काठमाडौँ- अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवम् निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरे ।
ह्यारिसले डेमोक्र्याटिक पार्टीको आधार क्षेत्र मानिने न्यूयोर्क, क्यालिफोर्निया, वाशिंटन, ओरेगन, भर्जिनिया, रोड आइल्याण्ड, मासाचुसेट्सजस्ता राज्यमा जित हासिल गरिन् । उता ट्रम्पले भने रिपब्लिकन पार्टीको गढ टेक्सस, फ्लोरिडा, मोन्टाना, टेनिसी, साउथ क्यारोलाइना, ओहायो, आर्कान्सा, कान्सासजस्ता राज्यमा जित हासिल गरे ।
अमेरिकी निर्वाचनमा महत्वपूर्ण मानिने ‘स्विङ स्टेट’ भनिने राज्यहरुमा राम्रो मत ल्याएसँगै ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले स्विङ स्टेटहरु नर्थ क्यारोलाइना, जर्जिया, पेन्सलभेनिया, विस्कन्सिन, मिसिगनमा ह्यारिसलाई पछि पारेका हुन् । यसअघि सन् २०१६ मा डेमोक्र्याट प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गर्दै पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
डोनाल्ड जोन ट्रम्पको जन्म १९४८ मा अमेरिकाको न्यूयोर्कमा भएको हो । ट्रम्पका बुबा फ्रेड ट्रम्प जर्मन आप्रवासीका छोरा थिए र उनकी आमा मेरी एनी म्याक्लियोड ट्रम्प स्कटल्याण्डमा जन्मेकी थिइन् । उनका बुबा न्यूयोर्कका धनाढ्य घरजग्गा व्यवसायी थिए । आफ्ना मातापिताको चौथो सन्तानका रुपमा जन्मेका उनले बाल्यकालमा सैन्य विद्यालयमा पनि अध्ययन गरेका थिए ।
सन् १९५९ मा सैन्य विद्यालयमा भर्ना भएका उनले त्यहाँ पाँच वर्ष बिताएका थिए । त्यसले आफूलाई सैन्य प्रशिक्षणसँगै नेतृत्व क्षमतामा सुधार्न मद्दत गरेको ट्रम्पले बताउँछन् । उनी आफ्नो शैक्षिक कारण र हड्डीमा लागेको चोटका कारण भियतनाम युद्धमा भने भाग लिन पाएनन् । पेन्सलभेनिया विश्वविद्यालय अन्तर्गतको ह्वार्टन कलेजबाट कमर्श विषयमा स्नातकसम्मको अध्ययन गरेका थिए ।
डोनाल्ड ट्रम्पले आफ्नै बाबु फ्रेडबाट घरजग्गा व्यवसायमा लाग्ने प्रेरणा पाएको बताइन्छ । २० वर्षको उमेरमा उनले आफ्ना बुबासँग केही पैसा मागेर न्यूयोर्क मै घरजग्गा व्यवासयमा हात हालेका थिए । समय बित्दै जाँदा ट्रम्प यस क्षेत्रमा सफल पनि हुँदै गए । उनले आफ्नो ट्रम्प अर्गनाइजेसनलाई घरजग्गाका साथै क्यासिनो, गल्फ कोर्स, होटेलजस्ता क्षेत्रमा विस्तार गर्दै लगे । सानै उमेरमा छोटो समयमा नै आफ्नै बलबुतामा धनी बनेका उनी एकाएक सेलिब्रेटीको रुपमा उदाउन सफल भए ।
उनले अनेक किताब लेखे, फिल्ममा अभिनय गरे, टेलिभिजन कार्यक्रममा सहभागी भए, उनका नामका गीतहरु पनि लेखिए । उनले सन् १९८७ मा सहलेखन गरेको ‘द आर्ट अफ द डिल’ अझै पनि चर्चित छ । व्यवसायमा लागेसँगै मनोरञ्जन, राजनीतिक र अन्य व्यवसायिक क्षेत्रमा संलग्न ठूला मानिसहरुसँग सम्बन्ध विस्तार गरे । सेलिब्रेटीका रुपमा उनले ‘एप्रेन्टिस’ नामक टेलिभिजन कार्यक्रममा पनि काम गरेका थिए ।
फरक शैली, अनौठो कपाल, वाकपटुता र मानिसलाई चाँडै प्रभावमा लिन सक्ने भएकाले उनको ट्रम्प अर्गनाइजेसनले छोटो समयमा नै आफ्नो विशिष्ट व्यवसायिक पहिचान स्थापित गर्न सफल पनि भयो । यतिसम्म की एक समय अमेरिकी संस्कृतिमा धनाढ्य र रंगीन जीवनशैली भएको मान्छेको पर्याय नै ट्रम्प बन्न पुग्यो । उनलाई रुचाउने र उनको जीवनशैलीबारे चासो व्यक्त गर्ने मानिसहरुको सङ्ख्या पनि बढ्दै गयो । सामाजिक सञ्जालमा चोटिला ट्विट गरेर पनि उनले कुनै समय धेरैको मन जित्न सफल भएका थिए ।
९० को दशकको शुरुतिर भने उनको व्यवसायमा विभिन्न असफता हात पर्दै गए । तर, उनले ‘ट्रम्प’ नामको लाइसेन्स बिक्री थाले । भोड्का, स्टेक, म्यागजिन, विश्वविद्यालय, भिडियो गेमजस्ता कैयौँ उत्पादन ट्रम्प नामबाट नामकरण गरिएको छ । सन् २०१५ सम्म आइपुग्दा एकाएक उनले राजनीतिमा प्रवेश गर्ने निर्णय गरे ।
अर्को वर्ष सन् २०१६ मा आयोजना हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी दिए । त्यसबेला ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनु त परैको कुरा, रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउँछन् भनेर सायदै कसैले पत्याएका थिए । तर, पार्टीको आन्तरिक निर्वाचनमा सबैलाई पछि पार्दै उनले राष्ट्रपतीय उम्मेदवारी हासिल गर्न सफल भए । राष्ट्रिय प्रतिस्पर्धामा पनि उनले डेमोक्र्याट क्लिन्टनलाई पराजित गर्दै ४५ औँ राष्ट्रपति बन्न समेत सफल भए ।
धेरैले उनले राष्ट्रपति बन्न रुससँग साँठगाँठ गरेको आरोप पनि लगाएका थिए । यसबारे उनको कार्यकालमा लामै अनुसन्धान पनि भयो । तर, यसबारे ठोस निष्कार्ष भने निस्किएन । सन् २०१७ बाट औपचारिक रुपमा राष्ट्रपति बनेका उनको राष्ट्रवादी छवि, अहस्तक्षेपकारी भनिएको विदेश नीति, चीनसँगको व्यापार युद्ध, मिडियासँगको कटुता, पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौताको विरोध, प्रहरीद्वारा काला जातिका मानिसको हत्यापछि उत्पन्न व्यापक प्रदर्शन, दक्षिणपन्थी समूहको बढ्दो सक्रियताजस्ता कारणले अविष्मरणीय रह्यो ।
त्यसैगरी, इरान आणविक सम्झौताको विरोध, मुसलमानबहुल मुलुकका आप्रवासीमाथि प्रतिबन्ध लगाउने नीति, उत्तर कोरियासँगको सम्बन्ध सुधार, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजना, दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीमाथिको कठोरता, कोरोना भाइरसको महामारीजस्ता कारणले पनि महत्वपूर्ण रह्यो । यतिमात्रै होइन, उनले आफ्नो कार्यकालमा दुई पटक महाअभियोगको सामना गरेका थिए ।
सन् २०२० मा सम्पन्न निर्वाचनमा पूर्वउपराष्ट्रपति जो बाइडेनसँग पराजित भएपनि उनले हार स्वीकार गरेनन् । सन् २०२१ को जनवरीमा आफ्ना समर्थकले कंग्रेस भवनमा आक्रमण गरेपछि उनी ठूलो राजनीतिक संकटमा फस्न पुगे । राष्ट्रपति पदबाट हटेपछि उनीमाथि विभिन्न अभियोगमा मुद्दा पनि चलाइए भने केही अभियोगमा उनी दोषी समेत प्रमाणित भएका छन् ।
तैपनि उनले यसपालीको निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरे । उनले यसपालीको निर्वाचन प्रक्रियामा रिपब्लिकन पार्टीको तर्फबाट सहजै उम्मेदवारी पाउन पनि सफल भए । चुनाव प्रचारका क्रममा पेन्सलभेनियामा आयोजित र्यालीमा उनीलाई लक्षित गरी गोली प्रहार भयो । उक्त घटनामा उनका दुई जना समर्थकको ज्यान गयो भने उनको कानमा चोट लाग्यो । तैपनि उनी दृढताका साथ चुनाव प्रचारमा लागे ।
मंगलबार सम्पन्न निर्वाचनमा उनी फेरि राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुनै पनि व्यक्ति एक कार्यकालको फरकमा दुई पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लिभल्याण्डले सन् १८८५ देखि सन् १८८९ सम्म र त्यसपछि २४ औँ राष्ट्रपतिका रुपमा सन् १८९३ देखि सन् १८९७ सम्म काम गरेका थिए ।
नयाँ राष्ट्रपतिमा ट्रम्प चुनिएसँगै उनको दोस्रो कार्यकाल कस्तो रहला ? उनको नेतृत्वमा अमेरिका कुन दिशामा अघि बढ्ला ? उनको नेतृत्वमा अमेरिकी अर्थतन्त्रको अवस्थामा कस्तो परिवर्तन देखिएला ? उनका विदेश नीति कस्तो रहला ? उनले औपचारिक रुपमा आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । यस्ता धेरै प्रश्नको जवाफ पाउन हामीले केही समय पर्खनै पर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया