काठमाडौँ– शनिवारीय प्रत्यक्ष कला कार्यशाला होस् या ललितकलाका अनेकन गतिविधिहरुमा सक्रिय भएर लागिपर्ने कला साधकका रुपमा राकेशचन्द्र श्रेष्ठले आफूलाई अब्बल रुपमा साबित गरेका थिए ।
कला क्षेत्रकै अग्रणी र सहकर्मी कलाकारहरुका अनुसार कलालाई सिर्जना मात्र होइन सामुहिक तथा साङ्गठनिक रुपमा समेत अगाडि लगेमा मात्र कला क्षेत्रले लामो बाटो तय गर्न सक्छ भन्ने चेत बोकेर हिँड्ने साधकमध्ये श्रेष्ठ पनि एक थिए ।
उनले कलालाई आम मानिसमाझ पुर्याउन संस्थागत रुपमा समेत उत्तिकै पहल गरिरहेका थिए भने सिर्जना कर्ममा समेत उत्तिकै सक्रिय थिए । राजधानीभित्र मात्र होइन बाहिर पनि उनको सक्रियता र दौडधुप थियो । तिनै कला साधक श्रेष्ठ सिर्जनाको आधा अध्याय छोडेर सधैंका लागि अस्ताएका छन् ।
पारिवारिक स्रोतका अनुसार असोज नौ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएको उनको कार्तिक १५ गते वीर अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको हो । काठमाडौं सानेपास्थित गुसिङ्गाल स्थायी निवासी उनको जन्म २०२४ सालमा भएको थियो ।
उनको निधनले समग्र कला क्षेत्रलाई नै खति भएको सुनाउँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दुःख व्यक्त गरे । कला सर्जकको खति हुनु समग्र सिर्जना क्षेत्रकै खतिका रुपमा उनले लिए ।
मंगलबार नक्सालस्थित प्रतिष्ठानमा श्रेष्ठको १३ औं दिनको पुण्यथितिमा प्रतिष्ठान, स्याटर्डे प्लेन एयर, न्यूरो आर्ट नेपाल, आर्ट नेपाल, अल्कोहल इन्क आर्ट कम्युनिटी नेपाललगायत संस्थाहरुले श्रद्धाञ्जली सभा गरेका थिए । सभामा उपस्थिति कलाकारहरुले श्रेष्ठको निधनले समग्र कला क्षेत्रले नै होनहार, लगनशील, मिलनसार, अनुशासित, मिहिनती र ऊर्जाशील सर्जक गुमाएको सुनाउँदै शोक व्यक्त गरे ।
श्रेष्ठ विद्यार्थी जीवनकाल देखि नै कला सिर्जना र कला विस्तारको नेतृत्वमा समेत अब्बल र सक्रिय रहेको अग्रज कलाकारहरुले सुनाए । ललितकला क्याम्पसमा आफ्नो विद्यार्थीका रुपमा पढाएका अग्रज कलाकार विपिन घिमिरेले श्रेष्ठलाई अनुशासित र आफ्नो जिम्मेवारी पूरा गर्न हर तरहले लागिपर्ने कला सर्जकका रुपमा स्मरण गरे ।
व्यक्तिगत र संस्थागत दुवै हिसाबमा हेर्दा कला क्षेत्रमा उनले पुर्याएको योगदान निकै सराहनीय र सम्झन लायक रहेको उनले सुनाए ।
श्रेष्ठ स्याटर्डे प्लेन एयर वर्कशप (शनिवारीय प्रत्यक्ष कला कार्यशाला) अभियानका संस्थापक र कार्यकारी प्रमुख समेत हुन् । सन् २०१८ देखि शुरु भएको अभियानमा उनीसँगै कलाकार दिवेश प्रधान, दीपेन्द्र बनेपाली, विक्रम प्रजापति, प्रकाश मानन्धर लगायतका कलाकार समेत थिए । उनीहरुले यस अभियान अन्तर्गत प्रत्येक हप्ताको शनिबार विशेषगरी सांस्कृतिक सम्पदा क्षेत्रमा पुगेर प्रत्यक्ष रुपमा विभिन्न सम्पदाहरुलाई कलामा उतार्दै आएका थिए ।
कलालाई आम मान्छेको पहुँचमा पुर्याएर कला मार्फत नै सम्पदाको चिनारी दिने ध्येय अभियानले राखेको थियो । यो अभियान राजधानीभित्र नभएर रसुवा र हेटौँडासम्म पनि कला यात्राकै रुपमा पुगेको थियो । यस क्रममा श्रष्ठले सिर्जना गरेका थुप्रै कलाकृतिहरु छन् । यी सबै कला गतिविधिहरुमा श्रेष्ठले मार्गनिर्देशकको भूमिका निर्वाह गरेको अभियानका सचिव तथा कलाकार प्रधानले सुनाउँदै उनीप्रति श्रद्धा भाव अर्पण गरे ।
‘उहाँको निधन भएपछि हामी त टुहुरा र अनाथ भएका छौं,’ उनले भने, ‘हाम्रो अभियानदेखि हेटौंडा कला महोत्सवसम्म पनि उहाँको अभिभावकत्व थियो । सिर्जनामा मात्र होइन हरेक कार्यक्रम, अभियान र व्यवस्थापन, प्राविधिक पक्षमा समेत उहाँको साथ र सहकार्य थियो ।’
लामो समयको चिनजानीसँगै विगत ६ वर्षदेखि सँगसँगै सहकार्य गरेको दिनहरुलाई स्मरण गर्दै प्रधानले उनलाई कर्मयोगी सर्जकका रुपमा सम्झिए । ‘भावनात्मक रुपमा समेत उहाँको साथ निकै रह्यो । सधैं भुइँमान्छेकै रुपमा उहाँले कला सिर्जना र क्षेत्रलाई अगाडि बढाउनुभयो,’ उनले भने ।
श्रेष्ठ विद्यार्थी जीवनकालदेखि नै राजनीतिक जीवनमा समेत सक्रिय थिए । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) समेत आवद्ध उनले उपसभापति हुँदै काेषाध्यक्षसम्मकाे जिम्मेवारी निर्वाह गरे । कला विस्तारमा समेत राजनीतिक चेत चाहिन्छ भन्ने सोच उनले राखेकाे उनलाई नजिकैबाट नियालेका कलाकारहरुले सुनाए । त्यसकारण उनी कलाको विस्तारका लागि संस्थागत रुपमा समेत सक्रिय रहे ।
राष्ट्रिय ललितकला संघ नेपालका उनी केन्द्रीय सदस्य थिए र भने न्यूरो आर्ट नेपाल संस्थाका संस्थापक सदस्य समेत थिए । प्रतिष्ठानका चित्रकला विभाग प्रमुख तथा कलाकार सञ्जय बान्तवाले श्रेष्ठलाई कला सर्जक मात्र नभएर कला विकासका लागि लागेका अभियन्ताका रुपमा सम्झिए । उनको जीवनकालमा भएका सिर्जना र उनको सक्रियताको कदर गर्दै त्यसलाई सम्मान स्वरुप अगाडि लैजानपर्ने धारणा उनले राखे ।
प्रतिष्ठानले ६० वर्ष मुनिका दीवंगत कलाकारहरुको कलाकृतिहरु समेटेर कला प्रदर्शनी गर्ने परियोजनामा श्रेष्ठलाई समेत समेट्ने बान्तवा र कुलपति हार्तम्छालीले बताए । शनिवारीय प्रत्यक्ष कला कार्यशाला समूहले पनि श्रेष्ठको सम्मान स्वरुप उनको योगदानको कदर गर्दै ४५ दिनको पुण्य तिथिमा उनको स्मृतिमा शनिवारीय प्रत्यक्ष कला कार्यशाला गर्ने तयारी रहेको कलाकार बनेपाली र प्रधानले सुनाए ।
श्रेष्ठकै नेतृत्व र भूमिकाले शनिवारीय प्रत्यक्ष कला अभियानले लामो यात्रा तय गरेको सुनाउँदै कलाकार बनेपालीले भने, ‘उहाँकै जिद्धीपना र राम्रो जिम्मेवारी लिने कार्यशैलीले निकै राम्रो काम भएको छ । एकजना राम्रो सहयोगी गुमाउँदा हामीले हातै काटिएको महसूस गरेका छौं ।’ श्रेष्ठकै स्मृतिमा पाटनढोका चाकुपाटस्थित एम क्युब ग्यालरीमा समग्र कलाकारहरुको कला प्रदर्शनी गरेर आएको रकमले अक्षयकोष समेत स्थापना गर्ने उनले सभामा सुनाए ।
उनका अनुसार अक्षयकोषले प्रत्येक कलाकारहरुलाई आकश्मिक समयमा सहायता मिल्नेछ । संस्थागत रुपमा कलाकारका लागि गरिने हरेक कार्यका लागि प्रतिष्ठान सहकार्य गर्न तत्पर रहेको कुलपति हार्तम्छालीले प्रतिबद्धता जनाए ।
सभामा अग्रज कलाकार तथा प्रतिष्ठानका निवर्तमान कुलपति केके कर्माचार्य, कलाकार तथा प्राज्ञ सौरगंगा दर्शनधारी लगायतकाले श्रेष्ठको स्मरण गर्दै उनीप्रति श्रद्धा भाव व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया