कहिलेकाहीँ हाम्रो गिजाबाट अनायासै रगत बग्ने गर्छ । केही खाँदा होस् या ब्रस गर्ने समयमा यस्तो समस्या देखा पर्छ । आखिर किन हुन्छ त यस्तो समस्या ?आज हामी यसै विषयमा तपाईँहरूलाई जानकारी गराउँछौ ।
गिजाबाट रगत आउने कारणहरू
नियमित दाँत नमाझ्नु
हाम्रो मुखमा धेरै किसिमका जीवाणु हुन्छन्। जसमध्ये प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिजा सम्बन्धी रोगमा धेरै पाइएको छ । दाँत सफा नगर्दा यस्ता जीवाणुहरू सक्रिय हुने गर्छन्। जसले गर्दा गिजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ ।
कडा ब्रसको प्रयोग गर्नु
हामीले ब्रस त गर्छौँ तर कस्तो ब्रस प्रयोग गर्नुपर्छ ख्याल गर्दैनौ । गिजाको छाला पातलो हुने भएकोले कडा ब्रस र धेरै बल प्रयोग गर्दा गिजाको छालामा घाउ हुने र रगत आउने समस्या देखिन सक्छ ।
आहारमा भिटामिनको कमी
हामीले खाने आहारमा सही मात्रामा भिटामिन नपुग्दा यसको कमीले आउने गिजा सम्बन्धी समस्या निम्तिने गर्छ ।
वंशाणुगत रोग
शरीरमा हुने वंशाणुगत रोग जस्तै हेमोफिलिया , वन विलब्रान्ड डिजिजले पनि गिजाबाट रगत आउने समस्या निम्ताउन सक्छ ।
नियमित औषधी सेवन
मुटुका बिरामीलाई रगत पातलो गराउन प्रयोग हुने औषधि सेवनले गर्दा गिजाबाट रगत आउने समस्या देखिन सक्छ ।
यस्तो समस्याबाट बच्न अपनाउनुहोस् यस्तो उपाय
गिजाबाट रगत बग्ने समस्या नहोस् भन्नका लागी खाना खाएपछि नियमित ब्रस गर्ने बानी बसाल्नुपर्छ । दुई दाँतको बीचको फोहोर सफा गर्न डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ । अर्को कुरा भनेको ब्रस गर्दा नरम ब्रस प्रयोग गर्ने गर्नुपर्छ । ब्रसको माथिल्लो भागलाई ब्रसिङ सरफेस भनिन्छ ।
ब्रस गर्दा यो भाग आधि दाँत र आधि गिजामा पर्ने गरेर राख्नु पर्छ । ब्रस गर्ने भन्दैमा धेरै बल प्रयोग गरेर दाँत घोट्नु हुदैँन । यसैगरी धेरैलाई गिजाको मसाज बारे थान नहुन सक्छ । ब्रस गरेपछि सफा औंलाले गिजालाई मसाज गर्न सकिन्छ । यसो गर्दा गिजामा रगत को प्रवाह बढ्छ र रगत आउने समस्या कम हुँदै जान्छ ।
अर्को कुरा भनेको यो समस्या समाधानको लागी भिटामिन सी र के बढी मात्रामा पाइने खाने कुराहरूको सेवन गर्ने गर्नुहोस् । साथै हरेक ६ महिनामा एक पटक दाँत सफा गर्न डेन्टल भिजिट गर्ने गर्नुपर्दछ । यस्ता कुराहरूलाई अपनाउनुभयो भने तपाईँले गिजाबाट रगत बग्ने गने समस्याबाट छुटकारा पाउनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया