मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देवघाटधामको चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिममा

चितवन – पवित्र तीर्थस्थल देवघाटधाममा चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिम अवस्थामा रहेको छ । मानिस ओहोरदोहोर गर्नका लागि बनाइएको यो पुलमा मोटरसाइकल कुदाउन थालेपछि जोखिममा परेको हो ।

हरेक वर्ष पुलको मर्मत सम्हार गर्ने गरिन्छ । सामान्यतया मानिस मात्रै हिँडेको अवस्थामा यो पुलको आयु ५० वर्ष हुने गर्दछ । सस्पेन्सन ब्रिज डिभिजनका सब इञ्जिनीयर गोपालबहादुर थापा पुलमा चाप बढी भएकाले ४४ वर्षअघि बनेको यो पुल जोखिममा रहेको बताउछन् । विगत आठ वर्षदेखि यो पुलको मर्मत सम्हारको नेतृत्व गरेका थापाको भनाइमा तत्काल नयाँ पुल बनाउनुको विकल्प छैन ।

पुलको चितवनतर्फका भागमा फलामको टेका लगाएर लठ्ठा अड्याइएको भन्दै उनले एकपटकमा एक सय जनाभन्दा बढी आवतजावत गर्न रोक लगाइएको बताए । उनका अनुसार पुल नयाँ हुँदै गर्दा एकपटकमा सात सय जनासम्म यात्रा गर्न मिल्ने गरी बनाइएको थियो ।

उनले भने, “मोटरसाइकल कुँदाउँदा पुलको आयु घट्यो र धेरै नोक्सान भयो ।” नयाँ पुल बनाउनका लागि नक्साङ्कन गरिएको भए पनि ठाउँको अभावमा काम हुन नसकेको उनले बताए । दुइ सय ४० मिटर लामो झोलुङ्गे पुलको डिजाइन भइसकेको छ । सोही ठाउँमा पुल बनाउँदा पुरै बाटो अवरुद्ध हुने भएकाले निर्णय लिन नसकिएको उनी बताउछन् । वैकल्पिक उपयुक्त ठाउँ नभेटिएकाले काम हुन नसकेको थापा बताउछन् ।

नेपालमा सबैभन्दा बढी मानिस आवतजावत गर्ने झोलुङ्गे पुलमा यो पर्ने भन्दै उनले तत्काल नयाँ बनाउनु पर्नेमा जोड दिए । पुल जोखिममै भएका कारण हरेक वर्ष मर्मत गर्दै आएको उनले जानकारी दिए। गएको शुक्रबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने उनले जानकारी दिए ।

पवित्र तीर्थस्थल देवघाट प्रवेश गर्ने मुख्य मार्गमा यो पुल पर्दछ । विकल्पमा दासढुंगा पक्की पुल बनेको छ । ठिमुरामा नयाँ पुल सञ्चालनमा आउने तयारीमा छ । यद्यपी यो पुल नै सबैका लागि पायक पर्दछ । देवघाट धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?