मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: दिपावली पर्व

‘निधारमा लर्काएर सप्तरङ्गी टीको’

काठमाडौँ– ‘निधारमा लर्काएर सप्तरङ्गी टीको

हिँडिरहू सधैं तिमी शिखरको बाटो

ओखरमा फोरिदिएँ बाधाहरु मैले

जतापनि पुग दाइ घामभन्दा पहिले’

हरेक वर्ष तिहारको रौनकसँगै बज्ने यस गीतको शब्द लय तथा धुनहरुले अग्रज कवि तथा गीतकार दिनेश अधिकारी त्यसै मन्त्रमुग्ध हुन्छन् । तिहार पर्वको खुसी त छँदैछ, त्यसमा पनि आफैंले सिर्जना गरेको गीतको धुन सुन्न पाउँदा उनको खुसी अझ थपिन्छ ।

यो गीत सुनेर सर्जक अधिकारी मात्र होइन, आम सङ्गीतप्रेमी समेत उत्तिकै आनन्दित हुन्छन् । आम मानिसमाझ यो गीत र तिहार पर्व पर्यायवाची जस्तै बनेको छ । प्रत्येक नेपालीहरुको घर घरमा यो गीत बज्न थालेको झण्डै झण्डै साँढे तीन दशक हुन लागेको छ । तर यो गीतको उमेर जति बढ्दै छ, त्यति नै यसको मिठासले आम सङ्गीतप्रेमी झनै मन्त्रमुग्ध बन्दै गइरहेका छन् ।

हुन त नेपाली गीतसङ्गीत क्षेत्रले साँढे तीन दशकमा लामो छलाङ मारिसकेको छ । गीतसङ्गीत क्षेत्र एनालगबाट डिजिटल प्रविधितर्फ फड्को मारेको पनि लामै समय भइसकेको छ । तथापि डिजिटल प्रविधिले यस गीतलाई देशभित्र मात्र नभएर विदेशी भूमिमा समेत पुर्‍याएको छ ।

नेपालमा मात्र होइन, परदेशमा पनि तिहारको छेकोमा यो गीत गुञ्जिने गर्छ । सर्जक अधिकारी भन्छन्, ‘अहिले आफैंले यो गीत सुन्दा एकदमै आनन्द लाग्छ । अहिले मौलिक सांस्कृतिक पक्षमा शहरमा शिथिलता आएको महसुस हुन्छ । यस्ता गीतहरुले हाम्रो मौलिक संस्कृतिलाई अलिकति भएपनि सम्झाइदिन्छ ।’

अधिकारीले आफ्नो सिर्जना यात्राको दस्तावेज स्वरुप ‘कविताको कथा गीतको कथा’ नामक पुस्तक नै लेखेका छन् । जुन पुस्तकमा उनका अन्य सिर्जनासँगै यस गीतको कथा र पृष्ठभूमिलाई समेत उनले समेटेका छन् । यस गीतको लेखन समयलाई स्मरण गर्दा अधिकारी ३५ वर्ष अगाडितिर पुग्छन् ।

वि.सं. २०४६ सालमा कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभले आफ्नो निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘विजय पराजय’का लागि दुई वटा गीत सिर्जना गर्ने अभिभारा सुम्पेका थिए । जसमध्ये एउटा भाइटीको गीत थियो ।

गीतमा तिहारको भाइटीकाको रमाइलो परिवेश समेटिएको भाव समेट्न भनिएको थियो । उनी सम्झन्छन्, ‘तिहारमा बहिनीले दाइहरुलाई आशिर्वाद दिने र रमाइलो गर्ने खालको गीत सिर्जनाका लागि राजेन्द्र शलभले नै आग्रह गर्नुभएको थियो । तिहारको सांस्कृतिक पक्ष सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसकारण यसमा मैले  तिहारको मौलिक संस्कृतिलाई जोडेर त्यस्तै पाँच/सात दिनमा गीत लेखेँ ।’

उनका अनुसार उनले यो गीत ठ्याक्कै ०४६ साल भदौ १५ गते लेखि भ्याए । यो गीतमा भाइटीकामा दाइहरुका लागि बहिनीको आशीर्वाद र सांस्कृतिक पक्षमा अधिकारीसँग अझै पुरानो स्मृति छ । २०४१ सालमा जागीर जीवनकै सिलसिलामा बैतडीमा थिए । उनले त्यो वर्ष बहिनीको हातबाट भाइटीका लगाउन पाएनन् ।

त्यतिबेला उनले भाइटीका र बहिनीको महत्व अनि सम्बन्धलाई अझै गहिराइमा महसूस गरे । त्यो उनको भावुकता र खिन्नताको अनुभवलाई उनले ‘तिहार सम्झना: टाढाको बस्तीबाट’ शीर्षक कवितामा अभिव्यक्त समेत गरे ।

उनको पुस्तकलाई आधार मान्दा जुन कविता २०४३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट निस्कने ‘कविता’(त्रैमासिक) कार्तिक–पौष अंकमा प्रकाशित भएको थियो । यो कविता उनको कविता सङ्ग्रह ‘आदिम आवाज’मा समेत सङ्ग्रहित छ । अधिकारीका अनुसार २०४१ सालको उनको अनुभूतिहरु यस गीतमा समेत आएका छन् । शम्भूजीत बास्कोटाले सङ्गीत भरेको यस गीत २०४६ साल कार्तिकमा मुम्बईमा प्रसिद्ध भारतीय गायिका हेमलताको स्वरमा रेकर्ड भयो ।

सम्भवत: हेमलताको स्वरमा रेकर्ड भएको नेपाली फिल्मको यो पहिलो गीत रहेको अधिकारीको अनुमान छ । संयोग कस्तो भयो भने यस गीतसँग जोडिएका सबैजसोको यात्रा पहिलो नै थियो । ठूलो पर्दाको नेपाली कथानक चलचित्रका लागि लेखिएको र छायाङ्कन गरिएको अधिकारीको यो पहिलो गीत थियो भने शलभको निर्देशनमा निर्माण भएको पनि यो पहिलो फिल्म थियो ।

त्यस्तै अभिनेत्री रुपा रानाका लागि पनि अभिनयका हिसाबले फिल्ममा यो पहिलो गीत थियो । अभिनेता द्वय सरोज खनाल र ब्रजेश खनालले यही फिल्मबाट ठूलो पर्दाको सिने क्षेत्रमा डेब्यु गरेका थिए । २०४७ सालदेखि बज्न थालेको यो गीत सङ्गीत क्षेत्रमा कालजयी बनेको छ ।

गीत आम श्रोतामाझ आएपछि यस गीतबारे २०४८ सालमा अग्रज पत्रकार तथा आख्यानकार नारायण वाग्लेले समेत लेखेका थिए । २०४८ सालको वैशाख महिनाको जनमञ्च साप्ताहिकमा ‘सानो पर्दा/ठूलो पर्दा’ स्तम्भमा वाग्लेले ‘धूप, झरी र यामको लय- विजय पराजय’ शीर्षकमा गीतको बारेमा लेख्दै अधिकारीलाई आधुनिक नेपाली गीत रचनामा हरिभक्त कटुवालको युगपछि प्रतिनिधि मानेका छन् । उनले सर्जक अधिकारीलाई आफ्नो निजी गुणले छोइने, लाग्ने र नेपाली चलचित्रका गीतकारमा मौलिक गीतका लागि ‘पायोनियर’को दर्जा समेत दिएका छन् ।

गीत सिर्जनाको समयमा यसरी कालजयी गीतका रुपमा स्थापित होला भनेर अधिकारीले एक मनले पनि सोचेका थिएनन् । फिचर फिल्ममा पहिलोचोटी भएकोले अलिकति राम्रो र स्तरीय लेख्नुपर्छ भन्ने कुरामा भने उनी सचेत थिए । गीति सिर्जनामा उनको मौलिकपना, नीजि भावना,  तिहारको मौलिक संस्कृतिलगायत रेकर्डिङ स्वरदेखि भिडियो छायाङ्न, निर्देशन र अभिनय पनि उत्तिकै उम्दा रह्यो ।

त्यतिबेला गीतले आम मानिसको मनलाई त छोयो नै यही गीतले उनलाई गीतकारको रुपमा चिनारी दिलाउन राम्रो भूमिका खेलेको अधिकारी सुनाउँछन् । ‘गीत कालजयी हुनुमा गीतकार मात्र नभएर स्वर, वाद्यवादन, रेकर्डिङ, भिडियोका लागि छायाकार, निर्देशक सबैको ठूलो भूमिका हुन्छ । यसमा मेरो मात्र नभएर सबै जनाको उत्तिकै भूमिका छ,’ उनी भन्छन् ।

यस गीतमा जसरी टीका लगाउने, दक्षिणा दिने, देउसी भैलोलाई स्वागत गर्ने, देउसी, भैलो गीत गाउने, नाङ्लोमा सेलरोटी जस्ता रमाइला पक्षहरु बिस्तारै हराउँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् । हुन त उनको गीतले जसरी नै तिहारको छेकोमा आउने तिहार गीतहरुले मौलिक संस्कृतिलाई समेट्ने जमर्को नगरेका होइनन् ।

यद्यपि अधिकारी जस्ता अग्रज सर्जकका गीतहरुको मिठासले मात्र स्रोताको मन भरिन्छ र तिहार आएको भान गराउँछ । चाडपर्वहरुमा सांस्कृतिक पक्षहरुलाई नै खोतलेर आम सङ्गीतप्रेमी स्रोताहरुले पनि यही गीतलाई मन पराएको हुन सक्ने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?