मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् हरेक पुरुषले गर्नै पर्ने स्वास्थ्य परीक्षण

रोग हरेक व्यक्तिलाई लाग्न सक्छ । बाहिरी रूपमा हेर्दा पुरुषको तुलनामा महिलाहरू बढी मात्रामा बिरामी पर्ने जस्तो देखिन्छ । तर रोगले महिला–पुरुष छुट्याउँदैन ।

एक सर्वेक्षणअनुसार के पत्ता लागेको छ भने ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । नतिजा, सही समयमा उपचार नहुँदा रोग जटिल बन्दै जान्छ ।

आखिर यस्तो अवस्था पनि आउन सक्छ जतिबेला रोगको उपचार गर्न ढिला भइसकेको हुन्छ । त्यसबेला पछुतो गर्नुको अर्को विकल्प हुँदैन । यसकारण रोग लाग्न नदिनु सबैभन्दा उत्तम विकल्प हो । यसका लागी पुरुषले विभिन्न स्वास्थ्यजाँचहरु गराउन आवश्यक छ  । 

आज हामी पुरुषले निरोगी रहन आफ्नो जीवनकालमा गराउनुपर्ने परिक्ष‍णहरुको सन्दर्भमा जानकारी गराउँछौ । 

प्रोस्टेट क्यान्सर परीक्षण

धेरै पुरुषले बुढ्यौलीमा झेल्ने समस्या हो, प्रोस्टेटको समस्या । पुरुषहरूमा ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थिको आकार बढ्न थाल्छ । आकार बढेसँगै कतिपय पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना पनि रहन्छ ।

प्रोस्टेट क्यान्सरका लक्षण छिटो देखिँदैन । प्रोस्टेटको समस्या वा क्यान्सर भैसकेको छ, छैन परीक्षण गर्न ४० वर्ष कटेपछि प्रोस्टेटको परीक्षण गर्नु आवश्यक छ । यसरी समयमै परीक्षण गरेमा क्यान्सरको जोखिम र भइसकेको खण्डमा छिटो उपचार प्रक्रिया सुरु गर्न मद्दत पुग्छ ।  

फोक्सो क्यान्सर परीक्षण

तुलनात्मक रूपमा पुरुषहरू बढी चुरोट खाने गर्छन् । कतिले किशोरावस्थादेखि चुरोट खान सुरु गर्छन् । यसरी पुरुषहरू जहिलेपनि फोक्सोको क्यान्सरको जोखिममा हुन्छन् । नियमित रूपमा चुरोट खानेहरूले फोक्सोको परीक्षण गराउनै पर्छ ।

मानसिक स्वास्थ्य

अक्सर पुरुषहरूको स्वभाव के हुन्छ भने खुलेर आफ्नो कुरा व्यक्त नगर्ने । उनीहरू आफ्नो दुःख मात्र होइन खुसी पनि लुकाउने गर्छन् । मनको कुरालाई साझेदार गर्दैनन् ।

यही कारण उनीहरूमा तनाव र चिन्ता जस्ता मानसिक विकार बढ्ने जोखिम हुन्छ । तथ्याङ्क अनुसार वर्षेनी ५ जनामध्ये एकजना वयस्क मानसिक रोगबाट ग्रसित छन् ।

कोलेस्ट्रोल

कोलेस्ट्रोल भएको तुरुन्त थाहा हुँदैन,यसको खास लक्षण देखिँदैन । त्यसैले धेरैले कोलेस्ट्रोलको जाँच गराउँदैनन् । जबकि लामो समयदेखि कोलेस्ट्रोल बढ्दै गएर अचानक हृदयघात हुने जोखिम हुन्छ ।

त्यसैले पुरुषले बेला बेलामा कोलेस्ट्रोलको परीक्षण गराउनु जरुरी हुन्छ । मोटोपना भएका, चुरोट सेवन गर्ने वा परिवारमा कसैलाई मुटु रोग भइसकेको र हृदयघात भएको इतिहास छ भने कोलेस्ट्रोलको जोखिम अरू बढी हुनसक्छ । त्यसैले उनीहरूले २० वर्षको उमेरपछि नै कोलेस्ट्रोलको जाँच गराउनुपर्छ ।       

कोलोनस्कोपी 

बढ्दो उमेरसँगै पुरुषको आन्द्रामा समस्या वा क्यान्सर हुने जोखिम बढ्छ । आन्द्रामा देखिने स–साना गाँठोले नै पछि क्यान्सरको रूप लिन सक्छ । त्यसैले, यस्ता गाठाँगुठी छ भने तुरुन्त परीक्षण गर्नुपर्छ । सुरुवाती अवस्थामा नै रोग पत्ता लगाउन सके उपचार सहज र सम्भव हुन्छ ।

५० वर्षको उमेर पछि कोलोनोस्कोपी परीक्षण गरेमा आन्द्रामा हुने समस्या वा क्यान्सर लाग्ने जोखिमबाट बच्न सकिन्छ । परिवारमा पहिला नै आन्द्राको क्यान्सर रहेको इतिहास छ भने त ५० को उमेर भन्दा चाँडै कोलोनस्कोपी गराउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?