मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

३८ वर्षदेखि पौभाकला सिर्जना गरिरहेका सिंख्वाल भन्छन्, ‘राज्यले अझै पौभाकला चिनेकै छैन’

काठमाडौँ– यतिबेला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा कलाकार सुन्दर सिंख्वाल आफ्ना दुई दर्जनभन्दा बढी कलाकृतिहरु ल्याएर आएका छन् । साढे तीन दशकभन्दा लामो कला साधनामा सिंख्वालले एकल रुपमा आम कलाकप्रेमीहरुमाझ प्रदर्शन गरेको यो पहिलो प्रदर्शनी हो ।

आफ्नो लामो समयको कला साधनाबाट जन्माएका कलाकृतिहरुको प्रदर्शनीको नाम नै उनले ‘साधना’ राखेका छन् ।  

पौभाकला सिर्जनामा बिताएका ३८ वर्षका प्रत्येक दिन कलाकार सुन्दर सिंख्वालका लागि सहज छैनन् । सिर्जनाका लागि गरिएका सङ्घर्ष र साधनाहरु अझै उनको स्मरणहरुमा ताजै छन् ।

कला सिर्जनाका लागि उनले गरेको सङ्घर्षकै कारण आर्थिक रुपमा अहिले उनलाई केही सहज छ, तथापि पौभाकलामा गर्नुपर्ने कठिन साधना त यथावत नै छ । पौभाकलामा उनले गरेको लामो साधना र तपस्याका कारण आज उनी नेपालको परम्परागत पौभाकलाका सिद्धहस्त कलाकारका रुपमा गनिन्छन् ।

उनका पौभाकला सिर्जनाहरु आज लाखौं रुपैयाँ मुल्यमा बिक्री हुन्छन् । देशले मात्र होइन, उनका कलाकृतिहरु परदेशका थुप्रै मुलुकहरुले नियालेका छन् । यस मानेमा उनी आफूलाई पौभाकलाका स्रष्टाका रुपमा गर्व महसूस गर्छन् ।

जसरी उनी जस्ता सयौं कलाकारहरुले देशको मौलिक कलाका स्रष्टाका रुपमा गर्वानुभूति गर्छन्, त्यसरी नै राज्यको मुख्य नेतृत्व तहले बेवास्ता गरेकोमा भने उनको चित्त दुखाइ छ ।

उनको चित्त दुखाइ आफू कला सिर्जनाकै सिलसिलामा सहभागी हुने धेरैजसो ठाउँमा हुन्छ । कला गतिविधि र सिर्जनाकै क्रममा उनी एकपटक नयाँ दिल्लीस्थित रहेको नेपाली दूतावासमा पुगे ।

त्यहाँ उनले समकालीन तथा आधुनिक कलाहरु झुन्डिएको देखे तर देशकै मौलिक परम्परागत पौभा कलाकृतिहरु देखेनन् । त्यसबारे जिज्ञासा राख्दा कलाकार स्वयम्ले ल्याएर दिएमात्र त्यहाँ राखिदिने त्यहाँ रहेका पदाधिकारीहरुले बताइरहँदा उनलाई निकै दुःख लाग्यो ।

उनी सम्बन्धित निकायलाई प्रश्न गर्छन्, ‘हामी त सिर्जना गर्ने मान्छे । हाम्रो कला त राज्यले चिनाउनुपर्ने हो । कला चिनाउनकै लागि कति ठाउँमा बोकेर हिँड्नु ?’

सदिऔंदेखि सिर्जना भइआएको पौभाकलालाई राज्यले भन्दा कला सिर्जना सर्जकहरुले यहाँसम्म ल्याइपुर्‍याएको उनको भनाइ छ । हिन्दु तथा बौद्ध धर्म शास्त्र र दर्शनलाई मिहिन रुपमा उठान गर्ने नेपालको पौभाकला देश तथा विदेशी भूमिमा पुगेका छन् ।

उनका अनुसार धेरैजसो पौभाकलाहरु विदेशीहरुले खरिद गरिदिँदा नेपालका कलाकारहरु सिर्जनामा बाँच्न सकेका छन् । कलाका सर्जकहरुले पौभा कलालाई बचाएर मात्र आफू बाँचेका छन् । आज विश्वका कुना कुनामा पौभाकलाको फैलावटको श्रेय कलाकारहरुलाई नै दिनुपर्ने सिंख्वाल सुनाउँछन् ।

नेपालमा पौभाकलाको प्रारम्भिक इतिहासलाई केलाउने हो भने यसमा बुद्धकालीन समय जोडिन्छ । बुद्ध दर्शनको अध्यात्म र दर्शक जोडिएको सिर्जना भएका पौभाकलाका पौराणिक एवम् शास्त्रीय मान्यताहरुले पुष्टि गर्छ । पौभा कलाका साधकहरु यसलाई धर्म, संस्कृति र जीवनपद्धतिलाई जीवन्त राख्ने साधनका रुपमा मान्छन् । यसले बौद्ध र हिन्दु धर्म, दर्शन तथा शास्त्रका शाश्वत पक्षलाई चित्रमार्फत प्रस्तुत गर्छ ।

विभिन्न लेख तथा अनुसन्धानहरुलाई आधार मान्ने हो भने ११ औं देखि १४ शताब्दीसम्मका पौभाकलाहरुको ऐतिहासिक दस्तावेज उपलब्ध भएको पौभाकलाका कलाकारहरु बताउँछन् ।

वि.सं.२०२५ साल भदौ १२ गते बुवा रत्नलाल र आमा कान्छी सिंख्वालको माइलो छोराको रुपमा भक्तपुर, गाहितीमा जन्मेका सिंख्यालले १८ वर्षको उमेरमा औपचारिक कलायात्रा थालनी गरे । घरको आर्थिक भारलाई भरथेग गर्ने मेसोले नै उनले पौभाकला कोर्न सिकेका थिए ।

बाल्यकालमा चित्र सिर्जनामा रुचि भएकै कारण उनी विद्यालयमा हुने चित्रकला प्रतियोगीतामा समेत सहभागी हुन्थे । तर औपचारिक रुपमा भने उनले २०४३ सालदेखि अग्रज पौभाकलाका कलाकार पूर्णप्रसाद ह्योजुको शिष्यका रुपमा कला सिर्जना थालनी गरे ।

उनका अनुसार त्यतिबेला उनले कला सिर्जनालाई पेशाका रुपमा हेरेका थिए । कलाकार ह्योजुले पौभाकलाबाट राम्रो कमाइ गरिरहेकै कारण उनकी आमाले कलाकार सिंख्वालकी आमालाई आफ्नो छोरासँग पौभाकला सिक्न पठाउन सल्लाह र सुझाव दिएकी थिइन् । चित्र कोर्न सिक्नका लागि गएका सिंख्वाललाई ह्योजुले शिष्यका रुपमा स्वीकार गरे ।

शुरुवाती समयमा उनले गुरुले बनाएको चित्रहरु नै मिलाउने काम गरे । त्यसरी मिलाउने क्रममा नै गुरुले दिएको एक सय रुपैयाँ अझै उनलाई स्मरणमा छ । शुरुमा उनले ‘चक्रसम्वर,’ ‘बज्रयोगिनी’ जस्ता साना आकारका पौभा चित्रहरु बनाए ।

झण्डै एक वर्षपछि उनले बनाएको ‘लोकेश्वर’को चित्रबाट भने सात सय रुपैयाँ पाए । आज चित्र बिक्रीबाट आएको लाखौं रुपैयाँभन्दा शुरुवाती दिनको थोरै मुल्य भएपनि उनलाई अझै मूल्यवान लाग्छ ।

गुरुसँग १५ महिनाकाे सिकाइपछि भने उनले आफैंले घरमा बसेर पौभा चित्र बनाउन थाले र दाई, भाइ लगायत परिवारका सदस्यहरुलाई समेत सिकाए । त्यसपछि भने उनी व्यावसायिक रुपमै पौभा कला सिर्जनामा लागे । शुरुकाे दुई/ तीन वर्ष भने उनलाई निकै कठिन भयाे । र पनि उनी गुरुकाे मार्गनिर्देशनलाई आधार बनाएर अगाडि बढिरहे । उनले आधुनिक कलाका कलाकार सृजनकुमार राजभण्डारीसँग पनि छ महिना तेल रङ्गको चित्रकला कोर्न सिके । यसले उनको सिर्जनामा अझै निखारता ल्यायो ।

शुरुवातमा पौभाकलाबारे उनी अन्जान थिए । यसबारे केही पक्षको जानकारी बिना नै उनी यसमा प्रवेश गरेका थिए । ५० को दशकपछि भने उनी सार्वजनिक रुपमा नै अगाडि आए ।

शुरुमा उनले २०५१/०५२ सालतिर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको जन्मोत्सवको अवसरमा नेपाल ललितकला संस्था(नाफा)को आयोजना गरेको कला प्रदर्शनीमा सहभागी भए । २०५३ सालमा भने उनले सान्त्वना पुरस्कार पाए । त्यसपछि भने उनलाई आफू कलाकार रहेको महसूस भयो ।

उनले भने, ‘पुरस्कार नै पाएपछि मलाई म आर्टिस पनि रहेछु भन्ने भयो । मैले गरिरहेको काम आर्थिक पक्षबाट मात्र होइन, कलाकारको रुपमा मेरो जिम्मेवारी पनि छ भन्ने भयो ।’

त्यसपछिका दिनहरुमा उनले एकजना कला सर्जकका रुपमा सिर्जना शुरु गरे र त्यो सिर्जनाक्रम हालसम्म जारी छ ।

देवताको चित्र बनाउने भएकोले उनी कला सिर्जनालाई ध्यान, तपस्याकै रुपमा लिन्छन् । उनका लागि पौभा चित्र कोर्न बस्नु ध्यान साधनामा बसेजस्तै हो । दिनको आठ/नौ घण्टासम्म एक्लै कोठामा बसेर चित्र कोर्नु उनी साधना नै मान्छन् । पौभाकलामा उनी आधुनिकताको केही छनक पनि दिन खोन्छन् । यद्यपि पौभामा कलाकारको स्वतन्त्र अभिव्यक्तिभन्दा शास्त्रीय नियमम र विषयवस्तुमा हिँड्न जरुरी छ भन्ने कुरामा समेत उनी सजक छन् ।

पौभाकलाको मूल दर्शन र देवताको स्वरुपलाई आधुनिकताको नाममा बिगार्न पाइँदैन भन्ने कुरामा उनी पनि सहमत छन् ।

हालसम्ममा उनले साँढे तीन सय भन्दा बढी पौभाचित्रहरु बनाइसके । तर ती चित्रहरु बिक्री भएर कता कता पुगे उनलाई पत्तो छैन । अहिले प्रदर्शनीमा भएका चित्रहरु पनि कोभिड महामारीको समयमा बनेर संकलन भएका कलाकृतिहरु हुन् ।

आफूलाई बनाएका सिर्जनाहरु सबै संकलन गरेर सङ्ग्रह गरुँ भनेर उनले मनले नसोचेको होइन । तर यसमा कलाकारको आर्थिक स्थितिले पनि प्रभाव पार्ने उनको बुझाइ छ ।

‘कलाकारहरुले बनाएको आर्ट होल्ड गरेर राख्ने अवस्था यहाँ छैन । यसलाई हामीले पेशागत रुपमा लिएर बिक्री गर्नैपर्छ । कतिपय पेन्टिङहरु बिक्री भएर जाँदा साह्रै चित्त दुख्छ,’ उनले सुनाए ।

अहिलको कलाको बजार माहोल हेर्दा कलाकारको सिर्जनाहरु सिधै कलाप्रेमीहरुमाझ भन्दा पनि कलालाई व्यापारका रुपमा अगाडि बढाइरहेकाहरुको हातमा पुगिन्छ । यो अवस्थाले सच्चा सर्जक र कलाको मुल्य कुनै ठाउँमा अवमूल्यन भइरहेको उनले कैयौं पटक अनुभव गरेका छन् । यसको सहजीकरणमा सरकारले दायित्व दिनुपर्ने उनको ठम्याइ छ ।

पौभाकलाबाट नै उनी आर्थिक मात्र नभएर सामाजिक रुपमा समेत माथि उठेका छन् । यहि सिर्जनाबाट पाएको सम्मानबाट उनी सन्तुष्ट छन् । पौभाकलालाई साधनाको रुपमा अगाडि बढाएर यसैमा लाग्नेहरुलाई आर्थिक रुपमा अहिले कठिनाइ नरहेको उनको भनाइ छ । त्यसकारण नयाँ पुस्तालाई पौभाकलाको मौलिक मर्म र दर्शनलाई बुझेर साधनाका रुपमा लिएर अगाडि बढ्न उनको आग्रह छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?