काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीका अवसरमा नेपाली साहित्य क्षेत्रका स्रष्टाहरुले स्मरण गरेका छन् ।
जन्मजयन्तीका अवसरमा बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी’ कार्यक्रम गरेकाे थियो।
प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समूद्घाटन गरेका थिए । ‘महाकवि देवकोटाको स्मरण गर्नु भनेको एउटा युगलाई सम्झिनु हो’ भन्ने धारणा राख्दै उनले देर्वकाेटा युगकै सर्वोत्कृष्ट र सर्वश्रेष्ठ कवि रहेकाे सुनाए ।
उनले भने, ‘त्यस समयमा नै महाकविका सिर्जनामा अग्रगामी चेतना,समावेशी चिन्तन र छुवाछूतविरुद्धको चेतना प्रखर रहेकाले नै देवकोटालाई प्रगतिवादी भन्न सकिन्बछ । महाकवि बाँचेको मौलिक घरलाई भत्काएर नयाँ घर बनाउनु गल्ती थियोे, त्यस घरलाई रेक्ट्रोफिटिङ गरेर बचाउन पनि सकिन्थ्यो ।’
यद्यपि नवनिर्मित भवनमा महाकवि देवकोटा सङ्ग्रालय रहनु महत्त्वपूर्ण कार्य हुन सकेको बताउँदै उनले देवकोटामाथि खोजअनुसन्धान गर्न र साहित्यिक पर्टकीय स्थलको रूपमा अघि बढाउन लागिपर्ने सुनाए ।
प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्ने गरी प्रतिष्ठान जोडिएर महाकवि देवकोटाको सङ्ग्रहालय बनेको बताए । यसले देवकोटामाथि अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण सहयोग पुगेको उनकाे भनाइ थियाे ।
कार्यक्रमका प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले कार्यक्रममाथि प्रकाश पार्दै महाकवि देवकोटा बहुभाषिक कवि ,स्वच्छन्दतावादी भावधारा ,समावेशी र जातीय साहित्य सिर्जनालगायतका क्षेत्रमा महत्त्वपूर्ण स्थान रहेको बताइन् ।
कार्यक्रममा देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयलाई अध्ययन अनुसन्धानको थलो र पर्टकीय गनतव्यको रूपमा अघि बढाउन आग्रह गरिन् ।
यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्यत्रय शैलेन्द्र साकार, नरनाथ लुइँटेल र पुरुषोत्तम सुवेदीले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा सदस्य चेतनाथ धमला,जीवनाथ धमला,मनोज न्यौपाने ,रेणुका भट्टराई ,अनिता लामा,विना थिङ,गिलु रातोस् र प्रमोद सारङ्गले कविता वाचन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया