काठमाडौँ – अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ । ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्दाको प्रमुख रूपमा सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।
डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ । यो मामला व्यापारसँग सम्बन्धित अभिलेखको मिथ्याकरणसंग सम्बन्धित छ ।
मे महिनामा न्युयोर्कका निर्णायकहरूले ट्रम्पलाई दोषी ठहर गरेका थिए । यो मामला एक पोर्न फिल्म स्टारलाई भुक्तान गरिएको पैसासँग सम्बन्धित थियो। जूरीका अनुसार ट्रम्प यस भुक्तानी प्रक्रियामा संलग्न थिए ।
न्यूयोर्कका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय सेप्टेम्बरदेखि नोभेम्बर २६ सम्म (अमेरिकी राष्ट्रपति चुनावपछि) स्थगित गरेका थिए ।
ब्रुकलिनका पूर्वअभियोजक जुलिया र्यान्डलम्यानले ट्रम्पले चुनाव जितेपनि न्यायाधीश मार्चेनले आफ्नो योजनाअनुसार सजायको प्रक्रिया अगाडि बढाउन सक्ने बताएकी थिइन् ।
कानुनी विशेषज्ञहरू विश्वास गर्छन्, ट्रम्पलाई पहिलो पटक वरिष्ठ अपराधीका रूपमा सजाय सुनाइने सम्भावना धेरै कम छ ।
यदि ट्रम्पलाई सजाय सुनाइयो भने उनका वकिलहरूले तुरुन्तै सजाय विरुद्ध अपिल गर्न सक्छन् किनभने यदि ट्रम्पलाई जेल पठाइयो भने, उनले आफ्नो आधिकारिक काम गर्न सक्षम हुनेछैनन् । यस्तो अवस्थामा उनीहरूलाई स्वतन्त्र राख्नुपर्छ । त्यस्तै यो अपिल प्रक्रिया धेरै वर्षसम्म लम्बिन सक्ने पनि बताइएको छ ।
चुनावी परिणाम उल्टाउन खोजेको विषय
विशेष काउन्सिल ज्याक स्मिथले गत वर्ष ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेका थिए । यो मुद्दा २०२० को राष्ट्रपति चुनाव हारे पछि चुनावको नतिजा उल्ट्याउन गरिएको प्रयाससँग सम्बन्धित थियो । यस मामिलामा ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका थिए । त्यसयता यो मुद्दा कानुनी घेराबन्दीमा अड्किएको छ ।
यद्यपी ट्रम्पले चुनाव जितेपछि, आपराधिक मुद्दाहरूसँगको उनको समस्या धेरै हदसम्म कम भएको छ । वर्तमान राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने कुरा राम्रोसँग स्थापित भइसकेको छ, यस्तो अवस्थामा वाशिङटन डिसीको जिल्ला अदालतमा चलिरहेको चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा खारेज हुने पनि बताइएको छ ।
गोप्य कागजात मुद्दा
त्यस्तै ट्रम्पविरुद्ध अर्को मुद्दामा गोप्य कागजातको दुरुपयोगसँग सम्बन्धित छ । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पलाई आफ्नो घर ‘मार-ए-लागो’ मा संवेदनशील कागजातहरू राखेको आरोप छ र जब कानुन विभागले ती फाइलहरू फिर्ता लिन खोजेपनि ट्रम्पले त्यो काममा अवरोध गरेका थिए ।
तर, अब ट्रम्प राष्ट्रपतिको कार्यालयमा पुग्ने निश्चित भइसकेपछि गोप्य कागजपत्रसम्बन्धी मुद्दाको पनि चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा पनि निष्क्रिय हुने छ ।
जर्जियाको चुनाव सम्बन्धि आपराधिक प्रकरण
ट्रम्पले जर्जियामा पनि आपराधिक आरोपको सामना गरिरहेका छन्। यो विषय सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोज्ने प्रयाससँग सम्बन्धित छ । यस मामिलामा धेरै अवरोधहरू थिए । यसमा जिल्ला न्यायधिवक्ता फ्यानी विलिसलाई अयोग्य ठहराउने प्रयासहरू पनि समावेश छन्। उनीमाथि यो मुद्दामा कार्यरत एक वकिलसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
यस मामिलामा, मुद्दा रोक्न अदालतमा अपिल पनि गरिएको छ । तर अब ट्रम्प अर्को राष्ट्रपति बनेपछि यो मुद्दा पनि निष्क्रिय हुनसक्ने बताइएको छ । यो खारेज समेत हुनसक्ने बताइएको छ । ट्रम्प राष्ट्रपतिको कार्यालयमा रहँदा यो मुद्दा रोकिने सम्भावना रहेको कानुनी विज्ञहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया