धनुषा– मधेशी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवार हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् ।
क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्, ‘समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु परिरहेको छ ।’
उनी चाडपर्बका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउँछन् । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याइ रहेको मल्लिकको भनाइ छ ।
‘सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास’, उनले भने ।
दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । तराईवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त छन् ।
यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन् । धुनषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका सामग्री बेचेर घरखर्च टार्दै आएका छन् ।
छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमले सुनाए ।
सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बीच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् ।
‘अरु बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो’, उनले भनिन् ।
महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए ।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।
महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया