काठमाडौँ- पछिल्लो समय हेमोग्लोबिनको कमीले मानव शरीरमा उत्पन्न हुने जटिलता र समस्या बढ्दै गएको पाइएको छ । अस्वस्थ जीवनशैली, असन्तुलित आहार, व्यस्त जीवनजस्ता कारण शरीरमा हेमोग्लोबिनको कमी हुने गरेको चिकित्सकहरु बताउँछन् ।
हेमोग्लोबिनले हाम्रो शरीरमा अक्सिजनको मात्रा फैलाउने काम गर्छ । यो हाम्रो शरीरमा हुने एक प्रकारको प्रोटिन हो । तपाईंको परिवारका कोही सदस्य वा साथीभाइ स्टमित्रमा हेमोग्लोबिन कम भएको समस्या सुन्नुभएको वा देख्नुभएकै होला । सुन्दा यो एक सामान्य समस्या लाग्छ । तर शरीरमा हेमोग्लोबिनको मात्रा निरन्तर कम हुँदै गयो भने हामीलाई जटिल रोग लागिसकेको पनि हुनसक्छ ।
यसकारण ‘हेमोग्लोबिन के हो, मानव शरीरमा यसको काम के हो, यसको मात्रा घट्दा के–कस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन्’लगायतका सन्दर्भमा जनरल प्राक्टिसनर डा. पुष्पमणी खरालसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश-
हेमोग्लोबिन के हो ?
हेमोग्लोबिन भनेको मानव शरीरमा हुने रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिन हो । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्याउनु हो । तर स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ । जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ । यी तत्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।
सामान्यतया हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा कति हुनुपर्छ ?
सामान्यतया महिलाहरुमा १२–१४, पुरुषको हकमा १३–१६, बालबालिकाको हकमा १०–११ हेमोग्लोबिनको मात्रा हुनुपर्छ । यसैगरी बृद्धा महिलाको हकमा ११ र बृद्ध पुरुषमा १२ देखि माथि हुन्छ ।
यदि कुनै वयस्क व्यक्तिको हेमोग्लोबिनको मात्रा एकदमै कम भयो भने कतिसम्म पुग्छ ? अथवा तपाईंको उपचार अनुभवमा मानव शरीरमा हेमोग्लोबिनको मात्रा कतिसम्म घटेको पाउनुभएको छ ?
मेरो उपचार अनुभवको कुरा गर्नुपर्दा न्युनतम ४–५ सम्म घटेको पाएको छु भने सरदरमा ५–७ सम्म हेमोग्लोबिनको मात्रा भएको बिरामी उपचारमा आउनुहुन्छ ।
हेमोग्लोबिन शरीरमा घट्दै जानुको मुख्य कारण के–के हुन् ?
हेमोग्लोबिन शरीरमा घट्दै जानुका धेरै कारणहरु हुन्छन् । धेरैजसो शरीरमा आइरनको कमीले हुन्छ । एउटा त खानपानमा आइरनको कमीले हुन्छ भने अर्को मानव शरीरले आइरन सोस्ने क्षमता नै कम भएर पनि यस्तो समस्या हुन्छ ।
महिलाहरुमा हो भने महिनावारीको समयमा अत्याधिक रक्तश्राव, भिटामिनको कमीहरुले जस्तैः भिटामिन ‘बी’ १२ फोलिक एसिडको कमीले, दीर्घरोगीहरु भएको खण्डमा, रगतको नलीमा रक्तकोशीकाहरु मरेर जाने फुट्ने कारण होमोलाइसिस भएको कारणले, बोन म्यारो जस्ता रोगहरुले पनि शरीरमा हेमोग्लोबिनको मात्रा कमी हुनसक्छ । कतिपय अवस्थामा जुकाको औषधिको सेवन नर्गनाले पनि यस्तो समस्या हुन्छ ।
उदाहरणका लागि २० वर्षको युवकमा हेमोग्लोबिनको मात्रा ४ सम्म पुगेको छ भने उसमा के–कस्ता स्वास्थ्य समस्याहरु हुनसक्ने सम्भावना रहन्छ ?
पहिलो कुरा शरीरमा रातो रगत मात्रै कम हो की सेतो रगतहरु प्लेटलेट्सहरु अरु पनि कम हो त्यो चेकजाँच गर्नुपर्छ । कहिलेकाहीँ रातो र सेतो रगत सबै कम छ भने बोनम्यारोमा समस्या भएको हुनसक्छ । अरु रगत ठिक छ र रातो रगत मात्रै कम छ भने आइरनको कमीले हुनसक्छ । र शरीरमा आइरनको कमी हुने विभिन्न कारणहरु हुनसक्छन् ।
कहिलेकाहीँ आन्द्रामा घाउ र अल्सर भएर पनि हुनसक्छ । त्यसकारण भिटामिनको लेबलहरु हेनुपर्छ । अर्को भनेको दिसा जाँच गरेर र ब्लड पोजेटिभ छ की छैन भन्ने हेर्नुपर्छ । यसो हुदाँ आन्द्राबाट रगत बगिरहेको र मुटुमा समस्या हुनसक्छ । हेमोग्लोबिन ७ भन्दा कम छ भने रगत नै चडाउनुपर्छ । एक पोका रगत चडाउँदा एक पोइन्ट हेमोग्लोबिन बढ्छ ।
हेमोग्लोबिनको कमी हुदाँ शरीरमा के–कस्ता लक्षणहरु देखा पर्छन् ?
शरीरमा हेमोग्लोबिनको कमी हुँदा तागत नभएको शरीर गल्ने, मुटुको गति बढ्ने, स्वा–स्वा लाग्ने जस्ता लक्षण देखापर्छ । हेमोग्लोबिनको कमी हुँदा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता घट्छ । त्यस्तै कमजोरी महसूस हुने, थकाइ लाग्ने र भ¥याङ चढ्दा वा हिँड्दा स्वाँ–स्वाँ हुनेजस्ता समस्या देखिन्छन् । श्वास फुल्ने, रगत नपुगेर अनुहार सेतो भएको जस्तो देखिने समस्या हेमोग्लोबिनको कमी हुँदा हुन्छ ।
हेमोग्लोबिन एकदमै न्यून हुनु वा घट्दै जानुले के कस्ता रोगहरुको संकेत गर्छ वा स्वास्थ्य जटिलताहरु निम्त्याउँछन् ?
हेमोग्लोबिनको काम भनेको हाम्रो शरीरभर अक्सिजनको मात्रा फैलाउनु वा पुर्याउनु हो । यसकारण जब शरीरमा हेमोग्लोबिन न्यून हुँदै जाँदा कालन्तरमा शरीरमा अक्सिजनको मात्रा राम्ररी सप्लाई कम भएर हर्टअट्याक हुनसक्छ । चक्कर लागेर मान्छे ढल्नसक्छ ।
शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन कस्तो खानेकुरा खाने ?
शरीरमा हेमोग्लोबिनको कमी हुँदा आइरनयुक्त खानेकुरा जस्तै, मासु, हरियो सागसब्जी, ड्राइ फ्रुट्स आहारमा समावेश गर्नुपर्छ । मासु र दूधजन्य पदार्थ भिटामिन बी–१२ को राम्रो स्रोत हुन् । जबकि फलफूल र अन्नमा फोलिक एसिड पाइन्छ । यी सबैको सेवन आवश्यक मात्रा शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोगी मानिन्छ । आइरन चक्कीहरु पनि सेवन गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया