइलो गरी एक दिन बसी यहाँबाट ढोरपाटनमा पनि जान सकिन्छ । ढोरपाटनमा घुम्न आउनेहरुको लागि जलजलालाई ‘भ्यु प्वाइन्ट’ को रुपमा पनि लिने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया