काठमाडौँ– समयकालीन समय र पुस्तालाई कुण्डलिनी विद्या र साधनाले के सिकाउँछ ? यो विद्या र यसको साधना भौतिकवादी दृष्टिकोणको चरम सीमाले विरक्तिएको आजको समकालीन समय र पुस्तालाई कति आवश्यक छ ?
यो प्रश्नको जवाफ प्रत्येक मान्छेहरुले आफैंभित्र खोज्ने हो भने आज मानसिक रुपमा तितरबितर भइरहेको पुस्ताले अध्यात्मको बाटो भेटेर शितलता छहारी प्राप्त गर्न सक्छन् भन्ने मान्यता राख्छन्, चित्रकार भिमप्रसाद शर्मा ।
शर्माका अनुसार कुण्डलिनी विद्या र यसको साधनालाई योप्य विद्याको रुपमा सीमित गरिएको अवस्था छ । परम्परागत रुपमा कुण्डलिनी विद्या र साधनालाई नैतिक आचरण, कडा अनुशासन र सामाजिक मान्यताहरुको परिधिहरुमा बाँधेर गोप्य राख्ने काम भयो ।
फलस्वरुप पूर्वीय दर्शनको गहिरो अध्ययन, अनुसन्धान, प्रयोग र साधना गरेर अभिलेखीकरण गरिएका वेद, गीता, उपनिषद् एवं अन्य महत्वपूर्ण पौराणिक ग्रन्थहरूमा सीमित रह्यो । ज–जसले यसलाई पुनः अध्ययन गरे उनीहरुको दायराभित्र मात्र कुण्डलिनी विद्या सीमित रह्यो । तर यसलाई परम्परागत परिधि र सीमानाभन्दा बाहिर ल्याएर आम मानिस र आजको पुस्ताको पहुँचमा पुर्याउनुपर्छ भन्ने ध्येयले चित्रकार शर्माले यसलाई क्यानभासमा चित्रकलाको फर्ममा ल्याएका छन् ।
नवलपरासी गैंडाकोटस्थित ‘गैंडाकोट प्रज्ञा ग्यालरी’मा कार्तिक २१ गतेदेखि ‘कुण्डलिनी’ शीर्षकमा शुरु गरिएको कला प्रदर्शनीमा झण्डै तीन वर्षको साधना पश्चात् तयार भएका शर्माका ३७ थान कलाकृतिहरु प्रदर्शन गरिएका छन् । शर्माको यो बाह्रौ एकल चित्रकला प्रदर्शनी हो । चित्र मार्फत नै शर्माले कुण्डलिनी विद्या र यसको साधनामा समेटिने मानव शरीरमा भएका सातवटा कुण्डलिनी चक्रहरू, तिनीहरूको प्रणाली, मानव चेतना प्रसारणमा यसको भूमिकाको सन्दर्भ र महिमाबारे चित्रण गरेका छन् ।
उनका अनुसार चित्र सिर्जनामा कुण्डलिनी विद्या र यसको साधनामा शास्त्रीय मान्यतासँगै समसामयिक सन्दर्भ र कथानक शैलीहरु समेत प्रतिबिम्वित भएका छन् ।
गैंडाकोटमै रहेर विगत चार दशकभन्दा लामो समयदेखि चित्र सिर्जना र यसको विस्तारका लागि निरन्तर रुपमा लागिपरेका शर्मा ज्योतिष विद्या र शास्त्रबारे समेत जानकार छन् । बुवा पण्डित जुक्तिवल्लभमा ज्योतिष विद्या भएकै कारण यस विद्याको सामिप्यतामा बाल्यकाल देखि नै उनी थिए ।
त्यसैभित्र कुण्डलिनी विद्याबारे उनले बृहत रुपमा अध्ययन तथा अनुसन्धान गरी कलामा स्वरुपमा ल्याएका हुन् । उनका अनुसार प्रदर्शनीमा विशेषत मानव शरीरमा रहेका सातैवटा उर्जा केन्द्रहरूको जागरणलाई समेट्ने जमर्को गरिएको छ । जसमा यसको प्रभाव र यसले गर्न सक्ने प्राज्ञिक क्षमतालाई समेत उनले देखाएका छन् । यसले मानव चेतनाको स्तरलाई उच्च विन्दुमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको ठहर छ । उनकै भनाइमा यो शारीरिक एवं मानसिक साधना हो ।
कुण्डलिनी जागरणको साधनाले मानवमा समर्पण, धैर्यता, आत्मविश्वास र अवधारणामा स्पष्टता ल्याउँछ । उनले कुण्डलिनी चक्रको साधनाका लागि आवश्यक प्राणायाम, ध्यान, मुद्रा, आसनहरू, सम्बन्धित मन्त्राक्षरहरू, रङ्गहरू, ज्यामितीय आकारहरू र तिनको प्रभाव, कमलपुष्पका पत्रहरुको संख्या, अवस्था र कारण आदिका बारेमा शास्त्रीय मान्यता अनुरुप नै चित्रहरुमा प्रस्तुत गरेका छन् ।
उनको सिर्जनाले कुण्डलिनी चक्रको साधना र विद्यालाई आम मान्छेले सहज र सरल रुपमा बुझोस् भन्ने उनी चाहन्छन् । किनकी यो योग विद्याकै एउटा विधा हो । कुण्डलिनी विद्या र यसको साधनाको लोकप्रियताकै कारण संयुक्त राष्ट्रसंघको महासभाले यसको अपरिहार्यतालाई स्वीकार गरिसकेको छ ।
राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवसको रुपमा समेत घोषणा गरिसकेको छ । शारीरिक तथा मानसिक रुपमा मानिसलाई सबल बनाएर मस्तिष्क र शरीरको सम्बन्ध सुमधुर बनाउने काम यसले गर्न सक्छ । त्यसकारण मानिसलाई आनन्दित, शान्तिपूर्ण, सुरक्षित, स्वस्थ, विश्वासिलो, प्रेमपूर्ण, सुखी र सृजनशील जीवनका लागि कुण्डलिनी विद्या र यसको साधना आजको समयमा अपरिहार्य देखिन्छ ।
यस प्रकारको साधनामा आफूलाई समाहित गर्न चाहने साधकहरुका लागि यो विषय खुला रहनुपर्छ भन्ने अभिप्रायले नै शर्माले चित्रको फर्ममा सहज तवरले बुझाउन चाहेका हुन् ।
‘बाहिर नल्याएर गोप्य रुपमा राखिएको यो विद्यालाई अब आम पब्लिकमा ल्याएर व्यापक बनाउनुपर्छ,’ शर्मा भन्छन्, ‘यसको नैतिक आचरण, लिमिटेसन र जटिलतालाई बाहिर ल्याउन सकेमा यसबारे बहस र छलफल हुन सक्छ ।’
जातीय, लैङ्गिक परिधिहरुभित्र समेत बाँधिएको यस विद्या र साधनालाई डरलाग्दो एवं जटिल प्रक्रियाको रुपमा गरिएको परिभाषाप्रति नै शर्मा सहमत छैनन् । यस विद्यालाई सरल रुपमा चित्र जस्तै अन्य माध्यममा समेत प्रयोगमा ल्याउनुपर्ने उनको तर्क छ । यसलाई सरल रुपमा बुझाउन सकेमा आजको आम युवालाई सामाजिक तथा व्यक्तिगत नैतिकता जगाउन सक्ने उनले सुनाए ।
‘यसलाई आत्मिय रुपमा स्वीकार गरेमा परिणाममुखी बनाउन सकिन्छ । युवा पुस्तामा त यो चाहिन्छ । मानव कल्याण र जगारणका लागि पनि यसको जरुरी छ,’ उनी भन्छन् । यसलाई शर्माले ‘कुण्डलिनी योग’ नामक पुस्तकमा समेत समेटेका छन् । जुन पुस्तक प्रदर्शनीको समापनको दिन सार्वजनिक गरिने शर्माले बताए ।
प्रदर्शनीबाट अग्रजदेखि नयाँ पुस्ताहरुबाट समेत उत्साहजनक उपस्थिति र प्रतिक्रिया आइरहेकोमा उनी निकै प्रशन्न छन् । आम मानिसमा यसप्रति देखिएको उत्साह र उत्सुकताकै कारण आगामी सिर्जना यात्राहरुमा समेत यसलाई निरन्तरता दिने उनले सोचेका छन् । गैंडाकोट नगरपालिको सहयोगमा गैंडाकोट नगर प्रतिष्ठान र कलावटी आर्ट काउन्सिलको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी मङ्सिर १२ गते सम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया