काठमाडौँ– नेपालमै केही गरेर आफ्नो पहिचान बनाउने सोच कस्को पो नहोला र ?
सोहीका लागि लामो समयसम्म प्रयास गरे पनि सफलता हासिल हुन सकेन भने अन्तिम विकल्प भनेको विदेश जानु नै हुन्छ । किनकी विदेशमा सामाजिक पहिचान बनाउन नसके पनि आर्थिक स्थिति सुमधुर त पक्कै भइहाल्छ । तर विदेश जान पनि सफल भएन भने त्यसको विकल्प के त ?
यस्तै विकल्पको खोजीमा दौडिएका थिए अभिनेता प्रदीप खड्का । फिल्म ‘प्रेम गीत’ र ‘प्रकाश’बाट चर्चामा चुलिएको अभिनेता प्रदीपको जीवन पनि यस्तै यस्तै नै थियो । सानैदेखि अभिनयमा रुची भएका उनले नेपाल वानमा प्रसारण हुने ‘बुढाबुढीको हल्ला’ कार्यक्रमका लागि छनौट भएका थिए । जसको कारण थियो, उनी सानैदेखि चुलबुले र चकचके ।
अरुलाई झुकाउने कार्यक्रमको लागि विद्यालय उमेरका चकचके र चुलबुले कलाकारको खाँचो रहेछ । सो कुरा विद्यालयका प्रधानाध्यापकलाई थाहा पाएपछि उनलाई छनौट गरिएको थियो । भिडिओमा एक हजार रुपैयाँको नोट साट्ने बहानामा लुटेर भाग्ने अभिनय गर्नुपर्ने थियो ।
केही एपिसोडको भिडियो प्रर्दशनमा आए पनि घरमा केबल नेट नभएकोले उनले हेर्न पाएका थिएनन् । तर एक कार्यक्रममा सहभागी हुँदा आफूसँग फोटो कैद गर्नेको भीड जम्मा भएपछि उनलाई सामाजिक पब्लिसिटी आवश्यक रहेछ भन्ने अनुभूति भयो । सोही अनुरुप उनी टेलिभिजन एंकर हुँदै मोडेलिङ र कलाकार बन्ने सोच बनाए । तर ती सबैका लागि उनी योग्य भएनन् ।
अन्तत: आफैँले ‘प्रदीप मिडिया’ सञ्चालनमा ल्याए र आफैँ मुख्य भूमिकामा बसेर अभिनय गर्ने सोच बनाए । सोही अनुरुप उनले ‘ठूलो मान्छे’ र ‘स्केप’ फिल्म बनाए ।
फिल्म ‘ठूलो मान्छे’ मा मुख्य भूमिकामा बस्ने सोच बनाए पनि उनको शारीरिक बनावट र उमेरले पूरा भएन । अनि मात्रै थाहा पाए अभिनय गर्नको लागि उमेर, ज्यान र शारीरिक बनावट पनि हुनुपर्दो रहेछ ।
सोही अनुरुप उनी आफू अनुकूलको स्क्रिप्ट लेखाउन थाले र आफ्नो भूमिकामा फिल्म ‘स्केप’ बनाए । तर फिल्मले सफलता हासिल गर्न सकेन । जनचेतनामूलक फिल्म निर्माण गर्न सकेकोमा उनले चित्त बुझाए ।
फिल्म नचलेपछि विदेश जाने योजना
पढाइसँगै अभिनयलाई निरन्तरता दिए पनि उनी फिल्म क्षेत्रमा सफल हुन सकेन । अभिनयमा रुची भएकाले सफलता पाउने आशमा सात वर्ष बिताए । तर केही हात पार्न सफल नभएपछि उनलाई विदेश जान परिवारको दबाब आउन थाल्यो ।
जुन बेला उनले विभिन्न फिल्ममा अभिनय गरिसकेका थिए । कामको सिलसिलामा निस्केका उनले होटल हायतमा फिल्मको पोस्टर टाँसेको देखेका थिए । आफ्नो करिअरको अन्तिम फिल्म यही हो भन्ठानेर उनले सो पोस्टरको तस्वीर कैद गरेका थिए ।
उता विदेशको लागि अमेरिका, अष्टे«लिया, डेनमार्कलगायत सबै देशमा अपलाई गरेका थिए । तर सबैबाट रिजेक्ट आएपछि उनी अन्तिममा कामको लागि दुबईमा जानको लागि तयारीमा थिए । तर सोही बेला फिल्मको अफर आयो ।
‘प्रेम गीत’ ले फेरिएको जीवन
अभिनेता प्रदीप खड्काको विदेशिने बाध्यता आएपनि कलाकारिता क्षेत्रमै स्थापित हुने मन थियो । त्यहीबेला फिल्म ‘प्रेम गीत’ का लागि मुख्य अभिनेताको खोजी थियो । अडिसनको लागि विज्ञापन देखेपछि उनले पनि आवेदन दिए र अडिसनबाट उनी छनौट भए । त्यसपछि उनी सुटिङका लागि निस्किए । उनलाई पहिलो दिन खिस्स हाँस्न मात्र लगाइएको थियो । तर पनि उनले २५ देखि ३० टेकसम्म खाए । लगातार सोही अभिनय मात्रै गर्न नसकेर दिक्क मानेका प्रदीप आफूबाट पार नलाग्ने सोचेपछि भोलिपल्ट सुटिङ सेटमै गएनन् ।
सोही बेला सन्तोष सेनले फोन गरेर मन लाग्ने अभिनय गर्नका लागि भए पनि सुटिङ सेटमा आउन अनुुरोध गरे । फिल्म रिलिज गर्ने जिम्मा उनैले लिएपछि उनी फिल्म सेटमा गए । अन्तत फिल्म व्यावसायिक रुपमा सफल मात्रै भएन, प्रदीपको नाम नेपाली सिने क्षेत्रमा स्थापित भयो । उनको अभिनय क्षमतालाई सबैले खुलेर प्रशंसा समेत गरे ।
‘प्रकाश’ ले दिएको पहिचान
मानिसको वास्तविक जीवन र अभिनय जीवन फरक हुने उनी बताउँछन् । सोही अनुरुप कलाकारहरु व्यक्तिगत जीवन र अभिनयमा फरक देखिन्छन् । प्रेम गीतको सिरिज तथा अन्य फिल्ममा प्रदीपले फरक फरक पेशाको कपडामा अभिनय गरेका थिए । कपडा अनुसार आफ्नो भूमिका पनि फरक भएको उनको सोच थियो । जुन गलत हो भन्ने कुरा फिल्म ‘प्रकाश’बाट थाहा पाए ।
फिल्ममा उनको भूमिका अभाव र आत्मनिर्भरबाट गुज्रिएका जुम्लाको प्रकाश पात्रको थियो । स्क्रिप्ट पढेपछि उनलाई सो भूमिका सामान्य लागेको थियो । तर जब सुटिङमा पुगे उनले सोचेभन्दा नितान्त फरक पाए ।
सो भूमिकाका लागि उनले लामो समयदेखि कक्षा पनि लिएका थिए । शुरुवाती दिनमा सामान्य रुपमा लिने, हेलचक्राई गर्ने, होमवर्के नगर्नेलगायतको लापारबाही थियो । तर एक दिन फिल्मका निर्देशकले अगाडि राखेर फिल्ममा फरक अभिनय गर्नका लागि आफ्नो व्यक्तिगत व्यवहार पहिचान गर्नुपर्ने र हरेक दिन साधना गर्नुपर्ने भनेका थिए । त्यसपछि लाजले भुतुक्क भएका उनले सिरियस भएर काम गर्न थाले ।
जब फिल्ममा अभिनय गरे तब आफू र प्रकाशमा धेरै अन्तर उनले पाए । ‘ललितपुरको प्रदीपको तुलनामा निकै फरक हो जुम्लाको प्रकाश,’ उनले भने, ‘स्क्रिप्ट र अभिनय गर्दाको प्रकाश निकै फरक छ । स्क्रिप्टमा प्रकाश दुःखी भएको महसूस गरेको थिए, तर सुखी छ । शारीरिक र मानसिक कष्ट भए पनि त्यहाँको जीवनशैली भएकोले महसूस गरेँ ।’
फिल्ममा खस भाषाको प्रयोग, लोकेसन साउण्डको प्रयोग गरेको छ । फिल्ममा निकै मेहनत गरेर खेतबारीमा काम गरेको, हलो जुुवा बोक्नेलगायतको काम गर्ने पात्रको अभिनय गरेको उनी सुनाउँछन् । फिल्म रिलिजपछि उनले राम्रो प्रतिक्रियासमेत पाए ।
चर्चासँगै बढेको जिम्मेवारी
उनले अभिनय गरेको फिल्म ‘प्रेम गीत ३’ ले स्वदेशमा मात्रै नभई भारत, अमेरिकालगायत विभिन्न देशमा प्रदर्शन गरी राम्रो व्यापारसमेत गर्न सफल भएको थियो । नेपाली र हिन्दी दुबै भाषामा प्रदर्शनमा आएको फिल्मले तहल्का नै मचाएको थियो भन्दा फरक नपर्ला ।
‘प्रेम गीत ३’ र ‘प्रकाश’मा फरक भूमिकामा देखिएका उनी आफूमा जिम्मेवारीसमेत बढेको बताउँछन् । सोही जिम्मेवारी पूरा गर्नको लागि उनी लामो समय अभिनयबाट टाढा नै रहे । उनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ झण्डै डेढ वर्षपछि गत जेठमा प्रदर्शनमा आएको थियो । जसले राम्रो प्रतिक्रियासमेत पाएको थियो । केही फिल्मको चर्चापछि दर्शकलाई झुकाउनु हुन्न भन्ने मनसायले उनी राम्रो फिल्मको छनोट गरी अभिनय गर्दै आएका छन् ।
यसले आफूमा जिम्मेवारी बढेको र दर्शकको रुची अनुरुपको फिल्ममा अभिनय गर्ने सोच उनको छ । कलाकारलाई बैंक मान्ने प्रदीपले दर्शकको पैसा डुब्न नदिने बताउँछन् ।
उनी कलाकारलाई पानीको रुपमा लिन्छन् । भन्छन्, ‘पानीलाई जुन भाडामा राख्यो त्यही आकार लिने गर्छ । तर आफ्नो रुप परिवर्तन गर्न भएन ।’ क्यारेक्टर परिवर्तन गर्नुभन्दा पहिला आफ्नो स्वभाव चिन्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया