काठमाडौँ– मान्छे अनेक सम्बन्धका डोरीहरुमा यदि नबाँधिने हो भने उसको हृदयमा उब्जने संवेदना नै हुने थिएन । त्यही मानवीय हृदयमा संवेदना नै नभएपछि थाती कुरा के नै रह्यो र !
त्यसपछि मानव हुनु र उसको चोलाको के औचित्य ? यी सारहीन र शून्यवादी पक्षलाई अलग्लै राखेर यतिबेला रङ्गकर्मी केदार श्रेष्ठ भने मान्छेका सम्बन्ध र उसको संवेदनासँगै सहअस्तित्वको खोजी गर्दै नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ लिएर आम नाट्यप्रेमीहरु माझ आएका छन् ।
कार्तिक २४ गतेदेखि मङ्सिर १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकको परिकल्पना, लेखन तथा निर्देशन उनै रङ्गकर्मी श्रेष्ठले गरेका छन् ।
नाटक मार्फत सम्बन्ध र संवेदनाहरुमा सहअस्तित्वको खोजी गर्न श्रेष्ठले एक दम्पतीलाई उभ्याएका छन् । झट्ट समानान्तर दिल र दिमागले मनन गर्दा नाटकभित्र लामो समयदेखि सन्तानको चाहमा डुबिरहेको दम्पतीको कथा छ । जुन दाम्पत्य जीवनमा अथाह प्रेम, स्नेह, सद्भाव, समझदारी र सहअस्तित्वको चेत छ ।
त्यही प्रेमिल जीवनमा सन्तान सुख प्राप्त गर्ने क्षण आउनै लाग्दा ती दम्पती बच्चा र आमा एकजना मात्र रोज्नुपर्ने दोसाँधको स्थितिमा पुग्छन् । त्यसपछि रोजाइ कुनको हुन्छ र स्वनिर्णयको उपभोग कसले गर्ने त भन्ने कथाको स्वरुप खडा गरेर नाटकले सम्बन्धमा संवेदनाको गहिराइलाई उत्खनन गरेको छ । त्यसर्थमा नाटकमा घटनाप्रधान कथाभन्दा बढ्दा भावनात्मक अनूभूतिहरु आम दर्शकले महसूस गर्छन् ।
दम्पतीमा सन्तान किन भएन, कसरी भएन, पछि के कारणले भयो र गर्भावस्थाको जटिलताको दोषी को थियो भन्ने लम्बेतान घटनाको गहिराइतिर नाटकले गति लिएको छैन । सन्तान चाहनाभित्र दाम्पत्य जीवन मार्फत नै नाटकले टुक्रिँदै गइरहेको मानवीय सम्बन्धको जटिलताहरुलाई खोजेको छ ।
जुन खोजीलाई नाटक लेखक श्रेष्ठले मान्छेको मनको ढुकढुकीसँग तुलना गरेका छन् । मान्छेको मुटुको ढुकढुकीको औचित्य जति छ, त्यसकै तुलनामा स्थापित सम्बन्धहरुको अर्थ कति हुन्छ ? स्थापित जतिपनि सम्बन्धहरुलाई आत्मिय रुपमा संवेदनाहरुमा जोड्नलाई कति कठिनाइ छ र त्यसको महिमा के छ भन्ने पक्षलाई श्रेष्ठले संवादमा भरिएका शब्द मात्र होइन, त्यसको लय, अभिव्यक्ति, बिम्व, ध्वनि, प्रकाश, मञ्च र रङ्गहरुमा देखाएका छन् ।
अनि त्यसैमा उनले कलिला मुटु र लयहरुको जिज्ञासामा अर्को सम्बन्धको ढुकढुकी चित्रण गरेका छन् । त्यसै लहरमा भावनात्मक प्रेमिल सम्बन्धका डोरीहरु उनले बेस्सरी कसेका छन् ।
नाटकभित्र भावनात्मक सम्बन्धभित्र आएका दृश्यहरुलाई नै लेखक श्रेष्ठले नाटकको कथाको रुपमा मानेका छन् । उनकै भनाइ अनुसार नाटक सहअस्तित्वको खोजी गर्ने दुई पात्रहरुको कथा हो । नाटकमा सहअस्तित्वको खोजी गर्दै गर्दा उनले पात्रहरुमा स्वअस्तित्वको दावा भन्दा पनि त्यसमा सहअस्तित्वको स्वीकारले बन्ने सम्बन्धहरुमा जोड दिएका छन् ।
दम्पतीलाई एक अर्काको भौतिक अस्तित्वसँगै सन्तानलाई समेत अगाध प्रेम छ । महिला आफूलाई सृष्टिकर्ताका रुपमा सिद्धाएर सन्तानलाई उभ्याउन चाहन्छिन् । श्रीमतीप्रति अगाध प्रेम हुँदाहुँदै पनि पुरुष श्रीमतीको निर्णय विरुद्धमा छैनन् । जहाँ मानव शरीर र हृदयको स्वअस्तित्व, स्वअधिकार एवम् स्वनिर्णयको पक्षमा लेखक उभिएका छन् ।
समाजमा व्याप्त सामाजिक घटनाहरु भन्दा मान्छेको मनलाई खोज्नु उत्तिकै चुनौती र जटिलताहरु छन् । पुँजिवाद र भौतिकवादले जेलिएको समकालीन समयमा मानवीय सम्बन्धको गहिराइहरुसम्म पुग्ने धैर्यता आजको मान्छेहरुमा क्षिण बन्दै गएको छ ।
भौतिकवादी सोचमा सम्बन्धहरु केवल बजारिया तत्वसँग मिसिन पुगेका छन् । प्राकृतिक रुपमा बन्ने बाबुआमा र सन्तानको सम्बन्धलाई त उज्योलो लिएर अथ्र्याउनुपर्ने आजको समकालीन समयमा जीवनको आयामहरुमा बन्ने विवाहको कथामा सम्बन्धको गहिराइलाई खोतलखातल गर्ने हिम्मत लेखक श्रेष्ठले गरेका छन् । कथामा उनले खोतलखातल त पारे नै त्यसलाई दृश्य र बिम्वमा समेत उतारेर नाटकको स्वरुपमा ढाले ।
जुन उनको प्रयासले आम मान्छेको मनको ढुकढुकी छुने काम गरेको छ । लेखककै भनाइ अनुसार हृदयको सूक्ष्म आवाज मानव जीवनकै विशाल आयतन हो । उनले आम नाट्यप्रेमीहरुमाझ मनमटुसम्म छुने गरी जुन आयतनलाई मेगाहर्जका रुपमा प्रस्तुत गरेका छन् ।
नाटकमा शब्दभन्दा लय, लयभन्दा अभिव्यक्ति, त्योभन्दा कैयौं गुणा माथि दृश्यहरु छन् । दृश्यमा प्रयुक्त बिम्वात्मक प्रकाश होस् या ध्वनी, रङ्गहरुमा सम्बन्ध र संवेदनाका लहरहरु छन् । मञ्चको केन्द्रमा देखिएको अजङ्गको रुख नै नाटकका लागि मुटु हो ।
पुटुस्स फुलेको पेटसँगै हाँगाबिगामा फैलिएको रुखको संरचनाहरुमा नाटकले प्रतिकात्मक रुपमा महिला, सृष्टि र त्यसैमा जेलिएका मानवीय तथा भावनात्मक सम्बन्धहरु कोरेका छन् ।
तिनै रुखमा झुण्डिएका उज्यालो प्रकाश, रङ्गसँगै एकजोर सानो सेतो रङको जुताले कोमल, मुलायम र भावनामा बहेको सम्बन्धलाई देख्न सकिन्छ । प्रेमिल सम्बन्धमा जीवन्त रुपमा बाँचेका छन्, कलाकाहरु कार्म र मेनुका प्रधान । भलै यी दुवै जना नाटकका लागि पात्रको चरित्रलाई निर्वाह गरेका अभिनय कर्ममा छन्, तथापि दम्पतीबिचको प्रेम, स्नेह, नोकझोक र विरहको लयलाई दुवैले स्वीकार गरेर अभिनयमा डुबिदिएका छन् ।
रुख र मान्छेको सम्बन्धको सामिप्यता, अझै महिला सृष्टिको स्वरुपलाई ढालेर मञ्चिय स्वरुपमा ढालेर लेखक श्रेष्ठले गरेको परिकल्पनामा रुख आफैंमा बिम्व मात्र नभएर पात्र समेत हो । दुई पात्रलाई छोडेर एकैछिन रुखलाई मात्र नियाल्ने हो भने त्यहाँ अनेक चरित्र र सम्बन्धहरु आउँछन् । गर्भभित्र रहेको शिशु पनि आफैंमा एक पात्र हो ।
जसलाई निर्देशकले दर्शकको मनमा खडा गरिदिएका छन् । रुखकै आँडमा अस्पताल, स्टुडियो जस्ता सामाजिक संरचनाहरु छन् । निर्देशकीय रुपमा श्रेष्ठले नाटकलाई इन्स्टलेसन अर्थात् प्रतिस्थापन कलाको रुपमा परिभाषित गरेका छन् । पात्रले सिर्जना गरेको शब्द र शब्दले पनि सिर्जेको दृश्यसँगै बनेको इन्स्टलेसन कलाको रुपमा उनले नाटकलाई लिएका छन् ।
तथापि नाटकलाई इन्स्टलेसन कलाको जोडदार अवधारणाहरुले स्थापित गरेको दृश्य, शब्द र पात्रहरुका रुपमा लिन सकिन्छ । किनकी इन्स्टलेसन कलाको अस्तित्वलाई केलाउँदा यो दृश्य र शब्दभन्दा बढी अवधारणा हो । मान्छेको दिमागमा बनेको अवधारणाहरुले दृश्य, शब्द र पात्रहरुका रुपमा जब स्थान ओगट्छ, तब नै त्यसले प्रतिस्थापन अर्थात् इन्स्टलेसन कलाको स्वरुप लिन्छ ।
त्यस कारण पनि नाटकको मुख्य केन्द्र नै यहाँ इन्स्टलेसन कला हो । जुन कला शब्दहरु भन्दा शक्तिशाली दृश्य भाषामा उभिएको छ ।
सामाजिक जीवनको यथार्थ लयमा दम्पतीहरुको सम्बन्धलाई केलाउने हो भने नाटकमै जसरी त कमैमा नियाल्न पाइएला । वैवाहिक सम्बन्ध र विवाह भन्ने सामाजिक प्रक्रिया नै किन भन्ने प्रश्नहरु उठिरहेको आजको समकालीन परिवेशमा नाटकले सम्बन्धमा बाँचेको ढोंग गरिरहेका आम मान्छेप्रति व्यङ्ग्य गरेको त होइन ?
यदि यो पक्ष होइन भने आम मान्छेलाई सम्बन्धमा निभाउनुपर्ने दायित्य र सहअस्तित्वको पक्षप्रति नाटकले सचेत भने पक्कै गरेको छ । पात्रहरुले प्रयुक्त गरेका शब्दहरुमा साहित्यका लय, पात्रले रोजेको चित्र सिर्जनाको विधा आफैंमा कोमल सम्बन्धका गहिराइहरु छन् । जीवनको चेतन र अवचेतन मनहरुको असीमित अर्थहरुलाई खुट्याउँदै लेखकले पुरुष पात्रलाई अमूर्त चित्रका चित्रकारका रुपमा उभ्याइदिएका छन् ।
प्रत्येक मनहरुले अमूर्त कलामा खोज्ने छुट्टाछुट्टै अनुभूतिहरु जस्तै सबैका अनेकन भावनाहरु र सम्बन्धहरुको गहनतालाई श्रेष्ठले अमूर्त रङहरुमा दाँजेका छन् । मान्छेले जीवन बाँच्दै जाँदा सामाजिक यथास्थितितर्फ ऊ मोडिनु नै पर्छ । सामाजिक प्राणीको दर्जा लिन पनि उसले यथार्थवादलाई स्वीकार्नैपर्छ । यसलाई लेखक श्रेष्ठले मञ्चमा ठडिएको क्यानभासमा कोरिएको दम्पती र बच्चाको यथार्थवादी शैलीको चित्रमार्फत अथ्र्याएका छन् ।
भलै यो चित्रकलाकै स्वरुप भएपनि नाटकको बिम्व र अवधारणालाई हेर्दा अर्को शक्तिशाली इन्स्टलेसन कला हो । सङ्गीतका ध्वनी र बच्चाको स्वरुपलाई मल्टी मिडियाको प्रयोग मार्फत अझै नाटकले सम्बन्धको संवेदनालाई देखाएर आम दर्शकको ढुकढुकीलाई छुन सफल भएको छ ।
मञ्चमा
कार्म, मेनुका प्रधान
भित्री मञ्चमा
मनिष ब्याञ्जु, आभा प्रधान
मञ्च परिकल्पना: केदार श्रेष्ठ
सहायक निर्देशक/मञ्च व्यवस्थापक: मनिष ब्याञ्जु
मञ्च कला निर्देशक: उमेश चौधरी
प्रकाश परिकल्पना: घनश्याम श्रेष्ठ
ध्वनी परिचालन: आरती गौतम
सङ्गीत: पारसमणि सुवेदी
गायन: स्मारिका फुँयाल
भेषभुषा परिकल्पना: रमिला नेम्कुल
नाटक निर्माता: दयाहाङ राई
आवरण कला: अनामिका गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया