मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कलाकारलाई तारिफ मात्र चाहिएको हो?

कसैले विरोध गर्‍यो कि ‘साइबर सेना’ को आरोप

काठमाडौँ– पछिल्लो समय रजतपटमा एकपछि अर्को फिल्मले सुखद् व्यापार गरिरहेका छन् । यसको एउटा कारण सामाजिक सञ्जाल प्रयोगकर्ताको सक्रियता पनि हो ।

गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को सामाजिक सञ्जालमा व्यापक बहस भयो । फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालकै माध्यमबाट आफूलाई लागेको प्रतिक्रिया दिए । त्यसका आधारमा अरु दर्शक पनि हलसम्म पुगे । दशैँमा रिलिज भएका फिल्मको आक्रामक व्यापार हुँदा फिल्म क्षेत्रमा पनि उत्सव छायो ।

यतिबेला हलमा प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार पनि उस्तै उम्दा छ । सामाजिक सञ्जालमा पनि फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । शुरुमा खासै अकुपेन्सी नदेखिए पनि रिलिजको पहिलो हप्तामै फिल्मले धमाकेदार व्यापार गरिरहेको छ ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको सकारात्मक पाटोको मात्र चर्चा गर्दैनन् । उनीहरुले फिल्ममा नराम्रो लागेको पक्षको पनि खुलेरै बहस गर्छन् । यसरी बहस गर्दा कतिपय मेकरले आफ्नो फिल्मको विरोध गरेको हिसाबले बुझ्ने गरेका छन् ।

यसअघि ‘छक्का पञ्जा ५’ कै प्रदर्शनका बेला अभिनेता दीपकराज गिरीले आफ्नो फिल्म ‘साइबर आक्रमण’ मा परेको बताएका थिए । उनले आफ्नो फिल्मलाई तल पार्नका लागि कसैले साइबर सेना लगाएको आरोप लगाएका थिए ।

साइबर सेनाको प्रयोग गरिएको विषयमा दीपकराज गिरी र अर्का निर्माता सन्तोष सेनबीच जुहारी नै चलेको थियो । गिरीको टीमले ‘१२ गाउँ’ टीमले साइबर सेना प्रयोग गरेको अनुमान गरेको थियो भने ‘१२ गाउँ’ टीमले भने आफूले त्यस्तो नगरेको बताएको थियो ।

केही समयअघि अभिनेता दयाहाङ राईका सबै फिल्म उस्तै भएको भन्दै दर्शकले प्रतिक्रिया दिँदा कतिपयले ‘जातीय मुद्दा’ जोडेर दयाहाङलाई गिराउन खोजेको आरोप लगाएका थिए । यद्यपि दयाहाङले भने आजका दिनसम्म त्यसरी खण्डन गरेका छैनन् । बरु उनले ती आरोपलाई सामान्य लिएका छन् ।

केही समयअघि अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा आफूले गाली खाएको र आफ्ना विरुद्ध दुष्मनहरु खनिएको दाबी गरेकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा एकले अर्कालाई गाली गर्नु सामान्य जस्तै भए पनि पछिल्लो समय भने यसलाई ‘साइबर सेना’ को संज्ञा दिन थालिएको छ । राजनीतिक क्षेत्रमा साइबर सेना केही वर्षअघिबाटै चर्चित भए पनि फिल्म क्षेत्रमा भने यो धेरै नयाँ होइन ।

हालै फिल्म ‘ह्रस्व दीर्घ’ की निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गानाले पनि ‘आफूलाई नराम्रो बनाउने काम भइरहेको’ दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘थाहा छैन उनी को हुन् तर लक प्रोफाइल, विना प्रोफाइल पिक्चर र शून्य अपडेट भएकाले आजकल कमेन्ट गरिरहेका छन्, यी पहिचान नभएका व्यक्तिहरुसँग सचेत रहनुहोस्, मलाई नराम्रो बनाउने काम भइरहेको छ ।’

नेपाली कलाकार दर्शकले सेल्फी खिच्दा हौसिने तर कसैले अभिनय र फिल्ममा चित्त नबुझेर प्रतिक्रिया दियो भने ‘साइबर सेना’ को संज्ञा दिने ट्रेण्ड भने नेपाली फिल्म उद्योगमा स्थापित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?