काठमाडौं– लक्ष्मीपूजाको अवसर पारेर फिल्म ‘सत्यवीर’ निर्माण घोषणा गरिएको छ । गडरेज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथामा एक्सन थ्रीलर जनरामा निर्माण हुने जनाइएको छ ।
निर्माण टिमले बिहीवार फर्स्ट लूक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । उनलाई रगतले पोतिएको बञ्चरोसहित आक्रामक लूक्समा प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा धरहरासहितको काठमाडौं शहर देख्न सकिन्छ । पोस्टरले क्राइम थ्रील संकेत गर्छ ।
‘सत्यवीर’को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सकृय खड्काको ठुलोपर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ ।
उनले ‘डिज्ने’, ‘पिक्सार’ जस्ता कम्पनिको लागि हलिउड फिल्म ‘स्टार वार’, ‘लेगो’ लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन् । खड्काले नेपालमा ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’ लगायतका दर्जनौं फिल्ममा भिएफएक्स सुपरभाइजरको काम गरेका छन् ।

काठमाडौंमा भीएफएक्स र एनिमेसन स्कुल सञ्चालन गरेर सयभन्दा बढी विधार्थीलाई खड्काले प्रशिक्षण दिइरहेका छन् । २१ औं शताब्दीको टेक्नोलोजीको समयमा नेपाली फिल्मलाई उच्च कोटीमा पुर्याउने उद्देश्यसहित फिल्म निर्देशनमा जुटेको खड्काले बताए ।
उनले यसअघि एक दर्जन सर्ट फिल्म र म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
खड्काले यो फिल्ममा ४० प्रतिशत दृश्य भीएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरिनेछ । कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनिले फिल्मको ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गरेको छैन ।
लामो समयदेखि रङ्गमञ्चमा सकृय चौधरी १० बर्षपछि फिल्म अभिनयमा आउन लागेका हुन् । ‘होस्टेल रिटर्न्स’ फिल्ममा उनले निभाएको ‘पिके डन’ चरित्रले चर्चा पाएको थियो । हाल मण्डला थियटरमा अभिनय कक्षा सिकाइरहेका चौधरी धेरै नेपाली फिल्ममा चल्तीका कलाकारहरूलाई अभिनय कला सिकाएका छन् ।
‘सत्यवीर’को कथा प्रदीप चौधरीको नै हो । साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए । तिहार लगत्तै फिल्मका अन्य कलाकारहरूको उपस्थिति सार्वजनिक गर्दै वर्कसपमा जुट्ने निर्माण टिमले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया