काठमाडौं – टमाटर र दहीको समिश्रणलाई नौनीमा विभिन्न मसाला हालेर पकाइने स्वादिस्ट परिकार बटर चिकेन मांसाहारीहरुको जिब्रोमा झुण्डिएको परिकार हो । रेष्टुरेन्टको मेनुदेखि पारिवारिक भोजनमा मनपर्ने सुचीमा रहने यस परिकार अहिले जटिल मुद्दाको विषय बनेको छ ।
बटर चिकेनको उत्पत्तिलाई लिएर दिल्लीको उच्च अदालतमा गत साता मुद्दा परेको हो । रेष्टुरेन्ट व्यवसायमा आवद्ध दुई परिवारले बटर चिकेनमा आ-आफ्नो दाबी पेश गरेसँगै विषय सुल्झाउनका निम्ति अदालतमा मुद्दा परेको हो ।
बटर चिकेन सन् १९४७ मा स्थापना गरिएको मोती महल रेस्टुरेन्टमा बनेको भन्दै त्यसका संस्थापक कुन्दलाल गुजरालले आफ्ना प्रतिस्पर्धी द्रयगंजविरुद्ध मुद्दा हालेका छन् । द्रयगञ्जले जबरजस्ती बटर चिकेन आफूले पहिले बनाएको झुटो दाबी गरेको भन्दै गुजरालले २ लाख ४० हजार डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
दाल मखनी पहिले आफूले बनाएको द्रयगञ्जको जिकिर पनि झूटो रहेको गुजराल परिवारको जिकिर छ । दिल्लीमा अहिले मोती महलको धेरै फ्रेन्चाइज स्टोर छन् । यद्यपि बटर चिकेनको सवाल भने मोती महलका मोखा सिंहसँग जोडिन्छ ।
पाकिस्तान भारतबाट छुट्टिनुअघि मोती महल पाकिस्तानको पेशावरमा रहेको सेफ तथा लेखक सद्दाफ हुसेनको भनाइ छ । सन् १९४७ मा हिन्दुहरु पेशावर छाडेर दिल्ली आएपछि कुन्दनलाल गुजराल, कुन्दललाल जग्गी र ठाकुर दास मेगोले सिंहलाई दिल्लीमा मोती महल खोल्न मनाएको हुसेनले बताएका छन् । द्रयगञ्जको गल्लीमा सानो पसलमा पहिलोपटक बटर चिकेन बनेको उनको भनाइ छ ।
सानो रेस्टुरेन्टमा पाक्ने बटर चिकेनका नियमित सेवनकर्ता थिए भारतका पहिला प्रधानमन्त्री जवहरलाल नेहरु । मोतीमहलको बटर चिकेन व्यापारको सफलताको श्रेय कुन्दन लाल गुजरालाई दिइएको थियो । सन् १९६० मा उनको निधन भएसँगै परिस्थितिमा बदलाव आयो । उनको निधनपछि गुजराल परिवारमा वित्तीय संकट आयो । त्यसपछि त्यस परिवारले रेष्टुरेन्ट भाडामा दिने निर्णय गर्यो । त्यसको केही वर्षपछि गुजराल परिवारले छुट्टै चेन सुरु गरे मोती महल डिलक्स । मोती महल डिलक्सको शाखा सहरमा फेलिन थाल्यो ।
सन् २०१९ मा त्यहाँ अर्को विवाद सुरु भयो । कुन्दन लाल जग्गीका नातीले द्रयगञ्ज नामक चेन रेष्टुरेन्ट सुरु गरे । उनले बटर चिकेन र दाल मखनीको ट्रेडमार्क दर्ता गरे । जग्गीका नातीका अनुसार रेष्टुरेन्टको भान्सा आफ्नो हजुरबुवाले हेर्ने भएकाले गजुराल परिवारलाई त्यसको श्रेय जानै सक्दैन।
गुजरालको परिवारले जग्गीका नातीको जिकिर स्वीकार गरेनन् । यता गुजराल परिवारले भने जग्गीले केही भूमिका निर्वाह नगरेकाले उनलाई श्रेय दिन नमिल्ने जिकिर गरेको छ । अदालतले अब दुई परिवारबीचको यो विवादमा फैसला दिनुपर्ने भएको छ । ‘कसैको पनि विरासत कसैले जबर्जस्ती खोस्न मिल्दैन’, कुन्दनलाल गुजरालले भने ।
खानेकुराको ट्रेडमार्कलाई लिएर भएको यो विवाद पहिलो भने होइन । यसअघि लालमोहनको विषयमा भारतको दुई राज्य ओडिसा र पश्चिम बंगालबीच विवाद भएको थियो । खानेकुरा निकै लोकप्रिय बन्दै गएसँगै त्यसको पहिलो सर्जक भुल्नु सामान्यझैँ भएको सेफ हुसेन बताउँछन् । ‘मसला डोसा पहिले कसले बनायो भन्ने कुरा अहिले थाहा छैन । तर यसको श्रेय धेरैले वुडलेड रेष्टुरेन्टलाई दिने गर्छन्’, उनले भने ।
खानेकुराको उत्पत्ति ठ्याक्कै कुन मुलुकमा भयो भन्न निकै कठिन हुने हुसेनको भनाइ छ । बेलायतको उदाहरण दिँदै उनी भन्छन्, ‘चिकेन टिक्का पाकिस्तानबाट आएको बेलायतीहरु विश्वास गर्छन् । यद्यपि बंगलादेशबाट चिकेन टिक्काको रेसिपी ल्याइएको हो ।’ अहिले बटर चिकेनको लागि भएको मुद्दा मामिला पनि त्यति सान्दर्भिक नरहेको उनको भनाइ छ । ‘पहिले कसले बनायो भन्दा पनि स्वादिष्ट कसले बनाउँछ भन्ने जमानामा यसको विवाद सान्दर्भिक छैन’, हुसेन भन्छन् ।
यस मुद्दामा मानिसहरुको बयान र परिस्थितिजन्य प्रमाणका आधारमा फैसला हुने कानुन व्यवसायीहरु बताउँछन् । मुद्दा हालेपनि दुबैपक्ष जित हार जे भए पनि आफ्नो रेष्टुरेन्टको व्यापारमा कुनै असर नपर्नेमा विश्वस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया