काठमाडौँ – नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वर्ल्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।
२०८१ कार्तिक २० देखि २२ गते ( ५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ ।
नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।
१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो ।
हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि, यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्त्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरूलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।
वर्ल्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।
उनले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसरहरू विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया