मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

बालबालिकामा हेमोग्लोबिनको कमी भयो भने के हुन्छ ?

काठमाडौँ– हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा कम भयो भने स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छ । हेमोग्लोबिन भनेको हाम्रो रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिन हो ।

यदि रगतमा हेमोग्लोबिनको मात्रा पुगेन भने मानिस पूर्ण रुपमा सक्रिय रहन सक्दैन । जुनसुकै उमेर वा लिंगका मानिसमा हेमोग्लोबिनको मात्रा कम हुन सक्छ । यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ ।

वयस्क, वृद्धाहरूको तुलनामा बालबालिकामा हेमोग्लोबिनको कमी हुन्छ या हुँदैन ? बच्चामा हेमोग्लोबिनको कमीले के–कस्ता रोगहरु निम्त्याउँछ? यस्तो समस्याबाट बालबालिकालाई बचाउन के गर्ने ? लगायतका सन्दर्भमा बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुचरिता तुलाधरसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः 

मानव शरीरमा हुने हेमोग्लोबिन के हो ? यसको कमीले कस्तो असर पार्छ ?

रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्‍याउनु हो । यदि केही कारणले हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुन सक्छ । जसले गर्दा शरीरको विभिन्न अंगमा असर गर्न सक्छ । त्यसैले शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलित हुनुपर्छ ।

यस्तो समस्या हरेक उमेर समूहका व्यक्तिहरुमा हुनसक्छ । शरीरमा भएको आइरनमा करिब ७० प्रतिशत हेमोग्लोबिनको मात्रा हुन्छ । यसले श्वासप्रश्वास, मेटाबोलिज्म स्वस्थ राख्न र प्रतिरक्षा क्षमता बढाउन पनि सहयोग गर्छ ।

शरीरमा हेमोग्लोबिनको मात्रा कति हुनुपर्छ ?

मानिसअनुसार र उमेरअनुसार हेमोग्लोबिनको स्तर फरक–फरक हुन्छ । बालबालिकाको हकमा  हेमोग्लोबिनको मात्रा ११ भन्दा कम छ भने त्यो कम हो । पुरुषमा १२–१६ जीरडीएल र महिलाहरूमा १४–१८ जीरडीएल हेमोग्लोबिन हुनुपर्छ ।

बालबालिकाहरुमा पनि हेमोग्लोबिनको कमी हुने समस्या हुन्छ ?

बच्चामा हेमोग्लोबिनको कमी हुने विभिन्न कारण छन् । बच्चामा कुपोषण, जुका पर्ने समस्याको कारण पनि शरीरमा रगतको कमी हुन्छ । साथै बच्चाको शरीरमा फोलिक एसिड, भिटामिन बी १२ र आइरनको कमी भएमा रगत बन्न कम हुन्छ र हेमोग्लोबिनको कमी हुन्छ । यसैगरी जेनेटिक कारणले रातो रक्तकोष फुट्ने समस्या सिकल सेल एनिमियाले गर्दा पनि हेमोग्लोबिनको कमी हुन्छ । केही कारणवश बोनम्यारोले काम गर्न छोड्यो भने पनि बच्चामा हेमोग्लोबिनको कमी हुन्छ ।

कस्ता बालबालिकामा यसको जोखिम बढी हुन्छ ?

समयभन्दा पहिले जन्मिने बच्चाहरू, बच्चा जन्मिएदेखि एक वर्षभित्र गाईभैंसीको दूध खाएका बच्चामा यसको जोखिम बढी हुन्छ । साथै आइरन, भिटामिन र फोलिक एसिडको कमी भएका बच्चालाई पनि यसको जोखिम हुन्छ । रगतसम्बन्धी समस्या भएको परिवारका बच्चामा पनि यसको जोखिम बढी हुन्छ ।

शरीरमा हेमोग्लोबिनको कमी हुँदा के–कस्ता लक्षणहरु देखा पर्छन् ?

शरीरमा हेमोग्लोबिनको कमी हुँदा रोगसँग लड्ने क्षमता घट्छ । जसकारण बच्चा कमजोर हुने, सुस्त हुने, थकित हुने, खाना खान नमान्ने जस्ता लक्षण देखिन्छ । यसैगरी बच्चाहरू भ¥याङ चढ्दा वा हिँड्दा स्वाँ–स्वाँ हुने, श्वास फुल्ने, अनुहार सेतो हुने, चिडचिडापन, पटक–पटक ज्वरो आउने, संक्रमण हुने समस्या हेमोग्लोबिनको कमीले हुन्छ ।

यसको कमीले के–कस्ता जटिलता निम्तिन सक्छ ?

बच्चालाई बारम्बार हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले उसको शारीरिक तथा मानसिक विकास राम्ररी हुँदैन । समयमै यसको उपचार भएन भने अनियन्त्रित धड्कन र मुटुमा समस्या देखा पर्ने जोखिम समेत हुन्छ ।

यसको उपचार विधि के छ ?

हेमोग्लोबिनको कमी भएको लक्षण देखिएमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) परीक्षण गराएर हेमोग्लोबिनको स्तर थाहा पाउन सकिन्छ । यो आफैंमा रोग नभएकाले कुन रोग लागेर संकेतको रूपमा देखा परेको हो, त्यस रोगको उपचार गरेपछि हेमोग्लोबिनको कमी पूरा हुन्छ । जस्तै, पोषणको कमी छ भने त्यसलाई परिपूर्ति गर्ने खानेकुरा खाने, शरीरबाट रगत बगिरहेको छ भने त्यसलाई रोक्ने सम्भावित उपचार गर्ने, बोनम्यारोमा समस्या भएको कारण हो भने सोही अनुसारको उपचार गर्नुपर्ने हुन्छ ।

हेमोग्लोबिनको मात्रमा सामान्य असन्तुलन हुँदा पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ । यसको लागि सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ । हेमोग्लोबिन र आइरनको मात्रालाई सही राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमी, चना, मासु र अण्डजस्तो पदार्थको प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?