मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेङ्गी नियन्त्रणका लागि देशभरका कार्यालयमा सरसफाइ अभियान

काठमाडौँ– सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रूपमा लामखुट्टेको वासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरू, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई आह्वान गरेको छ ।

प्रवक्ता डा बुढाथोकीले दसैँपछि डेङ्गी सङ्क्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका लागि विगतका वर्षमा झैँ खोज र नष्ट अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘आम नागरिक, सेना, प्रहरी, कर्मचारी सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेका छौँ ।’

शुक्रबारमा मात्र सीमित नराखी कम्तीमा हप्तामा एक पटक भए पनि अभियानमा सहभागी भएमा डेङ्गी नियन्त्रण गर्न सकिने प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे । डेङ्गी सङ्क्रमणबाट सुरक्षित हुन सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै आफ्नो गाउँटोल सफा राख्न उनले सबैलाई आग्रह गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०का अनुसार हालसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ पुगेका छन् ।

देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ । काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ ।

डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?