काठमाडौँ–नेपालमै पहिलो पटक नेपाली चिकित्सककै अगुवाइमा कलेजो प्रत्यारोपण गरिएको छ । यसअघि कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकले सघाउँदै आएकोमा अहिले भने नेपाली चिकित्सककै टोलीलाई यो सफलता मिलेको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा त्रिविका चिकित्सकहरुले टोलीले यो सफलता हात पारेको हो ।
डा.भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरूको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो ।
ती पुरुषलाई उनकी ४० वर्षीय श्रीमतीले कलेजो दान गरेकी थिइन् । कलेजो दिएकी महिला १० दिनमा डिस्चार्ज भइसकेको र प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार गरिने डा.भण्डारीले जानकारी दिए ।
भण्डारी अस्ट्रेलियाबाट कलेजो प्रत्यारोपण सम्बन्धी फेलोसिप गरेर फर्किएका चिकित्सक हुन । उनी फर्किएपछि नै त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि पूर्वाधार तयार पारिएको थियो ।
सबै पूर्वाधार तयार भएपछि १७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । अहिलेसम्म त्रिवि शिक्षण अस्पतालमा ११ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया