मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला स्रष्टाहरुको देउसी भैलो रौनक

काठमाडौँ– साहित्य लेखन र सिर्जना रहेका महिला स्रष्टाहरुको देउसी भैलो खेलेका छन् ।

साहित्य सिर्जनामा समाज, संस्कृति र समकालीन समयलाई अभिव्यक्त गर्दै आएका स्रष्टाहरुले तिहार पर्वको मौलिक संस्कृतिलाई समेत मध्यनजर गर्दै देउसी भैलो कार्यक्रम गरेका हुन् ।

शुक्रबार ललितपुर, पुल्चोकस्थित स्थानीय पुर्वाधार विकासको कार्यालय प्राङ्गणमा गरिएको देउसी भैलो कार्यक्रममा पुरुष स्रष्टाहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । महिला स्रष्टाहरुले देउसी भैलोकै लयमा तिहारको मौलिक संस्कृतिसँगै आम मानिसलाई खुसी तथा उमङ्गको कामना गरे ।

उनीहरुले साहित्य सिर्जना र संस्थामा भएका विकृतिलाई उठान गर्दै देउसी भैलो मार्फत नै आम साहित्यकर्मीहरुलाई एकजुट भएर लाग्न आह्वान समेत गरे । कार्यक्रममा रेणुका सोलु, शान्ति पौडेल लगायतका स्रष्टाहरुले देउसी भैलो लयलाई भट्टाएका थिए ।

देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरुले संस्कृतिको जगेर्नासँगै महिला स्रष्टाहरुलाई एकठाउँमा जम्मा हुन र आफ्ना सिर्जनाका कुराहरु एक आपसमा आदानप्रदान गर्न अवसर दिने कवि तथा समालोचक डा.विन्दु शर्माले बताइन् ।

‘यस्ता कार्यक्रमहरु मुख्य त रमाइलो र भेटघाटका लागि हुन्’ उनले भनिन्, ‘यसले हाम्रो संस्कृतिको जगेर्नासँगै महिला स्रष्टाहरुको समूहलाई आर्थिक सङ्कलनमा समेत सहायता पुर्‍याउँछ ।’

देउसी भैलो कार्यक्रममा ४६ हजार रुपैयाँ हारहारीमा रकम सङ्कलन भएको कार्यक्रमका संयोजक तथा स्रष्टा रीता खत्रीले बताइन् । उनका अनुसार देउसीभैलो कार्यक्रमबाट उठेको रकम महिला साहित्यकार समूहको कोषमा जम्मा गरी यसबाट प्राप्त हुने ब्याज स्रष्टाहरुकै हितमा हुने विविध खाले कार्यक्रमहरुमा प्रयोग गरिनेछ ।

वैशाख महिना देखि नै सुचारु भएको महिला साहित्यकारहरुको समूहले प्रत्येक महिना एक जमघट गरी महिला स्रष्टाहरुमध्ये एक जनाको कृतिमाथि समीक्षा गर्दै कविता वाचनको कार्यक्रम समेत गर्दै आएको छ ।

समूहले यही २४ गते पुल्चोकस्थित समावेशी आयोगको कार्यालयमा जमघट कार्यक्रम तय गरिसकेको छ । उक्त जमघटमा वरिष्ठ गीतकार उन्नती बोहोरा शीलाको कृति माथि समालोचक डा. रजनी ढकालले समीक्षा गर्नेछिन् ।

समूहको कार्यक्रमहरुले अग्रज र नयाँ पुस्ताका स्रष्टाहरुलाई एकैठाउँमा ल्याउन उल्लेखनीय भूमिका खेलेको समालोचक शर्माको भनाइ छ ।

देउसी भैलो कार्यक्रममा अग्रज साहित्यकार जलेश्वरी श्रेष्ठ, निजामती कर्मचारी संगठनको अध्यक्ष लेखनाथ कोइराला, कलाकारहरु शर्मिला शर्मा, विमला गिरी, जे.सागर, राज रजक, कल्पना काफ्ले, सत्यराज वली, सुषमा आचार्य, प्रदीप सापकोटा, कृष्ण प्रसाईं, रञ्जना निरौला, उषा केसी, सविना सिन्धु, पत्रकार राजेश खनाल, यशाेधा अधिकारी, विमला कार्की, शान्ता पन्त, निक्मला फुयाँल, डा. यादेवी ढकाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?