काठमाडौँ– नेपाली फिल्म इतिहासमा सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड कायम गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ ले आइतवारसम्म नेपालमा मात्र ३५ करोडभन्दा बढी व्यापार गरेको छ ।
यो कम बजेटमा बनेको नेपाली फिल्मले अपत्यारिलो पारामा हालसम्मकै सर्वाधिक व्यापार गरेको हो ।
रिलिजको १८ औँ दिनसम्म आइपुग्दा पनि फिल्म हलमा टिकट उत्तिकै विक्री भइरहेको छ भने अहिले पनि नेपालभर तीन सयभन्दा बढी पर्दामा प्रदर्शन भइरहेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमका अनुसार फिल्मले विदेशका सिनेमा हलमा पनि उत्तिकै आक्रामक व्यापार गरेको छ । विश्वभर राम्रो कमाइ गरेको यो फिल्मले ५० करोडको आँकडा पार्न गर्ने अनुमान गरिएको छ ।
लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १५ गते प्रदर्शनमा आएको यो फिल्मले पहिलो र दोस्रो दिन खासै व्यापार नगरे पनि त्यसपछि सामाजिक सञ्जालमा दर्शकको प्रतिक्रियाका आधारमा झनभन्दा झन् राम्रो व्यापार गरेको हो ।
फिल्म हेरेका दर्शकले शीर्ष भूमिका निभाएका अभिनेता विजय बरालको तारिफ गरेका छन् । फिल्मले सफलता मात्र पाएन, बरु घरेलु फिल्मको बजार कति ठूलो छ भन्ने पनि प्रष्ट पारेको छ । यसअघि विदेशी फिल्मको वर्चस्व हुने नेपालका मल्टिप्लेक्स हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ ले एकछत्र राज गरेको छ ।
दिपावलीको अवसर पारेर प्रदर्शनमा आएका दुई ठूला फिल्म ‘भुलभुलैया ३’ र ‘सिंघम अगेन’ लाई पनि पछाडि पारेको यो पहिलो फिल्म हो । जबकि, ठूला स्टार भएका विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मले शो नै नपाउने अवस्था थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ को आक्रामक व्यापारकै कारण गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ ले कम शो पाएको थियो । यही शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’ ले पनि कम शो पाउने निश्चित छ ।
यसअघि एकाध फिल्मलाई छाड्ने हो भने नेपाली फिल्मले बढीमा ५ करोडको हाराहारीमा व्यापार गर्ने गरेका थिए । फिल्म निर्माताले पनि नेपाली फिल्मका दर्शक नभएको भन्दै बेलाबेलामा गुनासो गर्दै आएका थिए ।
यो फिल्मले नेपालमा मात्र नभएर विदेशमा समेत दर्शकको मन जितेपछि स्तरीय फिल्मको बजार कति ठूलो छ भन्ने पनि प्रष्ट भएको छ । स्मरण रहोस्, यो फिल्म जम्मा १ करोड ३० लाखमा निर्माण भएको थियो । केही निर्माताले भने आफूले तीन करोडभन्दा बढी लगानी गरेको दाबी गर्ने गर्छन् तर फिल्मलाई नाफा कमाउन पनि मुस्किल पर्छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय बरालसहित अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपूत, माओत्से गुरुङ, विनोद न्यौपाने, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा आफ्ना छोरालाई सफल बनाउन बाबुले गरेको सङ्घर्षको कथा प्रस्तुत गरेको छ ।
यसअघि फिल्मको कथा चोरी भएको आरोप लागे पनि फिल्मप्रति दर्शकको क्रेज घटेको छैन । अझ रोचक पक्ष त के छ भने फिल्म रिलिजअघि निर्माण टिम र प्रकाश सपूतबीच केही विषयमा असहमति हुँदा प्रकाश सपूतले खुलेर समर्थन गरेका थिएनन् ।
पछि उनले जानी नजानी गल्ती गरेको भन्दै सामाजिक सञ्जालमा माफीसमेत मागेका थिए । फिल्म रिलिजअघि विजयको भन्दा प्रकाशको चर्चा बढी थियो किनकि विजयले पहिलोपटक कुनै फिल्ममा शीर्ष भूमिका निभाएका थिए ।
यो फिल्मको क्रेज यस्तो बनेको छ कि, बाबुले छोराछोरीका लागि गरेको सङ्घर्षको कथा बुझाउन पनि विद्यालयले विद्यार्थीलाई फिल्म हेर्न हलसम्म लैजान थालेका छन् । पछिल्लो पुस्ता उग्र बन्दै गइरहेका बेला निर्माण भएको यो सन्देशमूलक फिल्मले सामाजिक प्रभाव पनि उत्तिकै पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया