काठमाडौँ- काठमाडौँ उपत्यकाबाट नजिक अवस्थित मुलुकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटसम्म पुग्ने सडकको दूरावस्थाका कारण ‘नगरकोट भ्रमण वर्ष २०८२’ प्रभावित हुनेमा चिन्ता व्यक्त गर्दै चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले समाजका सबै वर्गको सक्रिय सहयोग रहनुपर्नेमा जोड दिएका छन् ।
जनप्रतिनिधिको पहिलो बैठकले विसं २०८२ मा नगरकोट भ्रमण वर्ष मनाउने निर्णय गरेको छ । तर त्यहाँसम्म पुग्ने सडक राम्रो नहुँदा भ्रमण वर्ष प्रभावित हुनेमा आफूहरु चिन्तित रहेको नगर प्रमुख जीवन खत्रीले बताए ।
“निर्वाचित भएपछिको पहिलो बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ भव्यताका साथ मनाउने निर्णय गरिएको थियो”, राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘चाँगुको विकास निर्माण र सम्भावना’ विषयक अन्तरक्रियामा उनले भने, “भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, तर नगरकोटसम्म पुग्ने सडकको अवस्थाका कारण प्रभावित हुने हो कि भन्ने चिन्ता पनि छ ।”
भक्तपुरको कमलबिनायकस्थित भत्केकोपाटीदेखि नगरकोटसम्मको करिब १५ किलोमिटर सडकको अधिकांश क्षेत्रमा खाल्डाखुल्डी छन् । बर्खामा उक्त सडक हिलो तथा हिउँदमा धुलाम्मे रहँदै आएको छ । उक्त सडकखण्ड चाँगुनारायण नगरपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्छ ।
भ्रमण वर्ष लक्षित गरेर धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ छ । तर, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुँदा पर्यटक आगमनमा असहजता हुनसक्ने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७०/७१ मा उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । स्थानीयले सङ्घर्ष समिति गठन गरेरै उक्त सडक छिटो निर्माण गर्न ठेकेदार तथा सरकारलाई बारम्बार दबाब दिँदै आए पनि अझै सम्पन्न हुन सकेको छैन ।
नगरप्रमुख खत्रीले यसवर्षको दसैँतिहारमा सडक निर्माण सम्पन्न हुने भनिए पनि त्यसो नभएको बताए । “दसैँमा सम्पन्न गर्ने भनिएको थियो, तर तिहार सकिन लागि सक्यो, सडक बन्ने छाँटकाँट छैन”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया